नेपाली बाजा घर सहयोगार्थ, युरोपका कलाकारहरुको जमघट डेनमार्कमा


प्रकाश तिवारी,
डेनमार्कको राजधानी कोपनहेगनमा फेरि एकपटक युरोपमा रहेका कलाकारहरुको जमघट हुने भएको छ। अन्तराष्ट्रिय नेपाली कलाकार समाज डेनमार्कको प्रथम वार्षिकोत्सवको अवसरमा आगामी २३ अगष्ट को दिन युरोपका कलाकारहरुको  जमघट हुन लागेको हो।

कार्यक्रममा जर्मनी, स्पेन, नेदरल्याण्ड, स्विजरल्याण्ड, डेनमार्क लगायतका मुलुकहरुबाट कलाकारहरु डेनमार्क आउने पक्का भएको आयोजक संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज डेनमार्कले जनाएको छ। कार्यक्रमबाट संकलित रकमलाई नेपाली बाजा घर (नेपाली लोक तथा परम्परागत बाजा संग्राहालय) निर्माणमा सहयोग गर्ने उद्देश्य लिएर आयोजकले जनाएको छ।

कार्यक्रममा डेनमार्कस्थित राजदूतावास, गैर-आवासीय नेपाली संघ, विभिन्न सामाजिक संघ संस्थाहरुका पदाधिकारीहरुको समेत उपस्थिति रहने छ। यस्तै इनास ग्लोबल कमिटीका तर्फबाट अध्यक्ष पुष्प बरुवाल, वरिष्ठ सल्लाहाकार पुष्प थापा, सल्लाहाकारहरु शिखर खड्का, फणिन्द्र पन्त लगायतका पदाधिकारीहरु,गैर आवासीय नेपाली संघ युरोप उपसंयोजक सोम सापकोटा लगायतका अतिथीहरुको कार्यक्रममा उपस्थित रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न वर्षहरुमा इनास-युरोप माहादेश स्तरीय डान्सिङ्ग आइडलको उपाधी जितेका कलाकारहरु जर्मनीबाट आश्मा कँडेल, नेदरल्याण्डकी सरिता हुमागाईंको साथमा स्विजर्ल्याण्डका प्रतिभावान गायक सुवास सुन्दास, स्पेनका चर्चित गितारिष्ट तथा कलाकार संजय बिक्रम लगायतका दर्जनौं कलाकारहरुको साथमा स्थानीय कलाकारहरुको समेत जोडदार प्रस्तुति रहने इनास डेनमार्कका अध्यक्ष सन्त कुमार थापा मगर र महासचिव राजमान तामाङ्ले जानकारी दिएँ ।

संसारभरि आफ्नो संजाल विस्तार गरिसकेको यस संस्थाले लगातार हरेक देशहरुमा राष्ट्रिय र महादेशस्तरीय कार्यक्रमहरु आयोजना गर्ने क्रममा यसअघि जर्मनी, पोल्याण्ड, नेदरल्याण्ड, स्पेन लगायतका मुलुकहरुमा समेत यस्तै युरोपभरिका कलाकारहरुको सहभागितामा युरोपस्तरीय बृहत कार्यक्रमहरु आयोजना गरिसकेको छ भने आउदो अक्टोबर १२-१३ तारिकमा काठ्माण्डौमा पहिलो विश्व सम्मेलन र तेश्रो इनास चलचित्र अवार्ड कार्यक्रम आयोजना गर्ने घोषणा गरिसकेको छ।