दोस्रो मिस्टर कास्कीको उपाधि मनोज केसीलाई


दोस्रो मिस्टर कास्कीको उपाधि मनोज केसीलाई तस्विर राजाराम पौडेल

राजाराम पौडेल÷पोखरा
पोखरामा सम्पन्न कास्की जिल्लास्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०७१ दोस्रो मिस्टर कास्कीको उपाधि मनोज केसीले जितेका छन् । प्रतियोगिताको ओभरअलमा रत्नश्री जिम सेन्टरका ६० केजी तौलसमूहका मनोज केसी दोस्रो मिस्टर कास्की बने । प्रत्येक तौलसमूहमा प्रथम हुनेहरूबीच गराइएको प्रतियोगितामा केसी दोस्रो मिस्टर कास्की घोषित भएका हुन् ।
उनलाई सभासद् यज्ञबहादुर थापा र कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा रत्नश्री जिम सेन्टरकै राजेश श्रेष्ठ बेस्ट पोजर घोषित भए। म्युजिकल राउण्ड र अन्तर्राष्ट्रिय सेभेन पोजका आधारमा प्रत्येक समूहमा विजेता खेलाडी घोषणा गरिएको थियो।जसअनुसार ५५ केजी तौल समूहमा रत्नश्री जिम सेन्टरका दिनेश जोशी प्रथम, बुल्स जिमका देव जोशी द्वितीय र रत्नश्री जिमका अनुप अधिकारी तृतीय भए ।
६० केजी तौलसमूहमा रत्नश्री जिम सेन्टरका मनोज केसी प्रथम, रत्नश्री जिम सेन्टरकै बेगमबहादुर सोमै द्वितीय र बुल्स जिमका धनबहादुर झाँक्रीमगर तृतीय भए । ६५ केजी तौलसमूहमा पोखरा व्यायामशालाका राजकुमार सुनार प्रथम, बुल्स जिम सेन्टरका जीवन थापामगर द्वितीय र बुल्स जिम सेन्टरकै सरोज क्षत्री तृतीय भए । ७० केजी तौलसमूहमा माछापुच्छ«े जिम सेन्टरका किस्मत थापामगर प्रथम, पावर जिम सेन्टरका सुजन श्रेष्ठ द्वितीय र बुल्स जिम सेन्टरका विर्खबहादुर राई तृतीय भए ।
७५ केजी तौलसमूहमा रुत्नश्री जिम सेन्टरका रमेश श्रेष्ठ प्रथम, बुल्स जिमका रविन गुरुङ द्वितीय र रत्नश्री जिम सेन्टरका भोजराज चौधरी तृतीय भए । ७५ केजीमाथि पावर जिम सेन्टरका राजेश सुवा प्रथम, पावर जिम सेन्टरकै रमेश विक द्वितीय र गण्डकी जिम सेन्टरका बलबहादुर गैरे तृतीय भए।प्रत्येक तौल समूहमा क्रमशः प्रथम हुनेले जनही नगद पाँच हजार, द्वितीय हुनेले नगद तीन हजार र तृतीय हुनेले नगद दुई हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । विभिन्न छ वटा तैल समूहमा पोखरामा सञ्चालित विभिन्न जिम सेन्टरका ३५ जना खेलाडीको सहभागिता रहेको थियो ।