गोरखाका भूकम्प पीडितलाई कास्कीबाट १५ करोडको राहत


– सन्देश श्रेष्ठ
पोखरा / गोरखाका भूकम्प पीडितलाई कास्कीबाट अहिलेसम्ममा १५ करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको छ । तमु धीँ नेपालको ३१ औं स्थापना दिवसको अवसरमा मंगलबार भूकम्प पीडितहरुसँगको अन्तरक्रियामा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले यस्तो जानकारी दिएका हुन् । उनले खाद्य सामग्री, त्रिपाल र लत्ता कपडा समेत गरेर १५ करोड रुपैयाँ बराबरको राहत सामाग्री गोरखा पठाइएको दाबी गरे ।

राहत वितरणका लागि गोरखाको उत्तरी क्षेत्रमा ५ वटा हेलिप्याड निर्माण गरेर काम भइरहेको उनले जानकारी दिए । नेपाली सेनाबाट सडक निर्माण कार्य भइरहेको र अहिलेसम्ममा बारपाक र लाप्राकसम्मकै बाटो खुलिसकेको थपलियाले बताए ।
पीडितको प्रश्न-पुनर्वास कहिले ?

अन्तरक्रियामा सहभागी भूकम्प पीडितहरुले आफूहरु घरबारविहीन भएको भन्दै अब कहाँ जाने भनेर प्रश्न गरेका थिए । उनीहरुले आफ्नै गाउँमा पुनःस्थापन गर्न आग्रह गरेका थिए । गोर्खा लाप्राककी माया गुरुङले प्रश्न गरिन्, ‘लाप्राक गाउँ नै सार्नुपर्ने अवस्थामा पुगेको छ, भूगर्भविदहरु कहिले गाउँ जान्छन् ? र उनीहरुले भौगर्भिक अवस्था पत्ता लगाएर हामीलाई कहिले पुनर्वास गराईन्छ ?’

क्षेत्रीय प्रशासक थपलियाले स्थानीयबासीको सल्लाह र भौगर्भिक अध्ययन पछि कहाँ बस्ती बसाउने र कहाँ नबसाउने भन्ने टुंगो लाग्ने बताए । पीडितहरुलाई गाउँ फर्केर पुनर्निर्माणमा जुट्न आग्रह गरे । उनले भने, ‘तपाईंहरु सँधै यहाँ बसेर हुँदैन, सक्षमहरु आफ्नो गाउँ आफै बनाउन पुनर्निर्माणमा जुट्नुस्, हामी तपाईंहरुलाई जाने ब्यवस्था गर्छौं।’
कार्यक्रममा श्रम शिविरबाट फर्केका आश गुरुङ र ओम गुरुङले गोर्खाको बारपाक, लाप्राकमा पीडितले त परै जाओस् सेना प्रहरीले समेत रासन पाउन नसकेको जानकारी गराएका थिए ।