यो कारणले भएको थियो काँग्रेस नेता रामजी पौडेल, ‘बादलको’ हत्या ( घटना बिबरण )


पोखरा/ पार्टीको नगरस्तरीय चुनावको तयारी भइरहेका बेला कास्कीको लेखनाथमा नेपाली कांग्रेसका नेताको हत्या भएको छ । सामान्य विवाद चर्कदै गएपछि कांग्रेस समर्थकले नै नेविसंघ कास्कीका पूर्व अध्यक्ष एबं केन्द्रिय सदस्य रामजी पौडेल बादलको बिहीबार राति हत्या प्रहरीले जनाएको छ ।

पौडेलको शव लेखनाथ नगरपालिका वडा नं. १२ गगनगौंडामा पृथ्वीराजमार्ग नजिक भिरबाट फालेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । पार्टीको स्थानीय विवादमा लेखनाथ कै काग्रेस नेता लेखनाथ १३ का बुद्धिमान गुरुङ्गको घरमा छलफल पछि घर फर्किदै गरेका पौडेल सहितका २ जनालाई बाटो ढुकेर बसेको समुहले आक्रमण गरेका थिए ।

घटनामा संलग्नमध्ये एक नेपाल तरुण दल लेखनाथ नगर पािलका १६ का संयोजक राजु रानाभाटलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । तीन जना फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले बताए । घटनाको विरोधमा स्थानीयले पृथ्वी राजमार्गको गगनगौंडा खण्डमा बिहान ८ बजेबाट गरेको अवरोध बेलुकी सम्मै थियो । दिनभरी घटनास्थलमा रहेको शव प्रहरीले शुक्रबार साँझ पख उठाएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएको छ । घटनामा नेपाली काँग्रेसका दुई कार्यकर्ता मनोज गुरुङ र नारायणहरि तिवारी घाइते भएका छन् ।

उनीहरु सामान्य उपचारपछि घर फर्केक छन् । आक्रमणमा संलग्न भनिएका नेपाली काग्रेस निकट आदिवासी जनजाति लेखनाथ नगर संयोजक प्रकाश गुरुङ, तरुण दल लेखनाथ १२ का कार्यवाहक संयोजक विश्वास गौतम र रविन केसीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुई दिन अघि लेखनाथको तालचोकमा भएको विवाद मिलाउन काँग्रेस महाधिवेशन प्रतिनिधि बुद्धिमान गुरुङले बिहीबार साँझ भेला बोलाएका थिए । साउन २७ गते तालचोकमा भेला भएर चुनावको बारेमा कुराकानी गरिरहेका बेला विश्वास गौतमले एक्कासी नारायणहरि तिवारीलाई आक्रमण गरेपछि विवाद सुरु भएको थियो ।

त्यतिबेला रामजी पौडेलले दुवैजनालाई छुट्याएको प्रत्यक्षदर्शीले बताएका थिए । त्यही विवाद मिलाउन बुद्धिमानको घरमा बिहीबार साँझ १२ जनाजति भेला भएको र त्यसमा समेत चर्काचर्की र हात हालाहालको अवस्था आएको बुद्धिमानले बताए । विश्वास गौतमले माफी मागेर हात मिलाउनै लाग्दा प्रकाश गुरुङले मिल्नु हुँदैन, सबै कुरा बिगार्ने रामजीले हो, यसलाई कुट्नुपर्छ भन्दै हात हाल्न थालेको घटनाका प्रत्यक्षदर्शी मनोज गुरुङले बताए । बुद्धिमानले भने, मैले मेरै घरमा बोलाएको मिटिङमा चर्काचर्की भयो, प्रकाश बढी नै रिसाएको थियो, सबैजना यहाँबाट निस्केपछि त यस्तो घटनाको भयो ।

प्रकाश र विश्वास बुद्धिमानको घरबाट निस्कँदा रामजी अब बाँच्दैन भन्दै कराएको सुनेको स्थानीयले बताए । बेलुका नौ बजेतिर बुद्धिमानको घरबाट मनोज र रामजी एउटा मोटरसाइकल र नारायणहरी अर्को मोटरसाइकलमा निस्केका थिए । केही पर पुग्दा साढे नौ बजेतिर बाटो कुरी बसेका पाँच÷सात जनाले लाठा र रडले पहिला नारायणहरिलाई हानेर ढलाएको मनोजले बताए ।

