पोखरामा चक्रपथ बनाउने विषयमा दलहरुबीच मतभेद


– सन्देश श्रेष्ठ

पोखरा/ पोखरामा चक्रपथ बनाउने विषयमा राजनीतिक दलका स्थानीय नेताहरुबीच मतभेद भएको छ । प्रस्तावित पोखरा उपत्यका चक्रपथ निर्माण समितिका विश्वप्रकाश लामिछानेको अध्यक्षतामा विहीबार बसेको सर्वपक्षीय एवम् सर्वदलीय बैठकमा मत बाझिएपछि निष्कर्षविहीन टुंगिएको छ ।

बैठकमा क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको समन्वयमा यसअघि बनेको प्रस्तावित पोखरा उपत्यका चक्रपथ निर्माण समितिका संयोजक लामिछानेले प्राविधिक संयोजक नारायणप्रसाद श्रेष्ठले बनाएको ‘पोखरा चक्रपथ’ निर्माणको प्रस्ताव राखेका थिए ।
प्रस्तावमा नेकपा एमाले, एकीकृत नेकपा माओवादी, संघीय समाजवादीसहितका पार्टीहरुले सहमति जनाएपनि नेपाली कांग्रेस र नेकपा-माओवादीले असहमति जनाएका थिए । नेपाली कांग्रेस र नेकपा-माओवादीका प्रतिनिधिले समिति बनाउँदा आफूहरुलाई बेवास्ता गरेको आरोप लगाउँदै चक्रपथ बनाउने कुरामा आफूहरुको असहमति रहेको बताएका थिए ।

कांग्रेस कास्कीका प्रतिनिधि प्रकाश खनालले एकलौटी रुपमा समिति बनाइएकाले चक्रपथ निर्माणमा सहयोग गर्न नसक्ने बताए । चक्रपथ निर्माण गर्ने नियत नदेखिएको भन्दै उनले समिति बनाउँदा सहमति नखोजि एकैपटक छलफलमा बोलाउनुको कुनै अर्थ नहुने टिप्पणी गरे ।

नेकपा-माओवादीका प्रतिनिधि सूर्य खड्काले समिति बनाउँदा बेवास्ता गरिएको प्रति आक्रोश पोखे । ‘बृहत्तर विकासका लागि बनाउन लागिएको चक्रपथ निर्माणका लागि समिति बनाउँदा एकपटक पनि छलफल नहुनु र सहमति नखोज्नुले नियतमै खोट देखिएको छ,’ उनले भने । उनले प्रस्तावित चक्रपथमा केही ठाउँहरु छुटेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए ।

छलफलमा क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले बृहत्तर विकासका लागि चक्रपथ निर्माण गर्न लागिएकाले सहयोग गरिदिन आग्रह गरेका थिए । उनले आफ्नो स्वार्थको लागि नभइ पोखराकै विकासका लागि चक्रपथ निर्माण गर्न लागिएको स्पष्ट पार्दै असहयोग हुने हो भने काम नहुने र त्यसले पोखराको विकासलाई नै पछाडि धकेल्ने चेतावनी दिए ।

स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले बृहत्तर विकासका लागि विभिन्न समिति बनेको बताउँदै उक्त योजनाहरु बनाउँदा सरकारीस्तरबाटै खर्च हुने बताए । उनले सबै समितिलाई सहयोग गर्न पोखरेलीलाई आग्रह गरे ।