नेपालका भूकम्प पीडितलाई रोनाल्डोको ८० करोड सहयोग


काठमाडौं /रियल मडि्रडका सुपरस्टार क्रिटियानो रोनाल्डोले नेपालका भूकम्प पीडितलाई ७ मिलयन यूरो अर्थात झण्डै ८० करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।
फ्रेन्च स्पोर्टस म्यागजिन ‘सो फुट’का अनुसार फिफा बालोन डि’ओरका विजेता रोनाल्डोले सेभ द चिल्डे्रनमार्फत भूकम्प प्रभावित नेपालका बालबालिकालाई सहयोग गर्ने भएका हुन् ।

फ्रान्सेली स्पोर्ट्स म्यागजिन ‘सो फुट’लाई उल्लेख गर्दै बेलायतको द टेलिग्राफले जनाएको छ । सो फुटका अनुसार भन्दै यसलाई टेलिग्राफ, डेली मेल, मिरर र द डेली स्टारजस्ता ठूला मिडियाले शनिबार राम्रै्र स्थान दिएका छन् । तर, रोनाल्डोकै अफिसियल फेसबुक, ट्विटर र वेभपेज तथा सेभ द चिल्ड्रेनले भने त्यसबारे केहि जानकारी दिएको छैन ।

मिडियाका रिपोर्टलाई आधार मान्ने हो भने ३० वर्षे रोनाल्डोले व्यक्तिगत रुपमा भुकम्प पीडित नेपालीलाई सबभन्दा ठूलो रकम उपलब्ध गराएका छन् । गोरखाको वारपाकलाई केन्द्रविन्दू बनाएर १२ वैशाखमा ७.६ रेक्टरको भुकम्प गएको तीन दिनभित्रै रोनाल्डोले भुकम्पबाट प्रभावित बालबालिकालाई सेभ द चिल्ड्रेनमार्फत् राहत दिनको लागि ट्विटर फेसबुकमार्फत् अपिल गरेका थिए । सेभ द चिल्ड्रेन नेपाललाई सहयोगको लागि १ करोड डलर संकलन गर्ने अभियानमा छ ।

दुई वर्षअघि सेभ द चिल्ड्रेनको ग्लोबल आर्टिस्ट एम्बासडोर भएका उनी मैदानमा निक्कै आक्रमक देखिन्छन् तर मैदानबाहिर भने दयालु र सहयोगी छन् । उनले गत वर्ष १० महिने बालकको उपचारको ब्रेन सर्जरीको लागि ६० हजार युरो (करिब ६० लाख रुपियाँ) दिएका थिए ।

सन् २००४ मा इन्डोनेसियामै पुगेर उनले भुकम्प पीडितलाई सहयोग गरेका थिए । गरिब परिवारमा जन्मिएका उनले गृहनगर मेडिइरा, मध्यपूर्वको युद्धभूमि गाजा, अफ्रिकामा इबोलाविरुद्धको अभियानमा पनि ठूलै सहयोग गरेका थिए ।