शेर्पा संघयूरोपको ११ औ बैठक सम्पन्न, होल्याण्ड र साइप्रसबाट कार्य समितिमा मनोनित


शेर्पा संघ, यूरोपको ११ औं अनलाइन बैठक संघका अध्यक्ष श्री हेम शेर्पाको अध्यक्षतामा गत १२ अप्रिल २०१५ आइतवारको दिन सम्पन्न भएको छ ।सो बैठकले किदुग गठन नभएका यूरोपका विभिन्न देशहरुबाट संघको केन्द्रीय सदस्यमा मनोनयन गर्ने प्रावधान अनुसार साइप्रसबाट श्रीमती पेमा शेर्पालाई संघको केन्द्रीय सदस्य तथा साइप्रस संयोजकमा, होल्याण्डबाट संघका संस्थापक सदस्य श्री पासाङ तेम्बा शेर्पालाई केन्द्रीय सदस्य तथा होल्याण्ड संयोजकमा र होल्याण्डबाटै श्री पेम्बा शेर्पालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

त्यस्तै गरी शेर्पा संघ, यूरोपको आयोजना तथा शेर्पा किदुग, पोर्तुगलको व्यवस्थापनमा पोर्तुगलमा आसन्न सगरमाथा दिवस – २०१५ (Everest Day – 2015) को व्यवस्थापन समितिका संयोजक तथा संघका केन्द्रीय उपाध्यक्ष श्री पेम्बाले सो दिवसको तयारी बारे अपडेट गर्नु भएको थियो ।

जस अनुसार सो दिवस आगामी ३१ मे, २०१५ आइतवारको दिन मनाउने र नेपालबाट अतिथि कलाकार बोलाउन पर्याप्त समय नभएकाले स्थानीय कलाकारहरुको सहभागितामा साँस्कृतिक कार्यक्रम सहित शेर्पा वृद्ध मिलन केन्द्र र सगरमाथासँग सम्बन्धित डकुमेन्ट्री प्रदर्शन, स्वदेशी तथा विदेशी सगरमाथा आरोहीहरुलाई उपस्थित गराई उनीहरुको अनुभव शेयर लगायतका विविध कार्यक्रम राखी सबै देशका किदुगका अध्यक्षहरु र स्थानीय संघ/संस्थाका प्रतिनिधिनिधिहरुलाई अतिथिको रुपमा आमन्त्रण गरी वृहत रुपमा मनाउने भएको छ । स्मरण रहोस, सो दिवसबाट संकलित रकमबाट शेर्पा सेवा केन्द्रद्वारा निर्माणाधीन वृद्ध मिलन केन्द्र निर्माणमा सहयोग गर्ने संघको योजना रहेको छ ।

यूरोपका देशहरु मध्ये पोर्तुगलमा शेर्पा समुदायको दिनानुदिन बढ्दो चाप देखिएकोले र शेर्पा संघ, यूरोपको यूरोप केन्द्रित गतिविधि तथा कार्यक्रमहरुहरुमा विशेष प्राथमिकता दिने उद्देश्य मुताविक सो कोष वृद्धिको लागि संघले सहयोग गर्ने निर्णय सो बैठकले गरेको छ । जस अनुसार पोर्तुगल बाहेक अन्य देशहरुबाट प्रतिनिधित्व गर्नु हुने संघका पदाधिकारी, सदस्य, संरक्षक तथा सल्लाहकारहरु लगायत अन्य इच्छुक महानुभावहरुबाट संकलन गरी आगामी ३१ मे २०१५ को दिन सम्पन्न हुने सगरमाथा दिवसमा हस्तान्तरण गर्ने योजना रहेको छ ।

सो कोषको लागि संघका संस्थापक सदस्य श्री पासाङ तेम्बा शेर्पा(होल्याण्ड) ५०० यूरो, सल्लाहकार श्री पेम्बा गेल्बु शेर्पा(बेल्जियम) १०१ यूरो, अध्यक्ष श्री हेम शेर्पा(स्पेन) १०१ यूरो, महासचिव श्री कर्मा छिरिङ शेर्पा(बेलायत) ६० पाउण्ड, संरक्षक श्री सोनाम (ए.डी.) शेर्पा(बेल्जियम) ५५ यूरो, कोषाध्यक्ष श्री ङिमा ओङछु शेर्पा (जर्मनी) ५५ यूरो, सदस्य श्री दावा फिन्जो शेर्पा(बेल्जियम) ५१ यूरो, निवर्तमान अध्यक्ष श्री आङ कल्जाङ लामा (बेलायत) ५० यूरो र सचिव श्री ओङ्गेल शेर्पा(बेल्जियम) ५० यूरो गरी जम्मा ९६३ यूरो ६० पाउण्ड सोही दिनको बैठकमा संकलन भएको जानकारी प्राप्त भएको छ ।
संघको अघिल्लो बैठकको निर्णय अनुसार गरीब, अनाथ, असाहय तथा अपांग जेहेन्दार शेर्पा विद्यार्थीहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले शेर्पा संघ, यूरोपद्वारा स्थापित रु. ५ लाखको अक्षय कोषलाई वृद्धि गरेर ७ लाख बनाउन संघका कोषाध्यक्ष तथा अक्षय कोष संचालक समिति सदस्य श्री ङिमा ओङछु शेर्पाले जर्मनीबाट ६०० यूरो संकलन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । त्यसै गरी सो बैठकले संघका सचिव श्री ओङ्गेल शेर्पालाई अक्षय कोष संचालक समिति सदस्यमा मनोनित गर्नुका साथै सो अक्षय कोष नियमावलीका केही बुंदाहरुमा संशोधन गरेको छ ।

संघका महासचिव श्री कर्मा छिरिङ शेर्पाद्वारा संचालित सो बैठकले शेर्पा भाषा, कला, संस्कृति जगेर्णा गर्ने उद्देश्यले संघको आयोजनामा वृहत प्रतियोगितात्मक यूरोप स्तरीय शेर्पा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। जसको लागि आवश्यक गृह कार्य सहित संघको १२ औं अनलाइन बैठकमा व्यापक छलफल गरी मिति तथा स्थान तय गर्ने र प्रतियोगिताको लागि विधा निर्धारण गर्ने जनाएको छ।