अनरेरी अवार्ड बिजेता इन्दिरा रानामगर स्पेनमा सम्मानित


बार्सिलोना/ अन्तर्राष्ट्रिय स्तरको वल्ड चिल्ड्रन प्राईज अनरेरी अवार्ड बिजेता नेपाली चेली इन्दिरा रानामगर स्पेनमा सम्मानित भएकी छन्। पूर्वेली एकता समाज स्पेनले‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ संस्थाकी अध्यक्ष समेत रहेकी रानामगरलाई बार्सिलोनामा सम्मान गरेको हो।

सम्मानित हुदै रानामगरले स्पेनका बिभिन्न युनिभर्सिटीहरुमा पुगेर आफुले साटेका अनुभवहरु बारे जानकारी गराएकी थिईन्। उनले बन्दी अभिभावकका बालबालिकाको अबस्था र देशमा परिवर्तनको लागि उनीहरुको भूमिका बारे चर्चा गरिन्। आफु बालबालिकाको हितमा लाग्नुको कारण बारे जानकारी गराउदै बिश्वका बिभिन्न मुलुकहरुका बन्दी गृहमा आफुले देखेको र सिकेका अनुभबहरु सुनाएकी थिईन्। स्पेनको नेपाली समुदायले आफुलाई गरेको सम्मान प्रति कृतज्ञता ब्यक्त गर्दै सधै नेपालीहरु बीच यस्तै एकता रहोस् भन्ने कामना समेत गरिन्।

कार्यक्रमका प्रमुख अतिथि गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य दिपक खरेल र बिशेष अतिथि र्राष्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष एकराज गिरीले सम्मानपत्र र दोसल्ला ओढाई रानामगरलाई सम्मान गरेका थिए।

स्पेनिस नागरिक ग्लोरिया र वरियल लगायत उनीहरुको परिवारले हालै स्थापना गरेको कलियु नेपाल नामक सस्थाको आमन्त्रणमा उनि स्पेन आएकी हुन् । स्पेनिस नागरिक ग्लोरिया र वरियल करिब २ वर्ष सम्म नेपालमा नै रहेर बिभिन्न जेलहरुको अवलोकन समेत गरेका थिए।

रानामगरले स्पेनको बार्सिलोना,जिरोनाका,भ्यालेन्सियाका युनिभर्सिटीहरुमा पुगेर अन्तरक्रिया गरिसकेकी छन् भने लेईदामा अवस्थित बन्दी गृहमा गएर त्यहाँको अवलोकन समेत गरिन्। अन्तर्राष्ट्रिय स्तरको अवार्ड जितीसकेकी उनी बार्सीलोनामा टेलिभिजन, रेडियो लगायत स्थानीय संचारमाध्यममा समेत अन्तरवार्तामा ब्यस्त रहिन्।

झापा स्थायी घर भएकी रानामगरलाई गरिएको सम्मान कार्यक्रमको अध्यक्षता पुरुषोत्तम भट्टराईले गरेका थिए भने कार्यक्रमको संचालन महासचिव रञ्जन वस्तीले गरे।

11117811_10155530070785451_782915665_n

 

अहिलेसम्म जेलबाट करिव एक हजार भन्दा बढी बालबालिकाको उद्धार गरिसकेकी इन्दिरा बिगत २० बर्षदेखि नै बालबालिकाको संरक्षण,शिक्षा र पालनपोषणका लागि काम गर्दै आएकी हुन् ।

उनले बालबालिकाहरुको लागि स्कुल, बालगृह लगायत अन्य यूवा कार्यक्रम पनि सञ्चालन गर्दै आएकी छिन् । शनिबार उनको युरोपको अर्को सुन्दर देश स्विजरल्याण्ड जाने कार्यक्रम तय भएको छ।