राजदूतको उपस्थितिमा, संबिधानको मस्यौदा बारे स्पेनमा छलफल


– बसन्त रानाभाट
स्पेन/ संविधानको विधेयकको पहिलो मस्यौदा उपर स्वदेश र बिदेशमा रहेका नेपाली नागरिकबाट व्यक्तिगत,सामूहिक तथा संस्थागत रुपमा राय सुझाव वा प्रतिक्रियाहरु लिने कार्य चलिरहेका बेला स्पेनमा पनि छलफल कार्यक्रम सम्पन्न भएको छ। फ्रान्सका लागि नेपाली महामहिम राजदूत अम्बिका देबी लुईटेलको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै राजदूत लुईटेलले मस्यौदामा, बिदेशमा रहेका सबै नेपाली जनताले आफ्ना राय सुझाब पेश गर्न नेपाल सरकारले अबसर उपलब्ध गराएको हुँदा स्पेनबासी नेपाली समुदायलाई आफ्ना सुझाबहरु दुताबासलाई ईमेल गर्न अनुरोध गरेकी छन्। पेरिसमा संकलन भएका सुझाबहरु पठाईसकेको जानकारी दिदै, स्पेनबाट जति सक्दो छिटो सुझाब पेश गर्न अनुरोध गरिन्। आगामी जुलाई २१ तारिक भित्र राय सुझाबहरु दुताबास वा परराष्ट मन्त्रालयको ईमेलमा पठाउँन सकिने सूचना, यस अघि नै सार्बजनिक गरिएको थियो।

आफ्नो ओहोदाको प्रमाणपत्र प्रतिलिपि बुझाउँन मड्रिड आएकी राजदुत लुईटेलले स्पेन सरकारका उच्च पदस्थ सरकारी अधिकारीहरुसँग भएको भेटबार्ता बारे पनि जानकारी गराईन्। स्पेनका परराष्ट्र मन्त्री सँग उनको ब्यस्थताका कारण भेट हुन नसके पनि अन्य दुई जना डाईरेक्टर जेनेरलहरु सँग छुट्टाछुट्टै भेट भएको जानकारी दिदै, राजदूत लुईटेलले भनिन्,”भूकम्प पछि स्पेन सरकार र यहाँका जनताहरुले गरेको सहयोग प्रशंसनिय रहेकोले धन्यबाद दिए। अब पुनर्निमाणको लागि पनि सहयोग गर्नेमा आशाबादी छौ।”

छलफल कार्यक्रममा  नेपाली अबैतानिक बाणिज्य दूत लुईस बेल्बिस,गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सल्लाहकार पुष्प राज तिमिल्सिना,अन्तराष्ट्रिय समन्वय परिषद सदस्य दीपक खरेल,राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष एक राज गिरी लगायत स्पेन स्थित संघ सस्थाका प्रतिनिधीहरुले आ- आफ्नो बिचार प्रस्तुत गरे। बक्ताहरुले नयाँ बन्ने संबिधानमा एनआरएनहरुको स्थान,समयमा नै संबिधान निर्माण,लगायत पहिलो मस्यौदा उपर टिका टिप्पणी राखेका थिए।

कार्यक्रममा उपस्थित सर्बसाधारणहरुले पेरिस दुताबासमा सम्पर्क गर्दा फोन नउठ्ने,समयमा पासपोर्ट नबन्ने,महिनौ लगाएर बनेका पासपोर्ट पनि दूताबासमा नै रोकिएर बस्ने, लगायतका समस्याहरु राजदूत समक्ष राखेका गरेका थिए। राजदूताबास नहुँदा पेरिस दुताबासले स्पेनलाई पनि हेर्दै आएको छ।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको आयोजनामा शुक्रबार बार्सिलोनामा सम्पन्न कार्यक्रमको संचालन प्रबक्ता सन्तोष श्रेष्ठले गरेका थिए।