अन्तर्राष्ट्रिय अवार्ड जितेकी चेली इन्दिरा रानामगरलाई स्पेनमा सम्मान गरिने


बार्सिलोना/ पूर्वेली एकता समाज स्पेनले अन्तर्राष्ट्रिय स्तरको वल्ड चिल्ड्रन प्राईज अनरेरी अवार्डबाट सम्मानित नेपाली चेली इन्दिरा रानामगरलाई सम्मान गर्ने भएको छ।
‘प्रिजनर्स एसिस्टेन्स नेपाल’ संस्थाकी अध्यक्ष समेत रहेकी रानामगर बिभिन्न युनिभर्सिटीहरुमा अनुभवहरु साट्न स्पेन आउने क्रममा समाजले एक कार्यक्रम बीच सम्मान गर्न लागेको हो।

अहिलेसम्म जेलबाट करिव एक हजार भन्दा बढी बालबालिकाको उद्धार गरिसकेकी इन्दिरा बिगत २० बर्षदेखि नै बालबालिकाको संरक्षण,शिक्षा र पालनपोषणका लागि काम गर्दै आएकी हुन् । झापा स्थायी घर भएकी उनले बालबालिकाहरुको लागि स्कुल, बालगृह लगायत अन्य यूवा कार्यक्रम पनि सञ्चालन गर्दै आएकी छिन् ।

स्पेन स्थित नेपाली समुदायको बीचमा रानामगरका अनुभवहरुलाई प्रस्तुत गर्नको लागि पनि आगामी शुक्रबार कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिए।

स्पेनिस नागरिक ग्लोरिया र वरियल लगायत उनीहरुको परिवारले हालै स्थापना गरेको कलियु नेपाल नामक सस्थाको आमन्त्रणमा उनि स्पेन आएकी हुन् ।

रानामगरले स्पेनको बार्सिलोना, जिरोना,भ्यालेन्सियाका युनिभर्सिटीहरुमा पुगेर अन्तरक्रिया गरिसकेकी छन् भने लेईदामा अवस्थित बन्दी गृहमा गएर त्यहाँको अवलोकन समेत गरिन्।

अन्तर्राष्ट्रिय स्तरको अवार्ड जितीसकेकी उनी बार्सीलोनामा टेलिभिजन, रेडियो लगायत स्थानीय संचारमाध्यममा समेत अन्तरवार्तामा ब्यक्त बनेकी छिन्।

कार्यक्रम बारे पूर्ण बिबरण
मिति – २४ अप्रिल,शुक्रबार २०१५
समय – साँझ ५ बजे
स्थान – माउन्ट एभरेस्ट रेस्टुरेन्ट