भूकम्प पीडित सहयोगार्थ स्पेनमा करिब ७२ लाख रुपैयाँ संकलन


बार्सिलोना/

बिनाशकारी महाभूकम्पबाट देश नै शोकाकुल बनिरहेको बेला राहत स्वरूप स्पेनमा करिब ७२ लाख रुपैयाँ संकलन भएको छ। तत्काल प्रभावित क्षेत्रका पीडितहरुले राहत पाउन् भन्दै स्पेनका नेपालीहरुले रकम संकलन गरेका हुन्।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन लगायत बिभिन्न संघसस्थाहरुको पहलमा नेपालका भूकम्प पिडितहरुलाई राहत स्वरूप रकम संकलन अभियान थालिएको थियो। यहाँ स्थित राजनीतिक,क्षेत्रीय,जातीय संघसस्थाहरु सहभागी बन्दै “महाभुकम्प पिडीत राहतकोष २०७२” स्थापना गरि रकम संकलन कार्यलाई तिब्रता दिएका छन्।

एनआरएनए स्पेनका महासचिब सन्दिप मोहोन भट्टराईले राहतकोषमा अहिले सम्म ६३ हजार ५ सय ५४ युरो ( करिब ७२ लाख रुपैयाँ ) संकलन भईसकेको नेपालीनेपाली डटकमलाई जानकारी दिए।सो रकम राहत संकलनको लागि खोलिएको खातामा जम्मा भईसकेको रकम हो।

स्पेनका बिभिन्न ठाँउहरुबाट अझै रकम आउने क्रम भने जारी नै रहेको छ। राहत कोषबाट पहिलो चरणमा स्पेनबाट ४० हजार युरो ( ४५ लाख ७५ हजार ५ सय ३८ रुपैयाँ ५० पैसा ) गैरआवासीय नेपाली संघको काठमाडौ स्थित खातामा जम्मा भईसकेको छ। केन्द्रीय अध्यक्ष शेष घलेले सानो समुदायबाट पनि उदार मनका साथ यति ठूलो रकम संकलन भएकोमा स्पेनका नेपालीहरुको उच्च प्रशंसा समेत गरेका थिए।

रकम संकलनमा एनआरएनए स्पेन, क्षेत्रीय समिति ग्रानकानरिया, नेपाल स्पेन समाज कोस्टाब्लान्का,पुर्बेली नेपाली एकता समाज,तमु समाज, नेपाली जनसम्पर्क समिती, चितवन समाज, कास्की सेबा समाज ,गल्कोट समाज,नेपाली जन प्रगतिशिल मन्च, नेवा: समाज,प्रबासी नेपाली मन्च ,स्याङ्जा सहयोग समाज,मगर संघ, म्याग्दी समाज,नेपाली जन-कल्याण समाज(न्युज),तामाङ् समुदाय, ईनास स्पेन लगायतका संघसस्थाहरुले छुट्टाछुट्टै जुटे पनि रकम राहत कोषमा नै जम्मा गरेका हुन्।

11193316_1096606790365793_7307588347567026577_n

यस अलवा किबुका ग्रुपको सहयोग,पोतला रेष्टुरेन्टको लन्च च्यारिटी,टिसर्ट बिक्री,डेस्क संचालन,कासा देल टिबेट र टिबेटीयन समुदायको कार्यक्रम,च्यारिटी बक्स,रसिद काटेर रकम संकलन जस्ता गतिविधिबाट नै राहत जुट्न सफल भएको हो।

संघका अध्यक्ष एबं राहत कोषका संयोजक एकराज गिरीले संकलन भएको रकमलाई पुन: नेपाल पठाउने बारे तयारी र छलफल गर्ने बताएका छन्।