देशको महाविपत्तिमा एकजुट बन्दै युरोपका नेपालीहरु


प्रकाश ढकाल/वसन्त रानाभाट 

संसारको जुनसुकै कुनामा रहे पनि ‘यो मन त नेपाली हो। अहिले प्रत्येक देश विदेशमा रहेका नेपालीहरुको मन र मस्तिष्कमा रहेको आवाज हो यो। भौतिक शरीर विदेशमा रहे पनि मन र मस्तिष्क देशप्रति समर्पित छ यतिबेला। आ-आफनो ठाउँबाट सहयोग जुटाउने क्रम जारी रहेको छ। देश दुख्दा प्रत्येक नागरीकलाई दुख्नु स्वभाविक हो। तर देशलाइ आवश्यक परेको बखत छाक काटेर मात्र नभई आफनो श्रम पसिना पनि दान गर्दैछन् विदेशका नेपालीहरु।

भनिन्छ, देशप्रेम र देशभक्ती कुराले मात्र लागू हुँदैन जव त्यसलाई व्यवहारमा उतार्न सकिन्छ र परिणाम दिने काम गरिन्छ त्यतिबेला सच्चा देशप्रतिको प्रेम झल्किन्छ रे, हो यस्तै गर्दैछन् विदेशिएका नेपालीहरु अहिले।

जति पनि नेपालीहरु विदेशिएका छन् विदेशिनु तिनीहरु सबैको बाध्यता भएपनि देशलाइ परेको संकटको बेला जो कोहि पनि आँखा चिम्म गरेर बसेका थिएनन् र बस्ने छैनन् पनि। चाहे त्यो कोशी नदीको बाढीको समय होस् वा हिउँ पाहिरोको सेती नदीको बाढीको बखत अनि दार्चुलाको बाढी पीडित हुन् वा जाजरकोटमा झाडा पखालाको महाँमारी होस् वा ताप्लेजुङ्गका आगलागी पीडित यी र यस्तै विपतको समयमा अनि नेपालको संकटको समयमा प्रवासीहरुले उत्तिकै साथ दिँदै आएको ज्वलन्त उदाहरण हामी सामू छर्लङ्ग छ।

कसरी जुट्दैछन् त नेपालीहरु ? यसको छोटो चर्चा गरौँ। विदेशमा राजनीतिक दलका भातृ संगठन, जातीय, क्षेत्रीय लगायतका संघ संगठन वा संस्थाहरु थुप्रै भए पनि गैरआवासीय नेपाली संघ सबैको छाता संगठन बन्दै आएको छ। धेरैको विश्वास यसै संगठन भित्र नै छ । त्यसकारण पनि युरोपमा रहेका विभिन्न देशका एनआरएनएहरु देशमा परेको बिपत्तीमा हरेक पटक सहारा बन्दै आएका छन्।

हालसम्म गैर आवासीय नेपाली संघ युरोप क्षेत्र भित्रका प्राय: सबै मुलुकहरुबाट भूकम्प पीडितका लागि राहत संकलन अभियानमा लागि परेका छन्। प्रत्येक देशमा रहेका नेपाली समुदाय, विभिन्न संघ संगठनहरु यस अभियानमा ऎक्यबद्धता जनाउँदै एनआरएनएको अभियानलाई सघाई रहेका छन्। समग्र रुपमा यो सबै प्रत्येक नेपालीहरुले गरेको सहयोगका कारण नै सम्भव भैरहेको पनि छ। सबै एकजुट भएकै कारण राहत कोषमा सोचे अनुरुपको रकम संकलन गर्न सम्भव भएको हो।
देश बिपतमा परेको बेला स्पेनका नेपालीहरु खुलेर नै उदार मन देखाए।

