लोकगायिका कोइरालाको ‘फिरेन है दिन’ को चर्चा बढ्दै‘, रिर्टन नभएपनि निरन्तरता दिन्छु’


राजाराम पौडेल/पोखरा ।
मौलीक विषयबस्तुलाई सरल शब्द र लयमा आफ्नो सुमधुर आवाज भरी नेपाली साँगीतिक फाँटमा पृथक परिचय बनाउन सफल लोकगायिका हरिदेवी कोइरालाको नयाँ गीती संग्रह ‘फिरेन है दिन’ बजारमा आएको छ । केहि महिना अघि दर्शक श्रोता माझ पस्किएको यो संग्रहको चर्चा बढ्दै गएको छ । लोक तथा दोहोरी गीतको यो संग्रहमा उनकै लय, शब्द र आवाज रहेका आठ गीत समावेश छन् । अनावश्यक विषयवस्तुको उरन्ठेउला शब्द सिर्जनाममा गीत गाउने क्रम बढेको समयमा मौलिक संस्कृतीको संरक्षण गर्दै संग्रहमा गीत उनले गाएकी छन् । उनको यस संग्रहका गीतमा मौलीकता पाइन्छ । गीतमार्फत समाजमा देखिएका विकृति विसंगती विरुद्ध आवाज मात्र नभएर सन्देशदिन उनले खोजेकी छन् । उनको संग्रहमा आउन माया, सिर सिर हावा, खान्नँ म त तालैको, कस्तो छ पोखरा, के सिन्दुर पैरेछु, के फूल फूल्यो, आमा तिम्रो बोलको गीतको साथमा आज र मैले बोलको असारे गीत समावेश छ ।  गीत मार्फत उनले समाजलाई सन्देश दिन खोजेकी छन् । ‘माया प्रिति मात्र नभएर अभावका कुरा पुरा नभएका सपनाका कुरालाई समेटेर एल्बमको नाम फिरेन है दिन राखेकी हुँ’ उनले प्रष्ट्याइन् ।  सबै गीतको म्युजिक भिडियो तयार पारिसकेकी उनले भिडियो मार्फत पनि सन्देश दिन खोजेकी छन् । संगीतको लत बसेकोले रिर्टन नभएपनि आफैले लगानी गरेर निरन्तर साँगीतिक कोशेली पस्किरहेको उनले बताइन् । हुनत मेला महोत्सव र अन्य विभिन्न साँगीतिक कार्यक्रममा प्रस्तुती राख्न आयोजकले बोलाउने गरेपनि उनी हत्तपत्त कार्यक्रममा जान खोज्दीनन् । ‘विभिन्न कार्यक्रममा बोलाउनुहुन्छ व्यवसायिक रुपले अगाडि बढ्न खोजेकी छैन’ उनले भनिन् । अब छिट्टैनै बाल गीत संग्रह ‘कस्का जन्ती–२’ यो वर्ष बजारमा ल्याउने तयारीमा उनी जुटेकी छन् । हुन त आफुले सिर्जना गरेका र आवाज भरेका केहि पुराना गीतलाई नयाँ शैलीमा रिमेक गरेर बजारमा पस्कने उनको योजना छ । पुराना भाकाको संरक्षण र उजागरण गर्दै आएकी उनले अब केहि समयमानै जेठे गीतको म्युजिक भिडियो, दाँही गित, भैली गीतलाई संकलन गरेर संस्कृतीको जगेर्ना गर्ने बताउँछिन् ।
