फेवा नव वर्ष महोत्सव सुरु


– राजाराम पौडेल

पोखरा/ फेवा तालको किनारा बसुन्धरा पार्कमा शनिबारबाट १२ औं फेवा नव वर्ष महोत्सव २०७२ सुरु भएको छ ।

विभिन्न जातजातिका झाँकी, बाजागाजा र नाचगानका साथ महोत्सव सुरु भएको हो । महोत्सवको पश्चिमाञ्चलका क्षेत्रिय प्रसाशक दिनेशकुमार थपलियाले उद्घाटन गरेका थिए ।

पोखरामा हुँदै आएका मेला र महोत्सवले यहाँको पर्यटकीय तथा आर्थिक विकासमा टेवा पुर्याउने विश्वास उनले सो अवसरमा व्यक्त गरे ।

नेपाली संस्कृति र फेवा तालको संरक्षण गर्ने उद्धेश्यका साथ पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यो महोत्सव सुरु भएको हो ।

महोत्सवमा कूल ६० वटा स्टलहरु समेटिएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । सो अवसरमा बोल्दै उनले नेपाल भौगोलिक र प्राकृतिक रुपमा सुन्दर रहेको बताउँदै देशको आर्थिक र पर्यटकीय विकासका लागि यस्तो पक्ष निकै सहयोगी हुने भनाई राखे । महोत्सवमा कूल एक लाख पर्यटक आउने महोत्सवका संयोजक लक्ष्मण सुबेदीले जानकारी दिए । महोत्सवकै अवसरमा नयाँ वर्ष मनाउन पर्यटक पोखरामा आएको पनि उनले सुनाए ।

कार्यक्रममा सभासद रविन्द्र अधिकारी, पूर्व सभासद शुक्रराज शर्मा, संघका सल्लाहकार विश्वशंकर पालिखे, संघका प्रथम उपाध्यक्ष विकल तुलाचन, टान पोखराका अध्यक्ष रामचन्द्र शर्मा, नाट्टा पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठ, रेवान पोखराका अध्यक्ष गोपिवहादुर भट्टराई र खहरे आमा समूहकी अध्यक्ष नानिमाया सिग्देलले आफ्ना भनाई राखेका थिए ।

यसअघि हल्लनचोकबाट सुरु भएको झाँकी सहितको र्याली बसुन्धरा पार्कमा पुगेको थियो । झाँकीमा नेपाल मगर संघ प्रथम, बाँझापाटन तमु समाज दोश्रो र खहरे आमा समूह तेश्रो भएका थिए । उनीहरुले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाए । महोत्सवको उद्घाटन कार्यक्रम पछि कलाकारहरु अमर धिताल, टेकबहादुर क्षत्री, सरला पाण्डे, ज्योति लोहनी, निषा पोखरेल, कुशुम क्षत्री लगायतको प्रस्तुती समावेश गरिएको गायक प्रजापति पराजुलीले जानकारी दिए ।

२९ गते भने बद्रि पंगेनी, टेकवहादुर क्षत्री, बद्रि पराजुली, सम्झना लामिछाने मगर, रतिमाया खड्का, चन्द्रा कार्की, लक्ष्मी सुबेदी र मनोज गजुरेलका प्रस्तुती समावेश हुने उनले सुनाए ।

महोत्सव अन्तर्गत आइतबार विहान संस्थागत डुंगा दौड, नाचगानका कार्यक्रम, भजन चु्ड्का, लोकदोहोरीका कार्यक्रम, आमा समूहको नृत्य, हाँश्यव्यंग्यका कार्यक्रम र लाइभ ब्याण्डको प्रस्तुती पनि रहने संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव वैशाख २ गतेसम्म चल्ने छ ।