सार्वजनिक यातायात समन्वय पत्रकारिता सम्मान बराललाई


राजाराम पौडेल/पोखरा ।
पत्रकार दीननाथ बराललाई सार्वजनिक यातायात समन्वय पत्रकारिता सम्मान–२०७२ बाट सम्मान गरिने भएको छ ।
गण्डकी धौलागिरि अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराको सम्पन्न पाँचौ अधिवेसनबाट निर्वाचित कार्यसमितिको बिहीबार हुने पदस्थापन समारोहमा उनलाई सम्मान गरिने भएको हो ।
पत्रकारिता माध्यमबाट यातायात क्षेत्रमा केन्द्रीत रहेर उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै उनलाई पहिलो पटक नगदसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिन लागिएको संस्थाका अध्यक्ष बसन्त प्रधानले बताए ।
रेडियो अन्नपूर्ण, कारोबार दैनिक तथा पोखरापत्रमा आबद्ध पत्रकार बराल एक दशक बढीदेखि पत्रकारितामा क्रियाशील छन् । उनले पाँच वर्षदेखि रेडियो अन्नपूर्ण ९३.४ मेघाहर्जमा ट्राफिक सचेतनामूलक ट्राफिक एक्सप्रेस कार्यक्रम पनि संचालन गर्दैआएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली संयोजक रहेको प्रतिभा छनौट समितिका सदस्यमा समन्वय समितिका अध्यक्ष बसन्त प्रधान, कृष्ण कोइराला, ऐनकुमार साही, गोकर्ण कार्की थिए।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया प्रमुख अतिथि रहेको पुरस्कार वितरण समारोह होटल बाराहीमा बेलुका साढे ४ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । सो अवसरमा संस्थाका पूर्वअध्यक्ष बाबुराम गिरी, क्षेत्रीय प्रशासन कार्यालयका सहायक प्रशासकीय अधिकृत रामजीप्रसाद कोइरालालगायत संस्थाको हित पु¥याउने विभिन्न व्यक्ति तथा संघसंस्थालाई समेत सम्मान गरिने जनाइएको छ । संस्थाको गत चैत २८ र २९ गते बन्दीपुरमा सम्पन्न आठौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेसनले तेस्रो कार्यकाल लागि पुनः प्रधानको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।