भूकम्प पिडितलाई स्पेनमा करिब १७ लाख संकलन,सहयोगको क्रम जारी


वसन्त रानाभाट
बार्सिलोना/
बिनाशकारी महाभूकम्पले देशमा ठुलो बिपत परिरहेको बेला स्पेनबासी नेपालीहरुले राहतको लागि अहिले सम्म करिब १७ लाख रुपियाँ (१६ हजार १ सय २४ युरो) रकम संकलन गरेका छन्।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन लगायत बिभिन्न संघसस्थाहरुको पहलमा रकम संकलन भएको हो।

संघले आईतबार राखेको आपतकालिन बैठकमा स्पेनमा रहेका राजनीतिक,क्षेत्रीय,जातीय संघसस्थाहरु सहभागी बन्दै “महाभुकम्प पिडीत राहतकोष २०७२” स्थापना गरि रकम संकलन कार्य शुरू गरेका छन्। संघका अध्यक्ष एकराज गिरी संयोजक रहने गरि गठन गरिएको राहतकोषमा आईसीसी सदस्य,कार्यसमितिका सदस्यहरु लगायत स्पेन स्थित संघसस्थाका अध्यक्षहरु पदेन सदस्यहरु रहेका छन्।

एनआरएनए स्पेनले आफ्नो राहतकोषबाट छुट्टाएको २ हजार युरो सहित ३ हजार ३ सय ५९ ,तमु समाज स्पेनले २ हजार ३ सय ८४ युरो ,कास्की सेवा समाज १ हजार ५ सय युरो,प्रबासी नेपाली मन्च १ हजार ३ सय युरो,नेपाली जनसम्पर्क समितिले १ हजार २ सय ५० युरो संकलन गरेका छन्।

यस्तै नेपाली जनप्रगतिशील मन्च स्पेनले १ हजार २ सय ५० युरो, स्याङ्जा सहयोग समाज १ हजार २ सय १० युरो, नेवा: समाज स्पेन १ हजार १ सय २१ युरो, कृष्ण गुरुङ (नेपालीनेपाली डटकम मार्फत) १ हजार ५० युरो, चितवन समाज ८ सय युरो,पुर्वेली नेपाली एकता समाज ५ सय युरो र म्याग्दी समाज स्पेनले ४ सय युरो संकलन गरेको जनाएका छन्।  संघसस्थाहरुले रकम संकलन कार्य जारी रहेको बताएका छन्।

संकलित रकम गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको संयोजकत्वमा गठित भूकम्पपिडीत राहत सहयोग समितिमा पठाईने भएको छ। जसमा गैरआवासीय नेपाली संघका सवै राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा सवै अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य रहनेगरी तीन सय सदस्यीय समिति गठन गरिएको छ ।

संकलित रकम सरकारी कोषमा दाखिल नगरी बिभिन्न संस्थाहरुसंगको समन्वयमा सिधै पिडीतसमक्ष पुग्ने ब्यबस्था गरिने जनाइएको छ । संकलित रकमलाई कुनै दुरूपयोग हुन नदीई वास्तविक पिडीतसमक्ष पुर्‍याउने एनआरएनले प्रतिबद्धता जनाएको छ ।

नोट- सबै संघसस्थाहरुले सहयोग दाताहरुको नामावली नेपालीनेपाली डटकमलाई उपलब्ध नगराएकाले,पाप्त हुने बित्तिकै अर्को समाचारमा प्रकाशित गरिने छ।