दोहोरी प्रतियोगीताबाटै स्थापित बनेकी निसा,


– राजाराम पौडेल/ पोखरा ।

आफ्नो प्रस्तुती मार्फत छोटो समयमानै नेपाली लोकदोहोरीको क्षेत्रमा चिरपरिचीत बनेकी लोकदोहोरी गायीका निसा पोखरेलको चर्चा दिनप्रतिदिन बढ्दै छ । विगत नौ वर्षदेखि साँगीतिक क्षेत्रमा क्रियाशिल उनको आवाजमा दर्शक श्रोतालाई लठ्याउने क्षमता छ ।

त्यहि भएर पनि उनको प्रस्तुतीमा रम्न दर्शक श्रोता लालाहित हुने गर्दछन् । यतिबेला उनै गायीका निसाको आवाजमा ‘केटि तिरै ध्यान’ बोलको लोकदोहोरी गित बजारमा आएको छ ।

जुन गीतमा आवाजमा राजन कार्कीले उनलाइ साथ दिएका छन् । किसन बस्यालको शब्द, राजन कार्कीको लय संकलन रहेको गीत प्राप्ति म्युजिकले बजारमा ल्याएको हो । यो गीतको म्युजिक भिडियोमा रश्मि तामाङ, किसन बस्याल, मेरी बास्सै र रेशम फिलिलिका हास्यकलाकारको साथमा निसा पोखरेलले समेत अभिनय गरेकी छन् ।  टिनएजलाई टार्गेट गरेर तयार पारिएको यो ठट्यौली पाराको सन्देशमुलक गीतको चर्चा बढेकोमा उनी मख्ख छन् ।

मेला महोत्सवलाई लक्षित गरेर यो औपचारिक रुपमा वि.स.२०६४ मा ‘ढुङ्गालाई देउता मानेर’ बोलको गीतमा आवाज भरेर नेपाली साँगीतिक फाँटमा निसाको आगमन भएको थियो ।  नमस्ते रेकडिङ स्टुडियो प्रस्तुतीमा आएको यो गीतमा आवाजमा कृष्ण सुवेदीले उनलाई साथ दिएका थिए ।

वि.स.२०६९ मा ‘व्यथा चर्कै छ लुकिछिपी भेट हुन आउनुको मजा अर्कै छ’ बोलको गीत समावेश गरिएको उनको पहिलो एल्बमले चर्चा ह्वात्तै बढायो ।  यस गीतमा आवाजमा राम्जी खाँडको साथ निसालाई मिलेको थियो । शब्द सिर्जना मा उनलाई नारायण सुनारले साथ दिएका थिए भने लय संकलन रमेश सुनारले गरे ।  निसा पोखरेल भनेर चिनाउन यो गीत सफल भएको थियो ।

लोकदोहोरी गीतबाट मात्र नभएर तीज गीतबाट पनि उनी दर्शक श्रोतामाझ चिनिसकेकी छन् । वि.स.२०६९ ‘कम्मर मर्काइ मर्काइ’ तीज गीतबाट उनको चर्चा बढेका थियो । यो गीतमा निसालाई आवाजमा श्याम रानाले साथ दिएका थिए । गीतकोे शब्द भने कृष्ण सुवेदीको हो ।

वेदनाको पोको भाग–९ मा समावेश गरिएको ‘दिदि अमेरिकन भइछे‘ गीतले पनि उनलाई परिचित हुन सहयोग ग¥यो । लय शब्द प्रजापती पराजुलीको रहेको यो गीतमा आवाज निसा र सरला पाण्डेले भरेका थिए ।

धुव्र ढकाल र उनको आवाज आएको ‘सारी चोलीमा’ वोलको तीज गीतपनि दर्शक श्रोताको रोजाइमा प¥यो । यसपालीको तीजको लागि नयाँ गीत निकाल्ने तयारीमा आफु जुटेको उनले जनाइन् । हुनत ‘दशै आयो तीहारै आयो’ बोलको गीत बाट पनि उनले आफ्नो लोकप्रियता बढाएकी थिइन् ।

वि.स.२०६३ सालबाट साँगीतिक क्षेत्रको यात्रालाई अगाडि बढाउन पोखरा झरेकी उनलाई पोखराको साँगीतिक माहोलले आर्कषित गरायो । पोखरा आएसँगै प्रतियोगीतामा सिमित बनेको उनको प्रतिभा दोहोरी साँझमा घन्कन थाल्यो ।
उनले वि.स. २०६५ बाट दोहोरी साँझमा गाउन थालेकी थिइन् ।

माछापुच्छ्रे दोहोरी साँझ,  दिपशिखा दोहोरी साँझ हुदै विगत दुई वर्षदेखि दौतरी दोहोरी साँझमा हरेक साँझ आफ्नो प्रस्तुती राख्दै आएकी छन् ।  कलाकार जन्माउने ठाउँ दोहोरी साँझ भएको उनको बुझाइ छ । ‘दोहोरी साँझले कलाकारमा निखारता प्रदान गर्दछ’ उनले थपीन् ‘अधिकांश गायक गायीकाको लागि दोहोरी साँझ पाठशाला हो ।’
नयाँ–नयाँ हुदाँ दोहोरी साँझमा गाह्रो भएपनि अहिले स्थापीत भएपछि  सजिलो भएको उनले बताइन्  ।

दोहोरी साँझमा गाउने कलाकारलाई आजकाल सकारात्मक दृष्टिकोणमा हेर्ने गरेकोमा उनी खुशी छन् । ‘दोहोरी साँझमा आएर अनुभव बटुल्नेले सकारात्मक रुपमा लिनुहुन्छ, आउदै नआउदै टिकाटिप्पणी गर्नेलाई त केहि भन्नु छैन’ उनले भनीन् ।

