लमजुङ्को स्कुल बनाउँन बेलायतबाट १० लाख रुपैयाँ सहयोग


लण्डन / लमजुङको विकट बन्सार गाविस वडा नं. ८ र ९ टापगाउँमा रहेको विद्यालयलाई बेलायतमा रहेको संघसंस्थाले सहयोग गरेको छ । बैशाख १२ र २९ गतेको भूकम्प र पटक–पटकको परकम्पनका कारण क्षतिग्रस्त बीरेन्द्रशिला प्राथामिक विद्यालयको ८ कोठे भवन निर्माणका लागि वोकिङ नेपाली समाज सेवा युकेको अगुवाईमा संकलन गरि विद्यालयलाई सहयोग गरिएको हो ।

समाजका अध्यक्ष धर्मराज गुरुङले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनराज गुरुङ, प्रधानाध्यापक बलराम पाण्डे र विद्यालय पुनःनिर्माण समितिका अध्यक्ष सुकबहादुर गुरुङलाई विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा १० लाख १५ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

उक्त रकम मे ९ र १० तारिखका दिन वोकिङ नेपाली समाज सेवा युकेको संयोजकत्वमा वोकिङ ब्रिटिस गोर्खा भूपू सैनिक संघ, वोकिङ नेपाली युवा संघ, वोकिङ नेपाली सयपत्री कल्चरल गु्रप संघ, वोकिङ तमू धीँ इकाई संघले वोकिङवासी नेपाली तथा स्थानीयवासिन्दाबाट सहयोग जुटाएको वोकिङ नेपाली समाज सेवा युकेका अध्यक्ष धर्मराज गुरुङले बताउनुभयो ।

सहयोग रकम जुटाउन वोकिङ ब्रिटिस गोर्खा भूपू सैनिक संघका अध्यक्ष मेजर चित्रबहादुर राना, वोकिङ नेपाली युवा संघका अध्यक्ष इन्द्रबहादुर गुरुङ, वोकिङ नेपाली सयपत्री कल्चरल गु्रप संघका अध्यक्ष एलबी गुरुङ, वोकिङ तमू धीँ इकाई संघका अध्यक्ष शेरकाजी गुरुङ साथै संस्थापक अध्यक्ष देवीबहादुर लिम्बू, संस्थापक संयोजक भगवान चाम्लिङ राई, सल्लाहकारहरु राजेन्द्र क्षेत्री, कविराम श्रेष्ठ, भीमबहादुर गुरुङ, ले. ईश्वर आङ्बुहाङ, ले. कृष्णकुमार क्षेत्री, आशा राई, उपाध्यक्ष रमेश कुमार, कोषाध्यक्ष सूर्यकुमार राई, सदस्यद्धय दिलकुमारी लिम्बू र जानकी लेप्चा साथै महासचिव पूर्णबहादुर पुनको विशेष पहलमा सहयोग रकम संचालन गरिएको वोकिङ नेपाली समाज सेवा युकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया