सोसल डेमोक्र्याटका उम्मेदवारलाई सघाउँदै केहि नेपाली


– प्रकाश ढकाल

कोपनहेगन । डेनमार्कका राष्ट्रिय निर्वाचनको घोषणा भैसकेको छ । केवल तीन हप्ताको समय बाँकी राखेर प्रधानमन्त्री हेले थोर्निङ् ले निर्धारीत र अनुमानीत समय भन्दा अगाडी नै निर्वाचनको घोषणा गरे लगत्तै डेनमार्कमा निर्वाचनको सरगर्मी शुरु भएको हो ।

हरेक चार वर्षमा हुने राष्ट्रिय निर्वाचन सामान्यतया सेप्टेम्बर महिनामा हुने भए पनि सरकार प्रमुखले तीन महिना अगाडी पनि निर्वाचन गराउन पाउने प्रावधान रहेको छ । विशलेषकहरुले जनाए अनुसार यो समयमा अर्थात गर्मी महिना शुरुको लगत्तै सोसल डेमोक्र्याटको पक्षमा राष्ट्रिय माहौल बनेकोले त्यसको फाइदा हुने देखेर प्रधानमन्त्री हेलेले निर्वाचन घोषणा गरेकी हुन् ।

प्रधानमन्त्री हेले सोसल डेमोक्र्याट पार्टीकि हुन् र साथै उनी डेनमार्कको पहिलो महिला प्रधानमन्त्री पनि हुन् । चार वर्ष अगाडीको निर्वाचनमा सोसल डेमोक्र्याट दोश्रो ठुलो पार्टी भए पनि गठबन्धन सरकार बनाउँदा अन्य पार्टीहरुले सोसल डेमोक्र्याटलाई सघाएकोले उसको नेतृत्वमा सरकार बनेको थियो ।

हालको यो सोसल डेमोक्र्याट सरकारलाई आर्थिक मन्दीमा रहेको बखत सन् २०११ पछि देशको आर्थतन्त्रमा सुधार गरेको जस जाने गरेको छ साथै धेरै रोजगार सृजना गर्न सकेको पनि बताइन्छ ।

डेनमार्कको निर्वाचनको रोचक इतिहाँस के छ भने यहाँको संसदको लागि राष्ट्रिय निर्वाचनमा विगत ११० वर्षदेखि कुनै पार्टीले पनि बहुमत ल्याएको छैन ।

piter1
(नेपालीहरुको जिज्ञासाको जवाफ दिंदै मंचमा पिटर हुम्मेलगार्ड )

यसै गरी नेपाली समुदायहरुको बढी बसोबास रहेको क्षेत्र नअबो, बिस्पेबेया, हुसुम लगायतका स्थानमा सोसल डेमोक्र्याटका उम्मेदवार पिटर हुम्मेलगार्ड थोम्सन रहेकोले उनले नेपाली समुदायबाट धेरै सहयोगको अपेक्षा गरेको बताएका छन् ।

डेनमार्कमा राष्ट्रिय निर्वाचनमा मतदान गर्न यहाँको राहदानी लिने पर्ने भएकोले राहदानी वाहक नेपाली धेरै नभए पनि समुदायले गर्न सक्ने योगदान मतदान भन्दा पनि उच्च हुने उनले बताएका थिए ।

केहि दिन अगाडी नेपालीहरु संगको अन्तरक्रियामा उनले सो कुरा बताउंदै नेपालीहरुले ‘मोरल सपोर्ट’ गर्न सक्ने बताएका थिए । डेनमार्कमा संसदको राष्ट्रिय निर्वाचनमा मतदान गर्न यहाँको राहदानी लिएको हुनु पर्छ भने स्थानीय निर्वाचनमा मतदान गर्न पांच वर्ष बसेको भए राहदानी नलिएको भए पनि मत हाल्न पाइन्छ ।pitar
(नेपालीहरुसंगको अन्तरक्रियामा पिटर हुम्मेलगार्ड)

उनको क्षेत्रमा केहि नेपालीहरु स्वयंसेवक बनेर चुनाव प्रचारमा लागि सकेका छन । नेपालीहरुको उत्साह देखेर उक्त पार्टीका स्थानीय नेताहरु खुशी रहेको सोसल डेमोक्र्याटका सदस्य रहेका हरि प्रसाद न्यौपानेले बताए ।

यो कार्य देखेर उम्मेदवार पिटर प्रभावित बनेको पनि उनले बताए । पोष्टर टाँस्न, ब्रोचार बाँड्न अनि चौकमा उभिएर पार्टीको प्रचार गर्नमा धेरै नेपालीहरुले सघाएको देखिएको छ । सोसल डेमोक्र्याट पार्टी आप्रवासीहरु प्रती नरम नीति लिने पार्टीमा पर्दछ ।

तपाईको प्रतिक्रिया