मनकारीहरुको सहयोगले पीडितलाई मल्हम लगाउँदै “एनआरएन”


– दीपक खरेल

शिक्षा र दक्ष योग्यता हाँसिल गर्न बिदेशिनुलाई राम्रै रुपमा लिइन्छ । बिदेशमा सिकेका सिप, योग्यता, अनुभवलाई स्वदेशमा लगानी गर्न सके देशको विकास हुन धेरै बेर लाग्दैन। तर बिडम्बना नेपालको दक्ष र योग्य यूवाहरु विदेश पलायन भए तर देश फर्केनन् । यसको कारण बढ्दै गएको महंगी,बेरोजगार, महँगो शिक्षा र स्वास्थ्य अनि अस्थिर राजनैतिक अवस्था नै मुख्य कारक हुन्।

यूवा शक्तिहरु विदेशिने क्रम बढ्दै गए पछि बिदेशिएका नेपालीहरु बीच एकता हुनु नेपाली राष्ट्रको लागि फाईदाको बिषय हो भन्ने महशुश गरि एनआरएनको जन्म रुसमा सन् २००३ मा भयो। तर त्यसको न्वारन बेलायतमा गरियो,”नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई आत्मसाथ् गर्दै बिश्वभर छरिएर रहेका नेपालीहरुलाई गोलबद्व गर्ने, नेपाल र नेपालीलाई परेका समस्यामा एकबद्व हुने, नेपाललाई बिश्व सामु चिनाउने, कला र सस्कृतिको जगेर्ना गर्ने, र नेपाललाई समृद्व बनाउने एक हिस्सेदार बन्ने नै यस सस्थांका प्रमुख उदेश्यहरु हुन्।

हरेक दुई बर्षमा आफ्नो अन्तराष्ट्रिय सम्मेलन नेपालमै गर्दै आएको यस संस्था आलोचना खेप्दै नआएको भने होईन। पत्रपत्रिका, टेलिभिजन, रेडियोले यो धनीहरुको संस्था हो दशैं मनाउन र परिवार भेट्न मात्र नेपाल फर्कन्छन् , सम्मेलन गर्छन्, ठुला ठुला कुरा गर्छन तर काम केहि गर्दैनन् भन्ने अखवारी सम्म गर्न भ्याए ।

कतिपय राजनैतिक संस्थाले त यो पुँजीपतिहरुको संस्था हो हामीले बहिस्कार गर्नु पर्छ सम्म भन्ने, यता नेपाली जनमानसमा पनि कतै होकी भन्ने भान परिसकेको थियो।

हुनत यो संस्थाले नेपालीमा सामाजिक काममा योगदान नगरेको होइन, रोजगारका अवसर देशमा खडा नगरेको होइन तर पनि अझै नेपालीहरुको मन जित्न सफल भएको थिएन। सायद त्यसैको उपज होला यसले नेपालमा बैधानिकता पाउन पनि १० बर्ष कुर्नु पर्यो।

संसारको एक कुनामा रोईरहेको नेपालीको आँशु अर्को कुनामा रहेको नेपालीले पुछ्ने अवसर मिलाएको र नेपाललाई कसरी समृद्व बनाउन सकिन्छ भन्दै रात दिन लागि परेको यो संस्थाले आफ्नो बिश्वसनियता बढाउँदै गएको छ। त्यसैको उपज होला हाल सम्म संसारमा ७० ओटा देशमा आफ्नो संजाल छरीसकेको छ।

जब आमाको छाती चिरिन्छ त्यसमा मलम तिनकै सन्ततिले लगाउँछन्। बैशाख १२ गते विनाशकारी भुकम्पले नेपाल आमा चिरा चिरा भईन, रुन थालिन, चिच्याउन थालिन्। हजारौ सन्ततिले ज्यान गुमाए, हजारौ घाईते भए र लाखौले घर बार गुमाएँ । राष्ट्रले अर्बौ घाटा बेहोर्नु पर्यो।

यो घाउमा मलम लगाउन बिदेशमा रहेका नेपालीहरु पनि एकजुट भएँ। बिदेशमा बसेका नेपालीहरुको नेतृत्व गरेको यस गैरबासीय संघले आफ्नै उपस्थितिमा राहत बाड्ने निर्णय गर्यो। भूकम्प गएको केहि दिनमा नै संसार भरका नेपालीहरु नेपाल पुगे।

आफ्नै ज्यानको बाजी लगाउँदै पिडितहरुकै स्थानमा पुगि आफ्नै हातले राहत बाँडे । चार दिन देखि भोकै थियौं अव बाँचिने भयो, सरकार र अन्य कुनै संस्था नपुगेको ठाउँमा यस संघ पुग्दा सबैले भने भगवानको रुपमा आउँनु भयो धन्य छ तपाईंहरुलाई। देशका १४ जिल्लाहरुमा राहत बाँडी अव पीडितहरुलाई १ हजार घर टहरा बनाउने निर्णय गर्दै सबैको मनकारी संस्था बन्यो गैर आबासीय नेपाली संघ।

बिदेशमा खाई नखाई १२ घण्टा काम गरेर जोगाएको पैसा बिपत पर्दा सहयोग नगरे कहिले गर्ने भन्ने भावना सबैमा आएको छ। युरोपमा आर्थिक मन्दी खेपी रहेको स्पेनका नेपालीहरु राहत संकलन गर्न एकजुट भएँ। कसम खाएँ हामी एक छौ , बिपतमा सहयोगी बनौँ।

फलस्वरूप करिव १ करोड रुपैंयाँ संकलन गर्न समुदाय सक्षम बनेको छ। यसै गरि संसारभरबाट पनि मनकारी नेपालीहरुले सहयोग संकलन गरिरहेका छन् ।

– खरेल गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य हुन्।