पर्यटन क्षेत्र उकास्नका लागि सरकार तयार ः प्रधानमन्त्री कोइराला


– राजाराम पौडेल

पोखरा / पोखराका पर्यटन व्यवसायी सहभागि पोखरा पर्यटन पूनरुत्थान समिति (पिटिआरसी) का पदाधिकारीसँग भेट्दै प्रधानमन्त्री सुशील कोइरालाले पर्यटन क्षेत्र उकास्नका लागि जस्तोसुकै कार्यक्रम ल्याउन सरकार तयार रहेको बताएका छन् ।

उनले पर्यटन क्षेत्रले आर्थिक मात्र नभई ठुलो रोजगारी पनि सिर्जना गरेकोले त्यसलाई उकास्न सरकार हरदम तयार रहेको बताए ।

प्रधानमन्त्री कोइरालाले भूकम्पले असर पारेको नेपालको पर्यटन क्षेत्र उकास्न सरकारले सक्दो पहल गर्ने आश्वासन दिएका छन् । भूकम्पले अर्थतन्त्र नै हल्लिने गरि असर पारेकोले पर्यटन प्रवद्र्धन मार्फत अबको अर्थतन्त्र उकास्नुपर्ने कोइरालाले बताए ।

प्रधानमन्त्रीसँगको भेट अवसरमा पिटिआरसीले प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा ५ लाख रुपैयाँ आथिक सहयोग समेत गरेको छ । समिति संयोजक गणेशबहादुर भट्टराई नेतृत्वको टिमले सोमबार कोषमा रकम जम्मा गरेको हो ।

राहत रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाइ हस्तान्तरण गरिएको थियो । भूकम्पले पर्यटन क्षेत्रमा असर पारेकोले त्यसको पुर्नजागरणको लागि पहल गरिदिन व्यवसायीले प्रधानमन्त्री कोइरालासमक्ष आग्रह गरेका थिए ।

‘पर्यटन क्षेत्र उकास्न र सुरक्षित राख्न सरकारले हरदम प्रयास गर्नेछ’ प्रधानमन्त्री कोइरालाको भनाई उद्घृत गर्दै पिटिआरसी संचार संयोजक टिकाराम सापकोटाले भने, ‘प्रधानमन्त्रीले पर्यटन क्षेत्र उकास्न हरदम तयार रहेको बताउनुभएको छ ।’ व्यवसायीले भूकम्पका कारण पोखरा क्षेत्रको पर्यटन व्यवसाय आर्थिक संकटमा परेकोले त्यसलाई उकास्न सरकारले विशेष योजना ल्याउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री कोइरालासँगको भेटमा पिटिआरसी संयोजक गणेशबहादुर भट्टराइले भूकम्पका कारण विभिन्न मूलूकले पर्यटकलाइ नेपाल नघुम्न एडभाइजरी जारी गर्दा आउने तयारीमा रहेका पर्यटक रोकिएकोले त्यो प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरेका थिए । नेपाल आउने तयारीमा रहेका पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाहमा सघाउन भट्टराइले अनुरोध गरेका थिए ।

यसैबिच चिनियाँ पर्यटकलाई नेपान घुम्न लगाएको रोकावट फुकुवा गरिदिन यहाँका पर्यटन व्यवसायीले आग्रह गरेका छन् । पर्यटकलाई प्रतिबन्ध लगाउँदा धेरै चिनियाँ पर्यटक नेपाल आउनबाट रोकिएकोले त्यो रोकावट फिर्ता गर्न व्यवसायीले आग्रह गरेका हुन् ।

चिनियाँ पर्यटकलाई ‘नेपाल घुम्नु खतरा’ भन्दै चिनियाँ ट्राभल एडभाइजरीमा उल्लेख गरेर रोक लगाएको व्यवसायीको गुनासो छ । चीनले आफ्ना मूलूकका पर्यटकलाई नेपाल घुम्न रोक लगाउँदा यो सिजनमा आउने तयारीमा रहेका हजारौ पर्यटक रोकिएको गुनासो गरे । भूकम्प आएपनि नेपालको सबै क्षेत्रमा असर परेको नभई सिमित क्षेत्रलाई देखाएर रोक लगाउन नहुने व्यवसायीको भनाई छ ।

नेपाल आउने मध्ये पछिल्लो समय चिनियाँ पर्यटकको संख्या अधिक हुने गरेकोले एडभाइजरीकै कारण पर्यटक हच्चेको व्यवसायीले बताए । पोखराका पर्यटन व्यवसायीले सोमबार नेपालस्थित चिनियाँ दुतावासका पदाधिकारीलाइ भेटेर रोकावट खुलाइदिन आग्रह गरेका थिए ।

भेटघाटमा रहेका पोखरा पर्यटन पुर्नजागरण समिति (पिटिआरसी)का संचार संयोजक टिकाराम सापकोटाले पर्यटकलाई नेपाल घुम्न कुनै खतरा नरहेकोले लगाएको रोकवाट हटाउन आग्रह गरेको बताए ।

‘नेपाल घुम्न नजाउ’ भन्ने शब्द चीनको ट्राभल एडभाइजरीमा उल्लेख रहेकोले त्यसका कारण पर्यटक रोकिएको उनले बताए । नेपालको केहि क्षेत्रमा मात्र असर परेकोले चीनले त्यो प्रतिबन्ध फुकुवा गरिदिनुपर्ने आफुहरुले माग गरेको उनले बताए ।

