फिल्मको बारेमा गफ गर्दा आनन्द आउँछ : विष्णु गौतम


राजाराम पौडेल/ पोखरा ।
पारिवारिक हस्तक्षपले मात्र कुनै पनि विषयमा सफलता मिल्दैन । स्वतन्त्र छोडिदियो भने झनै उस्ले राम्रो प्रगति गर्न सक्छ भन्ने कुराको राम्रो उदाहरण बनेका छन् नेपाली फिल्म ‘धौली’ का प्रमुख पात्र समेत रहेका कलाकार विष्णु प्रसाद गौतम ।

पढ्न अल्छि लागेर नाटकतर्फ लागेको बताउने गौतमलाई पढाइ र नाटक दुवैतर्फ सफलता मिलेको छ । उनै गौतमद्धारा अभिनित धौली फिल्मको च्यारिटि सो हालै पोखरामा सम्पन्न भयो । स्पाइनी ब्याब्लर क्रियसनको ब्यानरमा निर्माण गरिएको यस फिल्ममा खान्दानी परिवारको एकलोटे लहडी भाईको भुमिकामा देखिएका उनको अभिनयले च्यारिटि सो हेर्ने दर्शकको ध्यान तान्यो ।

गाउँ र शहर बीचको यर्थाथ कथालाई चित्रण गरेको फिल्मको नियमित प्रर्दशन प्रश्चात आफ्नो चर्चा बढ्नेमा गौतम आशावादी छन् । ‘प्रर्दशन नहुँदा सम्म खासै राम्रो गरिन कि भन्ने लागेपनि च्यारिटि सो पछिका प्रतिक्रियाबाट उत्साहित भएको छुँ’ उनले भने । ‘वास्तविक विषयवस्तुमा डुबेर अभिनय गर्न खोजेकोले दर्शकको ध्यान तानेको हुनुपर्छ’ उनको तर्क छ । धौली दशै अगाडि अल नेपाल रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

कास्की पुरन्चौरमा आजभन्दा ३४ वर्ष अगाडि बुबा रुद्रनाथ र आमा सितादेवी गौतमको पहिलो सन्तान रुपमा उनी जन्मिएका हुन् । बाल्यकालमा ‘विन्दास’ पाराको आफ्नै सुरमा काम गर्ने उनी  फुटवल, भलीवल खेल्न र पौडीन औधी मनपराउथे । स्कुल पढ्दा पढाइमा खासै रुची नदिने उनमा पढ्न अल्छि लागेर नाटक खेल्नुपर्छ भन्ने सोच आयो । अनि आफैले नाटक बनाए ।  गाउँका साथी र आफु लाई भुमिका बाडेर प्रत्यक्ष स्टेज मा नाटक देखाउन गरे । मार्मीक रोलमा खेल्ने उनको अभिनय हेरेर गाउले दर्शक रुन थाले ।

यस्ले उनमा केहि गर्न सक्छु भन्ने आत्मवल बढेर गयो । तात्कालिक गाउँको परिवेश र घटनामा आधारित भएर सन्देशमुलक नाटक उनहिरुले तयार पार्थे । त्यो समयमा गाउँमा मनोरञ्जनका लागि अन्य कार्यक्रम खासै हुदैनथे । आठ कक्षा पढ्दा बल्ल विजुली गाउँमा गएको थियो । शनिबार आउने हिन्दि फिल्म आँगनमा जम्मा भएर हेर्दा आनन्द आउने गरेको उनले विर्सिएका छैनन् ।

हालको भारती भवन उच्च मावि पुरनचौरमा उनले अध्ययन गरेका हुन् । घरबाट कुनै हस्तक्षप नभएकोले जे गर्नुपर्छ आफै बुझेर गर्ने उनको बानी थियो । स्कुल पढ्दा पढ्दा अनेरास्ववियु क्रान्तिकारीमा आवद्ध भएर विद्यार्थी राजनीति समेत गर्न भ्याए । राजनीतिक यात्रा धेरै लामो समय भने गएन । उनको स्वभाव अनौठो थियो । प्रवेशिका परिक्षाको रिजल्ट भएको १५ दिनपछि बल्ल रिजल्ट थाहा पाएको उनले सुनाए ‘रिजल्ट प्रति खासै मतलव थिएन, पास हुन्छु भन्नेमा भने ढुक्क थिए’ ।

