पोखरामा पर्यटकका लागि होटल, बन्जीजम्प र जीप फ्लायरमा ५० प्रतिशत छुट


काठमाडौं/ भूकम्पपछि ओरालो लागेको पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन पोखराका व्यवसायीहरुले बिभिन्न सेवामा छुट योजना सार्बजनिक गरेका छन् ।

पोखरा पर्यटन पुनर्जागरण समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पर्यटन प्रवर्द्धनका लागि प्याकेज घोषणा गरेको हो । समितिका अनुसारमा पोखराका होटल, बन्जीजम्प र जीप फ्लायरमा ५० प्रतिशत छुट दिइने छ ।

ट्रेकिङमा ३० र ट्राभल बस तथा रेष्टुरेन्टहरुमा २०-२० प्रतिशत छुट दिइएको छ । यसैगरी प्याराग्लाइडिङ र अल्ट्रालाइटमा १५ प्रतिशत छुट पाइने छ ।

पत्रकार सम्मेलनमा समिति संयोजक गणेशबहादुर भट्टराईले छुट योजना आगामी सेप्टेम्बर महिनासम्म लागु हुने जानकारी दिए । पोखराको पर्यटन प्रवर्द्धन गर्न आन्तरिक बजार र बोर्डर सीटीहरुमा प्रचार प्रसार गर्ने उनले जानकारी पनि दिए ।

भूकम्पले पर्यटकीय नगरी पोखरामा खासै क्षति नभए पनि त्रासका कारण पर्यटकहरुको संख्या घटेको छ ।