गायिका कोइरालाको झण्डै ५७ वर्ष अघि बुबा स्व.योगेन्द्र बहादुर भट्टराई मुमा जगत कुमारीको कोखबाट जन्म भएको थियो । बाल्यकालमा अरुसँग खुलेर नबोल्ने गम्भिर प्रकितिको उनी ७ वर्षदेखिनै गीत संगीत र कविता तर्फ रुचि राख्ने गर्दथिन् । स्कुलमा हुने साहित्यीक कार्यक्रममा भाग लिने गरेकी उनले बाराही उच्च मा.वी मा ७ कक्षा पढ्दा देवकोटा जयन्तिको उपलक्ष्यमा आयोजित कार्यक्रममा पहिलो पटक पुरकार जितिन् । पुरस्कार जिते पश्चात यो क्षेत्रमा अगाडी बढ्न हौसीइन् । स्कुलमा हुने शुक्रबार सरीय कार्यक्रममा थुर्पै पुरस्कार जितिन् । गाउने, लेख्ने, साहित्यीक कार्यक्रममा भाग लिने गरेपनि घरमा खुलेर भन्न नसक्ने उनको बानी थियो । घरमा  ढाटेर छलेर साहित्यीक कार्यक्रममा भाग लिन जाने गर्ने उनी साहित्यीक कार्यक्रमको लागि स्कुल ड्रेसमानै घण्टौ हिडेर पनि पुगीछाड्ने गर्थीन् । साहित्यीक कार्यक्रममा रुची बढी भएकी उनले लयबद्ध तरिकाले कविता कोर्ने गर्थिन् । चप्पल लगाएर गाएको कारण पहिलो हुन नसकेको उनले कहिल्यै विर्सनन् । २०३४ सालमा विवाह भएको थियो उनको, देख्दै नदेखेको व्यक्तिसँग मागी विवाह गरेको बताउने उनी विवाह पश्चात भने गीतसंगीत र साहित्य क्षेत्रको यात्रा सहज बन्यो ।  किनकी उनलाई गीत संगीतको क्षेत्रमा श्रीमान रामबहादुर कोइरालाको खुलेरै सर्पोट मिल्न पुग्यो । २०४० सालमा ‘पाइन खबर’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेकी उनले रेडियोमा गाएको पहिलो गीत भने ‘आँखाभरी आसुको सहारा’ हो । आठवटा एकल लोक गीत समावेश यहि एल्बमबाटनै यो क्षेत्रमा जम्न सफल बनीन् । त्यो समयमा क्यासेटको रुपमा बजारमा निकाल्न भन्दा पनि कस्तो सुनीन्छ आफ्नो आवाज भनेर परिक्षण गर्नको लागि मात्र गीत रेर्कड गरेकी थिइन् रे । अहिलेको जस्तो प्रविधि थिएन रहरै रहरमा एक विहान चारवटा गीत अर्को विहान चारवटा गरी गीत रेर्कड गरेको सामान्य प्राइभेट घरमा रेर्कड गरेको उनले सुनाइन् । म्युजिक नेपालबाट निकाल्दा स्वर परिक्षा दिनुपर्ने, गीतकोबारेमा सबैकुरा भन्नुपर्ने अलि समय लाग्ने भएकोले एउटा घरमा रेर्कड गरेकी उनले सुनाउँछिन् । क्यासेट निस्केको एक महिनामा बल्ल उनले थाहा पाएकी थिइन् किनकी त्यो समय अहिलेको जस्तो प्रविधि थिएन । एल्बम राम्रो विक्रि भयो कम्पनिलाई एल्बम बजारमा पु¥याउन धौ–धौ नै प¥यो अहिले सम्म पनि यो एल्बम निरन्तर विक्रि भैरहेको छ ।  यसरी पहिलो एल्बमबाट पाएको सफलताले अगाडी बढ्न उर्जा मिल्यो श्रीमानबाट समेत हौसला मिल्यो अनि यात्रा अगाडी बढाइन् । एक पछि अर्को एल्बम पस्कन थालीन् । के सिन्दुर पहिरेछु धर्म छाडाको २०४२ एम एससी रेकडिङ स्टुडियो बाट निकालिन् । दुई एल्बम राम्रोसँग चलेपछि बल्ल म्युजिक नेपालले उनलाई आफ्नो स्टुडियोमा बोलाएको थियो । आजसम्म पनि निरन्तर त्यहीबाट एल्बम निकालेको उनले सुनाउँछिन् । आजसम्म मनको वह, दुखिको विलौना, फेवाताल सलल,  कास्कीको कोसेली, पाइन खबर–२, काठमाण्डौको कथा, फूल गोगनको, पिपल चौतारी, मुटुको धड्कन पुर्षोतम न्यौपाने सँग दश वर्ष निरन्तर ऐना हेरेर, लाली फूल, झिलझिल सितारा लगायतका विभिन्न एल्बम गरी झण्डै असी एल्बम निकालीसककी छन् ।  