सि.डी.विजयले ‘प्रिति–२’ लिएर आउदै


राजाराम पौडेल /

पोखरा झण्डै दुई वर्ष दुबईमा रहेर आफ्नो प्रस्तुती मार्फत विदेशमा रहेका नेपाली र र विदेशी संगितप्रेमीको मन जितेका पोखरेली गायक सि.डि.विजय अधिकारी पुनः स्वेदेश फर्की साँगीतिक यात्रालाई अगाडि बढाउन खोज्दैछन् ।

सुमधुर आवजका धनी अधिकारीको आवाज अब केहि दिनमा बजारमा आउने  ‘प्रिति–२’ आधुनीक गीती एल्बममा सुन्न सकिने छ ।

राकेश काफ्लेको रचना र लगानीमा आउन लागको यस एल्बममा पक्कै अब, बबाल भो, तोडेर नाता, नआउँ भो, छाडि हिड्यौ र १६ वर्ष पुगी १७ बोलका गीत समावेश हुने अधिकारीले जानकारी दिएका छन् । एल्बममा समावेश पाँच गीतमा अधिकारीको आवाज रहेपनि ‘१६ वर्ष पुगी १७’ बोलको गीतमा मनिषा राईको आवाज  सुन्न सकिने उनले जनाए ।

एल्बममा समावेश आफ्नो आवाजमा रहेका पाँचवटै गीतबाट श्रोतालाई फरकपनको महशुस गराउन आफु सफल हुने उनको दावी छ । ‘पाँचवटै गीतमा फरकपनको आभास श्रोतालाई गराउने प्रयास गरेको छु’ उनी अगाडी थप्छन्  ‘सबै गीतलाई उत्कृष्ट बनाउन आफुले सकेको मेहनत गरेकोले पक्कै श्रोताको मन जित्नेछु ।’

Screen Shot 2015-04-11 at 16.25.39

एल्बममा  समाबेश गीतमा राजु कार्की, बसन्त सापकोटा, फुर्वा घिसिङ, मनोज ढकाल, कृष्ण ढकाल र उमेश सुब्बाको संगित रहने छ । एल्बमका लगानीकर्ता एवं गीतकार काफ्ले पोखराको मदरल्याण्ड उच्च मावीका पूर्व शिक्षक हुन् ।

हाल उनी अमेरिकामा छन् ।  एल्बममा समावेश ‘पक्कै अब’ बोलको गीतको म्युजिक भिडियो केहि दिनमानै निमार्ण गर्ने र अन्य बाँकी गीतको पनि क्रमीक रुपमा म्युजिक भिडियो निर्माण गर्ने तयारी गरेको अधिकारीले बताए ।

साँगीतिक क्षेत्रमा स्थापीत हुन र अबसर प्राप्त गर्न राजधानीमानै बसेर सर्घष गर्नुपर्ने बाध्यता रहेको उनको दुखेसो छ । आफुमा निखारता प्रदान गर्न संगितका ज्ञाता चण्डीराज काफ्ले सँग संगित सिक्दै गरेका उनले  ५० भन्दा बढि गीतमा आफ्नो आवाज भरिसकेका छन् ।

त्यसो त दश कक्षा पढ्दा देखि संगीत सिक्न शुरु गरेका उनले पोखराको त्रिवेणी संगीतालय र जोजीजु म्युजिक सेन्टर रानीपौवामा संगित सिकी आफुमा निखारता बढाएका थिए ।

रियालिटि सो खोजि प्रतिभाको–२ मा गायन तर्फ उनी उपविजेता बने पछि पहिलो एल्बम प्रिति बजारमा ल्याएका अधिकारीको चर्चा नेपाली साँगीतिक फाँटमा बढेको थियो ।
लाहाचोक–५ कास्कीमा बुबा चन्द्रकान्त र आमा दुर्गादेवी अधिकारीको  पहिलो सन्तानको रुपमा जन्मिएका अधिकारी बाल्यकालमा पढाइमा तेज थिए । सानैदेखि संगीतप्रति रुचि राख्ने उनले गाँउमा हुने तथा स्कुलमा हुने विभिन्न प्रतियोगीतामा भाग लिई पुरस्कार समेत जितेका थिए ।