देशको स्थितीले गर्दा दोहोरी साँझमा असर गरेको भने उनले स्विकार गरिन् । ‘विगत केहि समयदेखि दोहोरी साँझमा आउने ग्राहकको संख्या केहि घटेको छ आशा छ यो अब छिट्टै  बढ्छ’ ।

मेला महोत्सव र विभिन्न दोहोरी गीत प्रतियोगीतामा भाग लिने क्रममा दोहोरी कलाकारसँग चिनजानले यो क्षेत्रमा स्थापीत हुन उनलाई सहज बनेको हो ।
लेखनाथ महोत्सव, सुर्खेत महोत्सव, बुटवल महोत्सव, पर्वत महोत्सव, दमौली महोत्सव, वालिङ महोत्सव, खैरनी महोत्सव, बागलुङ महोत्सव, बन्दिपुर महोत्सव ५० भन्दा बढि मेला महोत्सवमा पुरस्कार जितीसकेकी छन् ।

उनले काठमाण्डौँमा भएको दोस्रो ढोरपाटन सनी हाउजिङ्ग खुल्ला दोहोरीगीत प्रतियोगीताका प्रथम पुरस्कार प्राप्त गरेपछि प्रतियोगीतामा भाग लिन छोडिन् । हुनत उनले राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान कास्कीको नेतृत्व गर्दै देशका विभिन्न ठाउँमा पुगेर महत्वपुर्ण पुरस्कार जितेकी छन् ।  हाल मेला र महोत्सवमा हुने कार्यक्रममा प्रस्तुती राख्न उनी व्यस्त छन् ।

एल्बम विक्रि ठप्प भएको बेला मेला महोत्सवलेनै यात्रा अगाडि बढाउन सम्भव भएको उनको भनाइ छ । उनलाई मेला र महोत्सवबाट आम्दानी पनि हुने र आत्मसन्तुष्टि पनि हुने भएकोले मेला र महोत्सवमा आफ्नो प्रस्तुती राख्दा आनन्द आउँछ । त्यसो त मेला महोत्सवमा अवसर पाउने कुरा आफुमानै भर पर्ने उनी सुनाउँछिन् ।

कार्यक्रममको शिलशिलामा नेपालका अधिकांश ठाउ पुगेकी उनी दुइपटक छिमेकि मुलुक भारत पुगेकी थिइन्  । पोखरामा नै बसेर निरन्तर सर्घर्ष गर्ने बताउने उनी यस क्षेत्रमा लागेर जीवन धान्न सकेकोमा खुशी भने छन् ।

कास्कीको धम्पुसमा पिता रामबहादुर र खिमकुमारी पोखरेलको चौथो सन्तानको रुपमा जन्मिएकी निसा बाल्यकालमा चञ्चले स्वभावकी थिइन् रे, स्कुल पढ्दा स्कुलमा हुने साँगीतिक कार्यक्रममा गीत गाउने गरेकी उनको गीत संगीतप्रति सानैदेखि रुची थियो । गाउँमा हुने र स्कुलमा हुने कार्यक्रममा भाग दिने गरेकी उनले थुप्रै पुरस्कार जितेकी छन् ।पारिवारिक माहोल संगीतमय नभएपनि पारिवारिक सर्पोटले उनी साँगीतिक क्षेत्रमा अगाडि बढ्न सफल भएकी हुन्् ।

लजालु स्वभावकी उनी साँगीतिक क्षेत्रमा आउनुभन्दा पहिला भलिवल खेलाडि थिइन् । भलिवल प्रतियोग्ीतामा भाग लिएर धेरै नै मेडल प्राप्त गरेको उनले बताइन् । तर साँगीतिक क्षेत्रको आकर्षणले उनलाई खेल क्षेत्रबाट भने विस्थापीत गरायो ।

पछिल्ला दिनमा स्टेज कार्यक्रममा बढी व्यस्त देखिने उनी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान अञ्चल कार्य समिति गण्डकीको कार्यसमिति सदस्य हुन् । यसअघि प्रतिष्ठान जिल्ला कार्य समिति कास्कीमा कोषाध्यक्ष भएर उनले काम गरिसकेकी थिइन्   ।
राज्यको सर्पोट हुने हो भने साँगीतिक क्षेत्रको भविष्य सुमधुर बन्ने उनको विश्वास छ् ।  नवोदीत कलाकारलाई यो क्षेत्रमा बुझेर मात्र आउन उनको सल्लाह छ ।

त्रीवेणी संगीतालयमा केही समय संगीत सिकेकी उनी पोखरामानै बसेर सर्घष गर्ने बताउँछिन् । ‘आफु क्रियाशिल हुनुपर्छ ठाउले खासै असर गर्दैन’ उनले भनीन् ।  नयाँ–नयाँ साँगीतिक कोसेली दर्शक श्रोतामाझ पस्कने योजना बनाएकी उनी अहिले बजारमा आएका गीत प्रति खासै सन्तुष्ट छैनन् ।  ‘जस्तो पनि गीत लोकदोहोरी गीतको रुपमा आउन थाले’ उनको गुनासो छ ।

गीत छानबीन गरेर मात्र बजारमा पठाउने हो भने यो क्षेत्र माथी जाने मात्र नभएर लोक दोहोरी गीतको महत्व बढ्ने उनको तर्क छ । झण्डै एक दर्जनन गीतमा आवाज भरेकी उनले अब आउने गीतमा शब्द आफ्नै रहने खुलाइन् । साँगीतिक यात्रा अगाडि बढाउन लोक दोहोरी गायक  जीवन दाहालको सर्पोट कहिल्यै नभुल्ने उनले सुनाइन् ।

popdiary@gmail.com