सरकारले वेपत्ता व्यक्ति खोज्न सकेन : शान्तिमन्त्री आचार्य


– सन्देश श्रेष्ठ
पोखरा / वेपत्ता परिवारका आफन्तले लास वा सास दिन सरकारसँग माग गरेका छन् । राज्य र विद्रोही पक्षले नियन्त्रणमा लिएर लगेका आफ्ना मान्छे मरेको भए लास दिन र बाँचेको भए सास दिन वेपत्ता परिवारले शान्तिमन्त्री नरहरी आचार्यसँग माग गरेका हुन् ।
शान्ति समिति कास्कीले आइतबार पोखरामा आयोजना गरेको अन्तर्क्रिया तथा भेटघाट कार्यक्रममा बेपत्ता परिवारका अणनाथ बरालले भने, ‘पक्रेर लगेका हाम्रा आफन्त कहाँ पुर्‍याइएको हो ? हामीलाई जवाफ चाहियो ।’

वेपत्ता परिवारका प्रश्नको जवाफ शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरी आचार्यसँग थिएन । उनले शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेपनि बेपत्ताहरुको स्थिति सार्वजनिक गर्न सरकार असफल भएको स्वीकार गरे ।

कानुन मन्त्रीसमेत रहेका आचार्यले बेपत्ता पारिएका व्यक्तिहरु खोज्न सरकारले आयोग गठन गरेको बताए । उनले भने, ‘बेपत्ताहरुको स्थिति सार्वजनिक गर्न सरकारले त सकेन अब आयोगले बेपत्ताहरुको सत्यतथ्य पत्ता लगाएर सार्वजनिक गर्ने विश्वास छ ।’

कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरुले सरकारले दिएको राहत पर्याप्त नभएको र भेदभाव भएको गुनासो गरेका थिए । ‘जाती र पार्टी हेरेर राहत वितरण भइरहेको छ,’ स्थानीय शान्ति समिति कास्कीकी सदस्य चमेली परियारले चेतावनी दिँदै भनिन्, ‘यसो गरिए पुनः अर्को द्वन्द्व निम्तिन सक्छ ।’

कार्यक्रममा मन्त्री आचार्यले बेपत्तालाई पनि मृतक सरह नै मान्यता दिएर राज्यले सुविधा दिने उल्लेख गरे । एकाध बेपत्ता फर्कने गरेपनि त्यसबाट मृतक सरह दिइने निर्णयमा कुनै फरक नपार्ने उनले बताए ।

मन्त्री आचार्यलेे छुटेका घाइते तथा बेपत्ताहरुलाई पहिले घोषणा गरेको र अहिले दिइन लागेको दुबै राहत प्रदान गरिने बताए । उनले पहिले ३ लाख पाइसकेकाहरुलाई पुनः थप २ लाख दिइने प्रतिबद्धता जनाए ।