पोखरामा चोर्ने र चोरीका सामान किन्ने ८ पक्राऊ


– सन्देश श्रेष्ठ
पोखरा / पोखराका विभिन्न ठाउँमा लाखौंको चोरी गर्ने ३ र चोरीका सामान खरिद गर्ने ५ सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरिबहादुर पालका अनुसार पक्राउ पर्नेमा चोरीमा संलग्न पोखरा ९ प्रगतिटोल बस्ने १८ वर्षीय साजन सुनार, पोखराको कृष्ती नाच्नेचौरका २३ वर्षीय आकाश सुनार र सोही ठाउँका १८ वर्षीय सन्तोष सुनार रहेका छन् ।

चोरीको आरोपमा पक्राउ पर्नु भन्दा अघि साजन सुनार जबरजस्ती करणी मुद्दामा दोषि देखिएपछि बाल सुधार गृहमा १५ महिना बसेका थिए । सुधारगृहबाट छुटेपछि भारत गएका उनी तीन महिना अघि पोखरा फर्केर चोरीमा संलग्न भएको प्रहरीले बताएको छ ।
प्रहरीले साजनलाई पक्राउ गरेपछि उनकै वयानको आधारमा थप दुई जनालाई र चोरीको समान खरिद गर्नेलाई समात्न सफल भएको हो ।

पक्राउ परेकाहरुले पोखराको विरौटाका पदमप्रसाद सुवेदीको घरबाट गत जेठ २ गते सुनका गरगहनाहरु र नगद गरी १२ लाख ८८ हजारको धनमाल चोरेका थिए । यस्तै जेठ २८ गते पोखरा मासवार बस्ने प्रभाकर घिमिरेको घरबाट नगद तथा सुनका गहना गरी ५ लाख ३२ हजार २ सय ५२ रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

त्यसैगरी असार ४ गते छोरेपाटनस्थित कमला विकको घरबाट सुनका गरगहना मंगलसुत्र, जन्तर, नगद ६० हजार गरी १ लाख ६६ हजार बराबरको धनमाल र असार ७ गते विरौटाका कृष्णकुमारी खत्री क्षेत्रीको घरबाट ५ लाख ८ हजार ९ सय धनमाल चोरी गरेको प्रहरीले बताएको छ ।

उनीहरुले चोरेर लुकाएको अवस्थामा प्रहरीले सामान बरामद गर्नुका साथै चोरीको समान खरिद गर्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको पालले जानकारी दिए ।

चोरीका सामान खरिद गरेको आरोपमा पक्राउ पर्नेमा तनहुँ घर भइ पोखराको पृथ्वीचोकमा मोवाइल पसल संचालन गर्ने विद्यासागर पौडेल, पर्वत घर भइ पोखराको रानीपौवामा सुनचाँदी पसल संचालन गर्ने कुमार सुनार, महोत्तरी घर भइ पोखरा ९ बस्ने भीमबहादुर रानामगर, पाल्ला घर भइ पोखरा २ बस्ने सुनचाँदी व्यवसायी अशोक गहतराज र हुम्ला दना गाविस ३ घर भएका गाडी चालक विजय कार्की रहेको एसपी पालले जानकारी दिए ।

चोरले लगेको प्रभाकर घिमिरेका दुई वटा ल्यापटप, नेसी गुरुङ, सन्तोष सुवेदी, आशा रानाभाटको एक-एक वटा ल्यापटप पनि प्रहरीले बरामद गरेको छ ।
बरामद भएको डेल कम्पनीको एउटा ल्यापटप कसको हो भन्ने नखुलेको प्रहरीले बताएको छ । कसैको ल्यापटप हराएको भए प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा सम्पक गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

कास्की प्रहरीले गत चैत १ गतेदेखि असार १० गतेसम्म लागु औषधमा एक महिलासहित ३९ जनालाई पक्राउ गरेको जनाएको छ ।

गुण्डागर्दीमा सम्लग्न ४५ तथा यौन व्यवसायमा संलग्न रहेको आरोपमा ५३ जना, जुवा तासमा एक महिलासहित ३४ जना, हातहतियारमा १ महिला र ७ पुरुषलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।