प्रवेशिका परिक्षा उत्रीर्ण भएपछि जनप्रिय बहुमुखि क्याम्पसमा व्यवस्थापन संकायमा प्रमाणपत्रतह भर्ना भए । जनप्रिय पढ्ने क्रममानै वि.स.२०५६ मा हालका फिल्म निर्देशक घनश्याम लामिछाने सँग उनको भेट भयो । लामिछानेले नाटकको लागि कलाकार खोजेका थिए भने गौतमलाई  नाटकमा अभिनय गर्न मन  ।

यहि भेटलेनै गौतमको यात्राले नयाँ मोड लिन पुग्यो ।  वि.स. २०५६ मा ‘सच्चा प्रेमको खोजि’ नाटक नकारात्मक भुमिकामा अभिनय गरेका उनको अभिनयको  पोखरा सभागृहमा पुग्ने दर्शकले मुक्तकण्ठले प्रशंसा गरे । पोखराको सुस्ताएको रगंमञ्चलाई त्यो नाटकले केहि भएपनि उठाउने काम  गरेको थियो ।

पोखरेली रंगकर्मी अनुप बराल सँग भेटेर नाटकको बारेमा जान्ने इच्छा राखेका उनले श्याम अर्याल मार्फत बराललाई भेट्न सफल भए । वि.स. २०५७ मा श्याम अर्याल, विष्णु गौतम, युवराज लामिछाने लगायतले सरुभक्तको नाटक ‘गोर्लादको कालो आकाश’ मा अभिनय गरे ।

जालहारीको रोलमा देखिएका गौतमको चर्चा यस्ले झनै बढायो ।  नाटकको क्षेत्रमा केहि गर्न सक्छु भन्ने आत्मविश्वास बढाएका उनले अनुप बरालसँग अनुरोध गरेर प्रतिबिम्ब थिएटरमा एक वर्ष नाटकको बारेमा सिके ।  वि.स. २०६० मा अनुप बरालको थाङला नाटकमा अभिनय गरे ।

वि.स. २०५८ भिडियो फिल्म ‘लव इन पोखरा’मा प्रमुख पात्रको देखिएको भएपनि निर्माताको कारणले फिल्म रिलिज भने भएन । स्नातक पृथ्विनारायण क्याम्पस पढ्ने क्रममा  फिल्म क्षेत्रमा जाने इच्छा उनमा जाग्यो । अनि आफुलाई फिट बनाउन खेलहरु सिक्न थाले । त्यहि समयमा म्युजिक भिडियो खेल्नेक्रम शुरु गरे ।

इलाम बजारमा देशभक्त सिँह कुँवरको गीतको म्युजिक भिडियो अभिनय गरेर म्युजिक भिडियोमा डेब्यु गरेका हुन् । अरविन तुलाचनको एल्बम कक्टेलका ‘ब्रेकिङ्ग माइ हर्ट’ गीतको भिडियोमा गरेको अभिनयले  उनका प्रशंसकको संख्या बढेर गयो ।

वि.स. २०५६ मा भिडियो फिल्म ‘प्रेम मिलन’मा सहनिर्देशन तथा कलाकारको रुपमा अभिनय गरेका उनको चर्चा बढ्यो ।  उक्त समयमा  भिडियो फिल्मको क्रेज पोखरामा राम्रो थियो वि.स. २०५८ मा बनेको अर्को भिडियो फिल्म ‘प्रेम पागल’ पत्रकारको रोल लिडिङ्ग रोलमा उनले अभिनग गरे । विहान कलेज पढेर दिउसो अभिनय उनले गर्दथे ।

विना पारिश्रमीक काम गर्ने चलन थियो । पैसा चाहिन्छ भन्ने लाग्थेन, दिने कल्चर पनि थिएन । पैसा हालेर म्युजिक भिडियो र फिल्म खेल्ने होडबाजी भएको थियो । स्नातक उत्तीर्ण भएपछि पढ्न मन लागेन । तरपनि घरबाट पोखराभन्दा बाहिर गएर पढ भनेकोले काठमाण्डौँ पढ्नका लागि डेढ लाख लिएर उनी गए ।

