स्पेनमा भूकम्प पिडित सहयोगार्थ करिब ९१ लाख रुपैयाँ संकलन


बार्सिलोना/ बिनाशकारी महाभूकम्पबाट देश नै शोकाकुल बनिरहेको बेला स्पेनबासी नेपालीहरुले राहत स्वरूप करिब ९१ लाख रुपैयाँ संकलन गरेका छन् । प्रभावित क्षेत्रका पीडितहरुले राहत पाउन् भन्दै स्पेनका नेपालीहरुले एकजुट हुँदै रकम संकलन गरेका हुन्।

राहतकोषको खातामा अहिले सम्म ७९ हजार ४ सय ३० युरो ६६ सेन्ट ( करिब ९१ लाख रुपैयाँ ) जम्मा भईसकेको रकम हो।

राहत कोषबाट पहिलो चरणमा स्पेनबाट ४० हजार युरो ( ४५ लाख ७५ हजार ५ सय ३८ रुपैयाँ ५० पैसा ) गैरआवासीय नेपाली संघको काठमाडौ स्थित खातामा जम्मा भईसकेको छ। केन्द्रीय अध्यक्ष शेष घलेले सानो समुदायबाट पनि उदार मनका साथ यति ठूलो रकम संकलन भएकोमा स्पेनका नेपालीहरुको उच्च प्रशंसा समेत गरेका थिए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन लगायत बिभिन्न संघसस्थाहरुको पहलमा नेपालका भूकम्प पिडितहरुलाई राहत स्वरूप रकम संकलन अभियान थालिएको थियो। यहाँ स्थित राजनीतिक,क्षेत्रीय,जातीय संघसस्थाहरु सहभागी बन्दै “महाभुकम्प पिडीत राहतकोष २०७२” स्थापना गरि रकम संकलन कार्यलाई तिब्रता दिएका छन्।

रकम संकलनमा एनआरएनए स्पेन २९ हजार ३ सय ४ युरो १४ सेन्ट, क्षेत्रीय समिति ग्रानकानरिया ७ हजार ४ सय ६० युरो, नेपाल स्पेन समाज कोस्टाब्लान्का ५ हजार १ सय ७९ युरो,पुर्बेली नेपाली एकता समाज ४ हजार ३ सय ७६ युरो,नेपाली जनसम्पर्क समिती ३ हजार ८ सय ६० युरो ८० सेन्ट, तमु समाज ३ हजार १ सय ४७ युरो,नेपाली समुदाय बिल्बउ ३ हजार युरो सहयोग गरेका छन्।

यस्तै चितवन समाज २ हजार ३ सय ७६ युरो,कास्की सेबा समाज २ हजार १ सय २२ युरो,नेवारी समाज (पासा पुच) २ हजार ५० युरो , नेपाली जन प्रगतिशिल मन्च १ हजार ८ सय ७४ युरो , गल्कोट समाज १ हजार ८ सय ६५ युरो,प्रबासी नेपाली मन्च १ हजार ७ सय ७३ युरो,एनआरएनए क्षेत्रीय समिती मड्रिड १ हजार ६ सय ४४ युरो,स्याङ्जा सहयोग समाज १ हजार ४ सय २७ युरो,मगर संघ ७ सय ७३ युरो ५० सेन्ट, नेपाली जन-कल्याण समाज(न्युज) ६ सय ५ युरो,म्याग्दी समाज ५ सय १ युरो,तामाङ् समुदाय३ सय ८१ युरो, ईनास स्पेन ३ सय ६१ युरो र अन्तराष्ट्रिय कलाकार मन्च स्पेनले ३ सय ३५ युरोले रकम संकलन गरि राहत कोषमा जम्मा गरेका छन्।

स्पेनिस समुदायले राहतकोषको खातामा सिधा जम्मा गरिदिएको रकम, किबुका ग्रुपको सहयोग,पोतला रेष्टुरेन्टको लन्च च्यारिटी,टिसर्ट बिक्रीबाट बचत रकम,डेस्क संचालन,कासा देल टिबेट र टिबेटीयन समुदायको कार्यक्रम,च्यारिटी बक्स,रसिदबाट संकलित रकम,ग्रान्योनेस,इबिजा,भ्यालेन्सिया,लेईदामा रहेका नेपालीहरुले पहल गरि पठाएको रकम सहित गरि राहत जुट्न सफल भएको हो।

संघका अध्यक्ष एबं राहत कोषका संयोजक एकराज गिरीले अब केहि दिन भित्रमा नै दोस्रो चरणमा बाँकी रकम नेपाल पठाउने तयारी गरिरहेको जानकारी दिए।