राहत बाँड्न नेपाल आएका जापानी पर्यटक पोखरामा लुटिए


– सन्देश श्रेष्ठ
पोखरा । वैैशाख १२ गते गएको बिनाशकारी भुकम्पमा परेकाहरुलाई राहत लिएर नेपाल आएका जापानी पर्यटक पोखरामा लुटिएका छन् । जापानमा रहेका आफन्त र साथीभाइबाट सहयोग संकलन गरी राहत बाँड्न नेपाल आएका योशीयाकी हारानागा पोखरामा घरबाटै लुटिएका हुन् ।

जेठ २८ गते नेपाल आएका उनी २९ गते राति १० जनाको समूहबाट लुटिएको प्रहरीले जनाएको छ । जापानमा ९ वर्षदेखि सँगै बस्दै आएका पोखरा ६ गाइघाटस्थित दीलिप विकको घरमा सुतिरहेका बेला आफू लुटिएकको योशीयाकीले बताए ।

लुटेराहरुले आफूसँग रहेको १५ सय अमेरिकी डलर अर्थात एक लाख ५५ हजार नौं सय पाँच रुपैयाँ लुटेर लगेको उनले बताए । भुकम्पबाट आहत भएका नेपालीलाई सहयोग गर्न आउँदा आफै लुटिनु परेकामा उनले दुःख व्यक्त गरे ।

योशीयाकीले आफू लुटिएको प्रहरीलाई तत्कालै खबर गरेपनि खोजि कार्यमा तदारुकता नदेखाएको आरोप लगाए । उनले भने, ‘मलाई लुटपाट गरेलगत्तै प्रहरीलाई खबर गरेको हुँ, तर लुटेरा खोज्न प्रहरीले ढिलासुस्ती गर्‍यो ।’

तर प्रहरीले भने घट्नाको अनुसन्धान भइरहेको बताएको छ । लुटेराहरुको खोजि तिव्र रुपमा भइरहेको छ । एक बरिष्ठ प्रहरी अधिकृतले नाम नबताउने शर्तमा भने, ‘घट्ना नै हो कि हैन भन्नेमा पनि हामीलाई शंका छ, त्यसैले हामीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं ।’

ती प्रहरी अधिकृतका अनुसार पर्यटन प्रहरी र वडा प्रहरी कार्यालय बैदामले फरक/फरक किसिमले अनुसन्धान गरिरहेको छ ।

लुटिएपछि मानशिक रुपमा त्रसित भएका जापानी नागरिक योशियाकीले आफू चाँडो जापान र्फकन चाहेको बताएका छन्