नेपाली राजदुताबास समेत नभएको त्यस माथी आर्थिक मन्दीको चरम भार खेपिरहेका स्पेनका नेपालीहरुले ५० हजार भन्दा बढी युरो संकलन गरेर देखाए । जति पनि रकम संकलन भयो,आम्दानी हिसाबले त्यो असम्भव जस्तै थियो। तर देश दुखेको बेलामा रकम अझ बढ्दो क्रममा नै छ । बार्सिलोनामा बिगत ७ वर्षदेखि बस्दै आएका कृष्ण गुरुङले एक्कासी फोन गरेर भने, लौन समाचारले त साह्रै भयानक पो देखाईरहेको छ नेपालमा केही राहत त पठाउनु पर्यो, म सहयोग गर्न तयार छु। गोजीबाट एक हजार ५० युरो (करिब १ लाख ११ हजार रुपियाँ) निकाल्दै राहत कोषमा जम्मा गरेर भन्दै थिए “दुई महिना फेरि दुःख गरौंला अहिले सहयोग नगरे कहिँले गर्ने त ?

बार्सिलोना निवासी अर्का नेपाली बमबहादुर खत्रीले पनि १ हजार युरो नै सहयोग गरे। एक दशकभन्दा लामो समयदेखि स्पेन बस्दै आएका दावा ऋषि श्रेष्ठले आफ्नो पोताला रेष्टुरेन्टमा स्पेनिसलाई बोलाएर खाना खुवाए र प्रत्येकले दिएको ३५ युरो खर्च पनि नकटाई सहयोग गरे। यसो गर्दा राहत कोषका लागि उनले ९ सय १० युरो संकलन गरे । स्पेनमा रहेका करिब ३० जना नेपालीहरुले एकै ठाँउ काम गर्ने किबुका ग्रुप, एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरी लगायतका नेपालीहरुले वर्षौदेखि काम गर्दै आएका छन्।

कातालान मालिकहरुको मन पनि कसरी थाम्न सक्थ्यो र ? तिमीहरुको घर भत्किएको छ हाम्रो तर्फबाट सहयोग १० हजार युरो भन्दै गर्दा, एकछिन त उनीहरुलाई भेट गर्न गएका नेपालीहरुलाई पत्याउन पनि मुस्किल बनायो। रेष्टुरेन्टका मालिकहरु सधैँ नाफा र फाईदा मात्र खोज्छन् भन्नु हैन रैछ, मनले खाए सहयोग गर्न हजारौ युरो खर्च गर्न सक्छन् भन्ने उदारण बन्यो।

त्यति मात्र हैन सोही ठाँउमा काम गर्ने नेपालीहरु लगायतका कामदारहरुले २ दिनको टिप्स पनि लिएनन् फलस्वरूप ६ सय २३ युरो ५० सेन्ट पनि राहत कोषमा नै थपियो। “नेपालका लागि सहयोग र प्राथना गरौ” भन्ने सन्देश बोकेका टिसर्टहरु रातारात तयार भए। टिसर्टबाट बिदेशीहरुलाई सहयोग गर्नु पर्छ भन्ने प्रेरेणा त मिल्यो नै राहत कोषमा १ हजार ८ सय युरो पनि जम्मा हुन सफल भयो।

स्पेनका नेपालीहरुको जोस जाँगर र एकरुपता देख्दा यहाँ १० हजार नेपालीहरु मात्र छैनन्, लाखौ छन् जस्तो भान गराईदियो । स्पेनमा रहेका सबै संघसस्था ताते,छुट्टाछुट्टै रकम उठाए तर जम्मा एकै ठाँउमा गरे। यसले बिदेशमा नेपालीहरु बीचको आपसी भाईचारा,सद्भाब केवल बोलीमा मात्र सीमित नभई ब्यवहारमा पनि लागू भएको सबैलाई महशुस भयो।

पहिलो चरणको राहत स्वरूप स्पेनबाट ४५ लाख ७५ हजार ५ सय ३८ रुपैयाँ ५० पैसा गैरआवासीय नेपाली संघको काठमाडौस्थित खातामा जम्मा भईसकेको छ। केन्द्रीय अध्यक्ष शेष घलेले सानो समुदायबाट पनि उदार मनका साथ यति ठूलो रकम संकलन भएकोमा स्पेनका नेपालीहरुको उच्च प्रशंसा गरेका थिए।