आफ्नै शब्द, लय र आवाजमा चारसय भन्दा बढी गीतमा आफ्नो सुमधुर आवाज भरीसकेकी छन् ।
त्यसोत उनले २०४२ सालदेखि निरन्तर तीजका एल्बम बजारमा निकालिरहेकी छन् । हाल सम्म २६ भन्दा बढी तीज एल्बम र १ दर्जन तीजको भिसिडि एल्बम बजारमा ल्याइसकेकी छन् ।
कोइलीदेवी सम्मान साहित्य सम्मान, साहित्य सम्मान, नुरगंगा राष्ट्रिय पुरस्कार, तन्नेरी द्धैमासिक पुरस्कार, देउडा समाज, रेडियो नेपाल, अन्तराष्ट्रिय संगीत दिवस पुरस्कार, बाराहि रत्न पुरस्कार, कोइराला रत्न पुरस्कार, अलिमिया लोक वाङमय पुरस्कार, म्युजिक नेपालले आयोजना गर्ने राष्ट्रिय स्तरको अवार्ड दुईपटक सस्म्म प्राप्त लगायत झण्डै तिन सय पुरस्कार उनले जितिसकेकी छन् । उनी बैशाख पहिलो हप्ता सरकारबाट प्रदान गरिने प्रबल जन सेवाश्री तेस्रोबाट विभुषित समेत भएकी थिइन् ।
गीत र साहीत्यको एकल साँझ काठमाण्डौमा बसिबिहालो अभियानले आयोजना गरीसकेको छ भने २०६४ मा पोखरामा नारी दिवसको उपलक्ष्यमा हरिदेवी एकल साँझ समेत सम्पन्न भएको थियो ।
उनले गीत गाउने शव्द लय सिर्जन गर्ने मात्र हैन निबन्ध, गजल, गीत मुक्तक हाइकु पनि लेख्ने गर्छीन् ।   उनका गीत र कवितामा सोधकार्य समेत भैसकेको छ । उनका मेरो देशको छातीभित्र दुखेजस्तो लाग्छ कविता सङ्ग्रह, तीजको गीती संग्रह माइती रमाइलो, तरङ्ग कविता सङ्ग्रह, न घाम झ¥यो न जुन झ¥यो, आफ्नै गीत आफ्नै भाका लोकगीत सङ्ग्रह, के छ हजुर हालचाल यता ? गीति सङ्ग्रह र अन्य थुर्पै फुटकर गीत गजल मुक्तक प्रकाशन गरीसकेकी उनका समुहमा दुई दर्जन बढी गीत र तिन दर्जन भि.सि.डि बजारमा आइसकेका छन् । हरिदेवी संगीत नाट्य सम्मान कोष, लेखनाथ साहित्य प्रतिष्ठान, अलिमिया लोक वाङमय प्रतिष्ठान, सप्तरङ्गी साँस्कृतीक प्रतिष्ठान, संगीत प्रशिक्षण केन्द्र, राष्ट्रिय बाल प्रतिभा पुरस्कार लगायत दर्जनौ साहित्यिक, सांगीतिक एवंम सामाजिक संघसंस्थामा उनी आवद्ध छन् । विगत ३२ वर्ष देखि संगीत र साहित्यको क्षेत्रमा निरन्तर क्रियाशिल कोइराला बजारमा आएका लोक दोहोरी गीतमा देखीएको विकृती प्रति भने चिन्तित छन् ।  ‘विषयवस्तुमा गहनता छैन, विकृती बढी देखीयो’ उनले भनिन् । popdiary@gmail.com