यसले उनलाई साँगीतिक क्षेत्रमा अगाडी बढ्न हौसला मिल्न पुग्यो । जब २०५९ मा लाचोकबाट उनी पोखराको मदरल्याण्ड उच्च मा वी मा भर्ना भए त्यस लगत्तै उनको साँगीतिक यात्रा उचाइमा पुग्यो । विभिन्न गीतमा आवाज भर्ने अवसर उनलाई मिल्यो भने उनको सक्रियता समेत बढ्न पुग्यो ।

पोखराको पृथ्वीनारायण क्याम्पसको स्वर्णजयन्तीका अवसरमा आयोजित सांगीतिक प्रतियोगीतामा भाग लिई पहिलो पिएनसी आइडल बन्न सफल उनी विग आइकन २०६६ मा उपबिजेता भएका थिए ।

लेखनाथ महोत्सव को गण्डकी तारामा उत्कृष्ट ४, मातृभुमी तारा २०६२, अन्नपुर्ण अवार्ड २०६६ उदयमान पोखरेली प्रतिभा लगायतका उपाधी र पुरस्कार  समेत उनले जितिसकेका छन् । हुनत नेपाल टेलिभिजन बाट प्रसारीत एशिएन प्रेन्टस खोजी प्रतिभाको–२ मा उपविजेता बनेपछि उनको चर्चा देश विदेशमानै हुन पुगेको थियो ।

औपचारीक रुपमा २०६० सालमा ‘उस्तै आँखा’ बोलको बालगीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका थिए जुन गीत ‘आभाष’ नामक बालगितको एल्बममा सुन्न सकिन्छ । नमस्ते पोखरा डिजिटल रेर्कडिङ्ग स्टुडियो पोखराको प्रस्तुती बालगीतहरुको संगालो ‘मातृभुमीका फुलहरु’, गण्डकी तारा टप टेन एल्बम विविध–२०६५ मा समेत उनको आवाज सुन्न सकिन्थ्यो ।

यहि एल्बमको ‘हाँसुभन्दा पनि यो ओठबाट’ गितले अन्नपुर्ण अर्वाड जितेका हुन् । २०६८ सालमा मेरो मन एल्बमको ‘दिन्न दोष कसैलाई’ नामक गीतमा उनले आवाज भरेका थिए । कार्यक्रमको शिलशिलामा पोखरा, काठमाण्डौ, पर्वत, तनहुँ लगायतको ठाउँमा पुगी सकेका उनी दुवई र भारत पनि पुगीसकेका छन् ।

लोक लयका गीत, पप गीत, सुगम संगीत सबैमा अब्बल छन् उनी । निरन्तर साँगीतिक क्षेत्रमा लागि आफ्नो बेग्लै पहिचान बनाउन सर्घर्ष गरीरहेकी बताउने उनले नेपालका  थुपै्र साँगीतिक कार्यक्रममा सहभागीता जनाई आफ्नो प्रतिभा प्रस्तुत गरीसकेका छन् । पोखरा बसाइका क्रममा केहि समय फेवा दोहोरी साँझमा आफ्नो प्रस्तुती राख्दै संगित पारखीको साँगीतिक तृष्णा मेटाएका थिए ।

नवोदीत कलाकारलाई यो क्षेत्रमा आउनु अगाडी नै सोच विचार गरी आउन आग्रह गर्दै केहि पाउन केहि गुमाउनु पर्छ भन्ने कुरा नभुल्न सल्लाह उनी दिन्छन् । हाल एल्बम विक्रि शुन्य भएकोले कलाकारलाई अगाडी बढ्न गाहे भएको बताउँछन् ।

‘अहिले गीतको भिजुल बनाउनु पर्ने अनिवार्यताले लगानी बढेको छ, तर एल्बम विक्रि हुदैन, भैहालेपनि रोयल्टी नपाउने समस्याले गर्दा संगीतकर्मीलाई निकै असजिलो भएको छ’ उनी अगाडी थप्छन् ‘नाम चलेका विभिन्न सांगीतिक कार्यक्रमको लागि विदेश जानेहरुको लागी ठिक भएपनि लगानी गर्न असक्षम कलाकारलाई निकै अप्ठ्यारो परेको छ’ ।