यसैगरी नेपालीहरु बाक्लो बसाई रहेको बेलायत, बेल्जियम जस्ता युरोपियन मुलुकहरुमा पनि नेपालीहरु राहत संकलनमा अहोरात्र खटिएका छन्।

उत्तरी युरोपका नर्डिक देशहरु डेनमार्क, स्विडेन, नर्वे र फिनल्याण्डमा एनआरएनले सक्रियतापूर्वक सहायता संकलन गरिरहेका छन्। डेनमार्कबाट एनआरएनको कोषमा ८ लाख जम्मा गरिएको छ भने अरु नर्डिक देशहरुका एनआरएनएहरुले पनि सोही अनुसारको सहायता रकम संकलन गरिरहेको बताइएको छ। डेनमार्कमा रहेका नेपालीहरुले यहाँको डेनिश रेडक्रस मार्फत पानी सहयोग गरे।

डेनमार्कमा व्यक्तिगत रुपमा पैसा उठाउन र संस्थागत रुपमा पैसा उठाउनको लागि कानूनी प्रक्रिया लामो हुने भएकोले डेनमार्कमा रहेका नेपालीहरुले काम गर्ने स्थानमा स्थानीयहरुलाई रेडक्रस मार्फत सहयोग गर्न आव्हान पनि गरे सो अनुसार धेरैले डेनिस रेडक्रसमार्फत सहयोग गरे ।

यस्तै, जर्मनीमा जनसम्पर्क समितिले गरेको आव्हानमा १६ लाख भन्दा बढी संकलन भएको छ । जसमा दिलबहादुर गुरुङ एक्लैले ५ लाख सहयोग गरेका छन् भने सुभाष अधिकारीले २ लाख सहयोग गरेका छन् र शरण केसीले एक लाख सहयोग गरे । रकम अझै उठ्ने क्रममा रहेको जर्मनीबाट केसीले जानकारी दिए ।

यस्तै जर्मनीमा अर्का मनकारी टंक लम्साल निस्के जसले आफ्नो लिटल बुद्ध नामक रेस्टुरेन्टमा स्थानीय जर्मन नागरीकहरुसँग पनि सहयोग संकलन गरी ५ हजार युरो अर्थात करिब ६ लाख रूपैया भन्दा बढी एनआरएनए जर्मनीलाई हस्तान्तरण गरिसकेका छन् भने उनले व्यक्तिगत रुपमा १ लाख ५० हजार एनआरएनए र जनसम्पर्क समिति मार्फत सहयोग गरेका छन।

यस्तै फ्रान्समा पनि एनआरएनए फ्रान्सले सक्रियतापुर्वक सहायता रकम संकलन गरिरहेको छ भने लक्जम्बर्गमा पनि नेपालीहरु एनआरएनए मार्फत नै सहयोग जुटाईरहेका छन् ।

यसैगरी पोर्चुगलमा एनआरएनको सक्रियतामा हाल सम्म १६ लाख रुपैयाँ संकलन भएको छ र सहयोग आउने क्रम जारी नै रहेको छ । आर्थिक सहयोग बाहेक लत्ता कपडा पनि डेनमार्क, जर्मनी लगायतका देशहरुबाट नेपाल गैरहेको छ। युरोपबाट नेपाल सीधा उड़ान भर्ने कतार र टर्किस एयरलाईन्सले पनि नेपालीहरुलाई अतिरिक्त ३० किलो सम्म लैजान छूट दिएका छन् ।यस कारण पनि अन्य सामाग्री लैजान सहयोग मिलेको छ।

महाबिनाशकारी भूकम्पपछि तहसनहस भएको देशलाई पुनर्निर्माण गर्न सरकार र राजनीतिक दलहरुले चासो मात्र देखाएर मन देखिनै काम थाल्ने हो भने, राहतका लागि करौडौ पठाई सकेका युरोपबासी नेपालीहरुले “नयाँ नेपाल” बनाउनका लागि अरबौ रकम जुटाउन पछि पर्दैनन्।