अन्नपूर्णको १५ औं बार्षिकोत्सव शनिबार हुने, डाक्टर राणालाई ‘पोखरा रत्न’ बाट सम्मान गरिने


राजाराम पौडेल/पोखरा ।

विगत पाँच दशकदेखि विरामीको सेवा गर्दै आउनुभएका डाक्टर डाक्टर कुमारशम्सेर राणाले स्वास्थ्य क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै रेडियो अन्नपूर्णले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा ‘पोखरा रत्न’ बाट सम्मान गर्न लागेको छ।
रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेको संयोजकत्वमा गठित छनोट समितिले राणालाई ‘पोखरा रत्न’ सम्मान अर्पण गर्ने निर्णय गरेको हो । छनोट समितिमा प्राध्यापक डाक्टर दिलबहादुर क्षेत्री, पर्यटनवीद झलक थापा, प्राज्ञ हरिदेवी कोइराला, थकाली सेवा समितिका अध्यक्ष अमर तुलाचन र रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ सदस्य रहनुभएको थियो । बैशाख १२ गते शनिबार हुने रेडियोको बार्षिकोत्सव कार्यक्रममा डाक्टर राणालाई नगद २५ हजार ५ सय ५५्, दोसल्ला र ताम्रपत्रले सम्मान गरिने रेडियोको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

विक्रम सम्वत १९९५ सालमा पाल्पाको तानसेनमा जन्मिनुभएका, डाक्टर राणा ७६ वर्षको उमेरमा आज पर्यन्त पनि विरामीको सेवा गदैै आइरहनुभएको छ । मिठो बोल्ने र नरम स्वभावका डाक्टर राणा पोखराको न्यरोडस्थित पद्य नर्सिङ होममा कार्यरत हुनुहन्छ ।भारतको नैनीतालमा रहेको विरला विद्या मन्दिरबाट मेट्रिक पास गर्नुभएको राणाले सन १९६२ सालमा किंग जोर्जेज मेडिकल कलेजबाट एमबीबीएस गर्नुभएको हो ।

विक्रम सम्वत २०२० सालमा कलेरा अस्पताल (अहिलेको सरुवा रोग नियन्त्रण अस्पताल ) काठमाडौबाट सेवा प्रारम्भ गर्नुभएका राणाले भक्तपुर अस्पताल, पाटन अस्पताल, तेह्रथुम हेल्थ सेण्टर, स्वास्थ्य मन्त्रालय हुँदै २०२९ सालमा पोखरास्थित सोल्जरबोर्ड अस्पताल (अहिलेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ) मा सेवा आरम्भ गर्नुभयो । पोखरामा पोलिक्लीनिकको अवधारणा भित्र्याउने श्रेय पनि राणालाई जान्छ । ५२ सालमा पद्य नर्सिङहोम स्थापनासँगै १९ वर्षदेखि त्यहाँ आउने विरामीलाई उहाँले सेवा गर्दै आउनुभएको छ ।

मानवीय सम्वेदनालाई बुझेर काम गर्ने राणाले आर्थिक अभाव भएका विरामीलाई निशुल्क उपचार समेत गर्नुहुन्छ । स्वास्थ्यले साथ दिएसम्म विरामीको उपचारमा जुटिरहने दृढता डाक्टर राणाको छ । राणाका एक छोरा, एक छोरी हुनुुहन्छ भने उहाँकी धर्मपत्नी रेवा राणाको दुईवर्ष अघि नै निधन भएको थियो ।