कास्कीमा कांग्रेस नेता पौडेलको हत्या, अनुसन्धान गर्न कांग्रेसकै नेता पक्राउ


सन्देश श्रेष्ठ
पोखरा । कास्की लेखनाथका नेपाली कांग्रेसका नेता रामजी पौडेल (वादल)को हत्या भएपछि पोखरा अशान्त बनेको छ । हत्यामा संलग्न भएको आशंकामा नेपाली कांग्रेस लेखनाथ वडानम्बर १६ का सभापति राजु रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ ।

लेखनाथ १ वरालथर निवासी ५२ वर्षीय पौडेलको घर भन्दा एक किलोमिटर टाढा पृथ्वी राजमार्गमा पर्ने गगनगौंडा नजिकै शुक्रबार विहान शव भेटिएको थियो । पौडेलको ढाडमा चक्कुले रोपेको देखिएको छ भने शरिरका अन्य ठाउँमा पनि घाउ छ ।

पौडेल देउवा पक्षका कांग्रेस नेता हुन् । कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा कोइराला र देउवा पक्षबीच कास्कीमा सदस्यता विवाद रहेको कांग्रेस निकट नेताहरु बताउँछन् ।
विहीवार बेलुका स्थानिय बुद्धिमान गुरुङको घरमा पार्टीकै विषयमा छलफल भएको र सो छलफलमा सामान्य विवाद भएपछि उनी उठेर हिंडेपनि घर नगएपछि खोजी शुरु गरिएको थियो । उनको शव शुक्रबार विहान गगनगौंडा नजिकै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव नबुझ्ने अडान राख्दै प्रदर्शन

प्रहरीले शवको मुचुल्का तयार गरेर आफन्तलाई बुझाउने प्रयास गरेपनि हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारले अडान लिएका छन् ।

Ramji-Badal-390x351

तस्बिर:- कांग्रेस नेता रामजी पौडेल

स्थानीयले पौडेलको हत्या भएको विरोधमा पृथ्वी राजमार्ग विहानैदेखि अबरुद्ध गर्नुका साथै प्रदर्शन गरेका छन् । टायर बाल्दै गरिएको प्रदर्शनमा देउवा पक्षधर नेता कार्यकर्ता छन् । आक्रोशित उनीहरुले ग १२ च ३२८० नम्बरको कार पनि जलाएका छन् । बाटो अवरुद्ध हुँदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । प्रहरीले भने बाटो खुलाउने प्रयास भइरहेको बताएको छ ।

कास्की प्रहरीले घटनाको अनुसन्धान भैरहेको र केही फरार व्यक्तिहरुको खोजी भैरहेको जानकारी दिएको छ ।