‘पोखरा, चितवन, लुम्बिनी सुरक्षित क्षेत्र हुन्’ उनले भने, ‘दुतावासले यो रोकावट फिर्ता गरेको खण्डमा सहज हुन्छ । आउने तयारीमा रहेका पर्यटक अहिले चीनमै रोकिएकोले त्यसमा पुर्नबिचार गर्न आग्रह गरेका छौ ।’

व्यवसायीले नेपालस्थित चिनियाँ दुतावासका राजनीतिक विभाग प्रमुख जियाङ वुइ लाइ भेटेका थिए । भेटपछि जियाङले एडभाइजरीमा उल्लेख भएको नेपाल घुम्न नआउ’ भन्ने सन्देशलाई हटाउने आश्वासन दिएका थिए ।

पिटिआरसी संयोजक गणेशबहादुर भट्टराइले चिनियाँ पर्यटक नेपालको पर्यटन क्षेत्रमा अपरिहार्य भएकोले उनीहरुलाई सुरक्षित तरिकारले घुम्ने व्यवस्था मिलाउन व्यवसायी तयार रहेको बताएका थिए । नेपालको पश्चिम क्षेत्र सबैभन्दा बढि सुरक्षित रहेकोले पर्यटक सुरक्षित हुने उनले बताए ।

व्यवसायीले चिनियाँ पर्यटक नहुँदा अहिले शुन्य भएकोले केहिदिनपछि चीन सहित भारतमा समेत प्रवद्र्धनात्मक कार्यक्रम चलाउने जानकारी दिएका थिए । चीनमा हुने ट्राभल मार्टमा सहभागिता जनाएर नेपाल र पोखराबारे प्रवद्र्धनात्मक कार्यक्रम गर्ने तयारीमा रहेको व्यवसायीले जानकारी दिएका थिए । व्यवसायीले चिनियाँ पर्यटकका कारण सिंगो  नेपालको पर्यटन क्षेत्र उकालो लागेकोले अहिलेको रोकावटले ब्यवसायमै असर परेको व्यवसायीले बताएका थिए ।

त्यस्तै व्यवसायीले सोमबार पर्यटन बोर्डका पदाधिकारी र पर्यटन पूनरुत्थान समिति (टिआरसी) पदाधिकारीसँग पनि भेट गरेका थिए । बोर्ड र टिआरसी पदाधिकारीसँग अहिलेको अप्ठेरोलाई पार लगाउन सँगसँगै प्रवद्र्धनात्मक कार्यक्रम गर्नुपर्ने व्यवसायीले जोड दिएका थिए । पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमक सहित बोर्ड पदाधिकारीसँगको भेटमा पोखराका व्यवसायीले सक्रियताका साथ पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा सघाउन आग्रह गरेका थिए ।

पाहुना अभाव भएकोले स्वदेशी र विदेशी पर्यटक तान्ने गरि प्रवद्र्धनात्मक कार्यक्रम गर्नुपर्नेमा व्यवसायीले जोड दिएका थिए । व्यवसायीको माग सुनेका गौतमले पोखरालाई पनि प्रवद्धनात्मक गतिविधिमा संलग्न गराएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै पोखरेली व्यवसायीले पर्यटन बोर्डका पदाधिकारीलाइ भेटेर विभिन्न मूलुकमा गर्न थालेको प्रवद्र्धनात्मक गतिविधिका लागि आर्थिक सहयोग चाहिएको बताएका थिए ।

‘टिआरसी र बोर्डका सबै पदाधिकारीहरु पोखरेली व्यवसायीको माग प्रति सकारात्मक रहे्का छन्’ टिममा रहेका पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले भने,‘यतिबेलाको सबैभन्दा ठुलो महत्व प्रर्वद्धनको हुन्छ । त्यसका लागि सहयोग माग गरेका हौ ।’

व्यवसायीले सोमबारै राष्ट्रबैंकका गर्भनर चिरञ्जिवी नेपाललाई पनि भेटेका छन् । गर्भनरसँगको भेटमा भूकम्पले पर्यटन क्षेत्र अप्ठेरोमा परेकोले बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने किस्ताको भाका सार्न र ब्याजदर  पूनरावलोकन गर्न आग्रह गरेको सापकोटाले बताए । व्यवसायीको गुनासो पछि गर्भनर नेपालले पर्यटन क्षेत्रलाई राहत मिल्नेगरि कार्यक्रम ल्याउने आश्वासन दिएका थिए ।

पर्यटक नहुँदा व्यवसायीको आम्दानी घटेको र खर्च चलाउन समेत नसक्ने अवस्था रहेको व्यवसायीले गभर्नर नेपालसमक्ष ऋणको भाका र किस्ता तिर्ने अवधि बढाएर राहतका कार्यक्रम ल्याउन माग गरेका थिए ।

व्यवसायीको माग सुनेपछि गभर्नर नेपालले पर्यटन क्षेत्रलाई कुनै न कुनै तरिकाले राहत हुनेगरि बैंक तथा वित्तीय संस्थालाइ निर्देशन गर्ने आश्वासन दिएका थिए । टोलीमा पिटिआरी संयोजक भट्टराई सहित संचार समिति संयोजक टिकाराम सापकोटा, प्रवद्र्धन समिति संयोजक बासु त्रिपाठी, विश्वशंकर पालिखे, परिषद् अध्यक्ष सोम थापा, रेबान अध्यक्ष गोपी भट्टराई, पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली, नाट्टा अध्यक्ष पोमनारायण श्रेष्ठ रहेका छन् ।