अन्तर्राष्ट्रिय शहरको रुपमा पोखरालाई विकास गर्नु पर्छ -पर्यटन सचिव थपलिया


– सन्देश श्रेष्ठ
पोखरा / पर्यटन, नागरिक तथा सँस्कृति मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले राष्ट्र विकासमा पोखरालाई केन्द्रमा राख्नुपर्ने बताएका छन् ।

क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट मन्त्रालय सरुवा भएका उनलाई यशोधरा स्मारकवाटीका निर्माण समितिले शुक्रबार सम्मान तथा विदाइ कार्यक्रम गरेको थियो । सो कार्यक्रममा थपलियाले विकासका लागि सम्पूर्ण पोखरेली एक हुने भएकाले पोखरालाई केन्द्रमा राख्नुपर्ने तर्क गरे ।

पोखरालाई अन्तर्राष्ट्रिय शहरको रुपमा विकास गराउन राज्यको तर्फबाट पहल जरुरी भएको बताउँदै उनले काँहुकोटमा यशोधरा स्मारक बाटिका निर्माणको अभियान पनि पोखरालाई अन्तराष्ट्रिय शहर बनाउनैका लागि भएको बताए । यसमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा उनले जोड दिए ।

यशोधरा स्मारक वाटीका निर्माण आकर्षक योजना भएकाले अहिलेको बजेटमा काम थालनीका लागि एक करोड छुट्याइएको उनले जानकारी दिए । बुद्ध सर्किट अन्तर्गत बौद्ध दर्शनको केन्द्रको रुपमा पर्यटन प्रबर्द्धनसँगै काँहुकोटलाई यशोधरा स्मारक मार्फत जोड्ने र उक्त योजनाले काहुँबासीको विकासप्रतिको अधिकार स्थापित गर्ने थपलियाको दावी थियो ।

पोखरा बसाई अत्यन्तै फलदायी भएको बताउँदै उनले पोखरेलीको विकासप्रेम र विकासका लागि सञ्चारमाध्यमको भूमिका उदाहरणीय भएको बताउँदै उनले आफू मन्त्रालयमा रहँदा पनि पोखरालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा यशोधरा स्मारक वाटीका निर्माण समितिका तर्फबाट सल्लाहकार अशोक पालिखेले बुद्धको प्रतिमा, समितिका संयोजक रुद्रकुमारी (मैना) गुरुङले पुचे, भाङ्ग्रा, माला, खादा र दोसल्ला ओढाउनुका साथै काँहुबासीको तर्फबाट मायाको चिनो पनि थपलियालाई प्रदान गरिएको थियो ।