त्यसपछि मैले बाइक रोकेर सबैलाई सम्झाउन खोज्दा आफैमाथि आक्रमण भयो, कतिबेला बेहोस भएँ चालै पाइन, मनोजले भने । आफूले चाल पाउँदासम्म रामजीलाई उनीहरुले थिलोथिलो पारी कुटेको देखेको मनोजले बताए । आक्रमण गर्ने प्रकाश र विस्वासलाई चिने पनि अध्याँरोका कारण अरुलाई चिन्न नसकेको उनले बताए ।

झडप भएको केहीबेपछि थाहा पाएका बुद्धिमान आउँदा सडकमा नारायणहरि र मनोज बेहोस देखेपछि तुरुन्त अस्पताल पठाएर रामजीको खोजीमा लागेका थिए । बुद्धिमानले भने, राति धेरैतिर खोजियो, रामजीलाई कतै भेटिएन, प्रहरीलाई खरब गरेर राती ३ बजे सम्म खोज्यो, फोन पनि लागेन, बिहान त लास पो देखियो । कास्कीको लेखनाथ नगरकमिटीको चुनावमा वर्तमान सभापति राजेन्द्रमणि लामिछाने र नारायणहरि तिवारीको नाम चर्चामा थियो ।

राजेन्द्र संस्थापन पक्षका हुन भने नारायणहरि देउवा पक्षका । विद्यार्थी कालदेखि निकै सरल र सहयोगी स्वभावका रामजीको समर्थन नारायणहरिलाई भएकै कारण विश्वास गौतमले पहिलेदेखिनै पटकपटक आक्रमण गर्दै आएको स्थानीय बताउँछन् । रामजीको शव भेटिए नजिकै विश्वासले चलाउँदै आएको कार भेटिएको थियो । उक्त कार स्थानीयले बिहानै जलाइदिएका छन् ।

सडक दिनभर बन्द गाडीमा आग्जनी

पौडेलको हत्यामा संलग्न भएको भन्दै स्थानीय आक्रोशित भिडले लेखनाथ १२ का विश्वास गौतमको गाडीमा आगजनी गरिदिएका छन् । गौतमको बा १३ च ३२८० नम्बरको मारुती सुजुकी कार पौडेलको शव भन्दा केही माथि पृथ्वीराज मार्ग छेउ एक घर अगाडी पार्किङ गरीराखेको अवस्थामा भेटिएको थियो ।

स्थानीय आक्रोशित भिडले हत्यामा गौतम संलग्न भएको आंशकामा गाडीमा तोडफोड पछि आगजनी गरेका हुन् । स्थानीय र मृतक पौडेलका आफन्त तथा नेपाली काग्रेसका कार्यकर्ताले दोषी माथि कारवाही र कडा सजायको माग गर्दै विहानै देखी पृथ्वीराजमार्ग अवरुद्ध गरेका थिए । उनिहरुले गगनगौडा र विजयपुर पुलको सडकमा टायर तथा ढुंगा राखेर सडक अवरुद्ध गरेका थिए ।

सडक बन्दले अनुसन्धामा बाधा

पौडेलको हत्यामा संलग्न भएकाहरुलाई तत्कालै प्रक्राउ गर्न सकिने भए पनि सडक बन्दले अनुसन्धानमा बाधा परेको कास्कीका प्रहरी प्रमुख हरी बहादुर पालले बताए । उनले सडक बन्दका कारण दिन भर लेखनाथमा सडक खुलाउन लाग्नु परेका कारण अनुसन्धानमा बाधा परेको बताए ।

उनले भने हत्यामा संलग्नहरुलाई अनुसन्धान गरि तत्कालै पक्राउ गर्न सकिनेमा प्रहरी टोली दिनभर बाटो खुलान मै लागेको बताए । घटनामा संलग्न भएकाहरु मध्ये एक जनालाई पक्राउ गरि सकेका कारण अन्यलाई पनि छिटै पक्राउ गर्न सकिने बताए । बन्द हड्तालले छिटो हुने कामलाई पनि झन ढिलो बनाउने बताउदै उनले बन्द हड्ताल नगर्न आग्रह गरेको भन्दै स्थानीय गन्थन डटकमले लेखेको छ।

तपाईको प्रतिक्रिया