तर त्यो रकम ठमेलमा बसेर एक महिनामानै उडाइदिए । पैसा सकिएपछि मात्र पढ्न भर्ना हुने कलेज खोज्न थाले । डकुमेन्टि को विषयमा पढ्ने रुची उनमा थियो । कान्तिपुर सिटि कलेजमा आमसञ्चार पत्रकारीता विषयको अध्ययन गर्न थाले ।

काठमाण्डोँ बसाइका क्रममा विष्णु गौतम, घनश्याम लामिछाने र  केश बहादुर गुरुङ्ग मिलेर ‘लब्ली पोखरा’ डकुमेन्ट्रि निर्माण गरे । डकुमेन्ट्रि मिक्सिङ गर्ने प्रयोजनका लागि भन्दै तीन जना मिलेर श्यामशुक्ला फिल्म प्रोडक्शन सञ्चालनमा ल्याए ।

काठमाण्डौमा रहदा बस्दा तत्कालिन कलेज अफ फिल्म इण्डटिज मा अध्ययन गर्ने कलाकारसँग भेट बाक्लीयो । यस्ने फिल्मि क्षेत्रप्रतिको लगाव उनमा झनै बढ्यो ।
काठमाण्डौँमा अनुप बराल सँग पुनः भेट भयो । एक्टर्स स्टुडियो मार्फत काठमाण्डौँ गुरुकुलमा प्रर्दशन गरिएको नाटकमा सानो रोल भएपनि मिडिया कभरेज बढि पाए ।

प्रयोगात्मक अभ्यासका लागि इमेज टेलिभिजनमा पुगेका उनी प्रयोगात्मक अभ्यासपछि सगरमाथा टेलिभिजन, नेपाल वान, एविसि टेलिभिजनमा काम गरे । उनलाई काठमाण्डौँ बसाई ठिक लागेन आफनै जन्म ठाउ पोखरा फर्केर यात्रा अगाडि बढाउने भन्दै उनी पोखरा फर्कीए ।

पोखराको पृथ्विनारायण क्याम्पसमा  वि.स. २०६८ मा आमसञ्चार र पत्रकारीता विषयमा अध्यापन शुरु गरेका उनले केहि समय  पोखराको लेकसिटि कलेज र पश्चिमाञ्चल उच्च माविमा अध्यापन गराए ।

हाल  पृथ्विनारायण क्याम्पसमा अध्यायापन गराउँछन् । नया पत्रिका दैनिक पोखरा टेलिभिजन मा आवद्ध उनी पोखराको  लेकसाइडमा रहेको ग्रीन ग्लोव होटलका सञ्चालक समेत हुन् ।

डकुमेृन्ट्रि बनाउने काम जारी रहेको बताउने उनले  वि.स २०५८ साल पछाडिका गतिविधि समेटेर एक सामान्य नागरिकलाई केन्द्रित गरेर वृत्तचित्र निर्माण गरिरहेका छन् । झण्डै १४ वर्षका गतिविधि समावेश गरिएको वृत्तचित्र संविधान जारी भएपछि प्रर्दशन गर्ने योजना उनको छ । उनले निर्माण गरेको ‘निनि रचनी’ राष्ट्रिय छोटा फिल्म प्रतिष्पर्धामा दोस्रो भएको थियो ।

हरेक दिन १० मिनेट डकुमेन्ट्रि को लागि सोच्ने गरेको बताउने उनी फिल्म क्षेत्र र डकुमेन्ट्रिको यात्रा निरन्तर अगाडि बढाउने बताउँछन् । आफ्नो मनमा फिल्म प्रति अथाह माया भएकोले फिल्मको बारेमा गफ गर्दा आनन्द आउने उनले सुनाए । ‘मनमा फिल्म छ, फिल्मको बारेमा गफ गर्दा आनन्द आउछ’ ।

धर्मात्मा, पाहुना, लव इन नेपाल लगायतका फिल्ममा उनले अभिनय गरेका छन् । राजेश पायल राईको आवाजको  मलाइ मेरै गाउँमा,  रामकृष्ण ढकालको आकाशको सिमा, रविन शर्माका भजन लगायत एक दर्जन म्युजिक भिडियोमा उनलाई देख्न सकिन्छ ।

popdiary@gmail.com