पोखरामा बहुउद्धेश्यीय ‘नाटक घर’ बन्ने


– सन्देश श्रेष्ठ
पोखरा । पोखरामा बहुउद्धेश्यीय ‘नाटक घर’ बन्ने भएको छ । नाट्य कलाकारहरु जन्माउने पोखरामा नाटक घर नहुँदा नाटक प्रदर्शन गर्न समस्या भइरहेका बेला नाटक घर बनाउन लागिएको हो ।

युथ क्रियशन थिएटरको पहलमा बनाउन लागिएको नाटक घरको वरिष्ठ साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले शिलान्यास गरे । २२ लाखको लागतमा बहुउद्धेश्यीय ‘नाटक घर’ निर्माण गर्न लागिएको थिएटरका अध्यक्ष कपिल शर्मा (सञ्जोग)ले जानकारी दिए ।

उनका अनुसार नेष्ट नेपालले १० वर्षको लागि जग्गा निःशुल्क उपलब्ध गराएको छ । थिएटरको अगुवाइमा अहिले रकम संकलन भइरहेको र हालसम्म ५ लाख रुपैयाँ संकलन भइसकेको उनले बताए ।

बाँकी रकम पनि दाताबाटै संकलन गरेर ‘नाटक घर’ निर्माण गर्ने बस्यालले बताए । उनले ‘नाटक घर’ बनेपछि नाटक मञ्चन गर्न सजिलो हुने र स्तरीयता पनि बृद्धि हुने विश्वास व्यक्त गरे । उनले भने-‘सभा समारोहको हल प्रयोग गर्दा नाटक स्तरीय देखिएन, खर्च र सास्ती पनि बढी हुन्छ ।’

शिलान्यास पछि बोल्दै उनले पोखरामा नाटक घर नहुँदा नाटक मञ्चन गर्न समस्या भएको र त्यसैका कारण नाटक मञ्चनमा पनि कमी आएको बताए । तर अब नाटक घर निर्माण भएपछि नाटक मञ्चनमा बृद्धि हुने विश्वास व्यक्त गरे ।