पोखरामा ८० फिट अग्लो बुद्धको मूर्तिसहित यशोधरा पार्क बन्ने


सन्देश श्रेष्ठ
पोखरा/
पोखरामा ८० फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिने भएको छ । पोखरा–२१ काहुँडाँडास्थित काहुँकोटमा बुद्धको मूर्ति स्थापनासहित ‘यशोधरा बाटिका’ निर्माण गर्न लागिएको हो ।

मूर्ति स्थापना स्थलमा आज आयोजित एक कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले पोखरालाई पर्यटकीय र धार्मिक रुपले आकर्षण गराउने उद्धेश्यले बुद्धको मूर्तिसहित ‘यशोधरा बाटिका’ बनाउने घोषणा गरेका हुन् ।

१७० रोपनीमा निर्माण गर्न लागिएको बुद्धको मूर्तिसहित ‘यशोधरा बाटिका’ स्थलमा यशोधराको प्रतिमा, ध्यान केन्द्र, बुद्ध दर्शन सम्बन्धि पुस्तकालय र पाहुनाहरुलाई बास बसाउन गेष्ट हाउस पनि निर्माण गरिने समिति संयोजक रुद्रकुमारी (मैना) तमुले जानकारी दिईन् । यसअघी तमु धिँ नेपालकी महासचिव रुद्रकुमारी (मैना) तमुको संयोजकत्वको टोलीले काहुँकोटमा बुद्धको मूर्ति स्थापनासहित यशोधरा पार्क निर्माण गर्ने स्थलको पहिचान गरेको थियो ।

बुद्ध जयन्तीको अवसर पारेर बुद्धको मूर्ति स्थापना तथा यशोधरा पार्क निर्माण घोषणा कार्यक्रमको अवसरमा बोधि बृक्ष (पिपलको विरुवा) रोपिएको छ । कार्यक्रममा बोल्दै क्षेत्रीय प्रशासक थपलियाले पोखरालाई गौरब लाग्ने ठाउँ तथा आकर्षक पर्यटकीय स्थल बनाउने उद्धेश्यले ‘कास्कीका १६ गौरब योजना’ अन्तर्गत मूर्ति स्थापनासहित यशोधरा पार्क बनाउने कार्य अघि बढाइएको बताए । उनले मूर्ति र पार्क जसरी पनि बनाउने दाबी गर्दै यसमा सबैको साथ र सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

सभासद शारदा पौडेलले ‘कास्कीका १६ गौरब योजना’ निर्माण र बजेट पार्न आफूले पनि लबिङ गरिरहेको बताईन् । उनले समग्र कास्की, पोखराको विकासमा यसले महत्वपूर्ण योगदान दिने विश्वास ब्यक्त गरिन् ।

समितिका सल्लाहकार तथा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बुद्धको मूर्ति स्थापना र यशोधरा पार्कको अवधारणा बारे प्रष्ट पारेका थिए । उनले क्षेत्रीय प्रशासक थपलियाको पहलमा थालिएको गौरब योजनाले पोखराको विकाशमा फड्को मार्न सघाउने बताए ।

समितिकी संयोजक रुद्रकुमारी (मैना) तमुको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता तथा धारापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुमार क्षेत्री, पोखरेली विकास अभियन्ता मेजर बिरसिंह गुरुङका छोरा लोकबहादुर गुरुङ, सुबेदार ईन्द्रबहादुर गुरुङ, समितिका सचिव राजबहादुर गुरुङ र सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले बोलेका थिए ।