पानी र लेउ खाएर बाचे – अपाङ्ग साईकल यात्री कालिका प्रसाद भण्डारी


बसन्त रानाभाट
बार्सिलोना/
जन्मदा साधारण थिए हिड्ने डुल्ने खेल्ने अरु सामान्य बालबच्चा जस्तै हासी खुशीका साथ जिन्दगी बितिरहेको थियो। बि.स, २०३१ साल तिरको सम्झना गर्दा बाहिर झरी परिरहेको याद छ। पिढीमा राखिएका काठहरु त्यस माथि ढुंगाका छपनी ,बालापनको भाडाकुटी चलीरहेको थियो तर एक्कासी पिढी भत्कदा तिनै काठ र छपनीहरु अभिसाप बने।

देब्रे खुट्टा च्यापियो त्यति बेला अस्पतालमा डाक्टरहरु थिए तर स्रोत र साधन थिएन। दाई नेपाल आर्मीमा हुनु हुन्थ्यो अलि अलि खर्च जुटाएर घटना भएको २ बर्ष पछि मात्र बिर अस्पतालमा गएर मेरो खुट्टामा प्लास्टर लगाईयो। तत्कालै अप्रेशन गर्न पाएको भए अबस्था सामान्य हुन सक्थ्यो होला तर मेरो जीबन त्यो अबस्थामा फर्कन सकेन। देब्रे खुट्टाले पूर्ण रुपमा टेक्न नमिल्ने भयो।

११ बर्ष को उमेरमा मेरो जीवन बैशाखीबाट शुरु भयो। बाबुआमाको प्रेरेणाले मैले पढ्ने हिम्मत गरे। स्कुलमा मलाई धेरै गिजाउथे। म वर देखि जादै छु भने पर देखि नै हेर्ने भिड हुन्थ्यो। पेन्सन आयो पेन्सन भन्थे अर्थ पछि बुझ्दै जादा लडाईमा लडेका सिपाही घाईते भए पछि पेन्सन आउने हुदा पेन्सन वला भनिएको रहेछ। गाउमा बुझ्ने बुढा पाकाहरुले नै गिजाउन थाले पछि संगै पढ्ने साथीहरुको के नै कुरा गर्ने ? स्कुलमा अपमानित नभएको र दुखी नभएको साहेद दिन थिएन होला। तर पढ्ने हिम्मत छोडिन एसएलसी पास गरे। एसएलसीको सम्मको मात्र यात्रा हैन बि.स. २०६० मा मैले बिए पास गरे तर पढाईको यात्रा बिबिध कारणले पूर्ण बिराम लाग्यो।

पहिले पहिले अपाङ्गलाई हेर्ने सोच र बिचार फरक थियो। त्यस्तो परिवेशमा आफ्नो जीवनलाई गुजारेको म ,आफु जस्तै अन्य अपाङ्गलाई भोग्न नपरोस् भन्नाका खातिर १७ बर्षको लामो जीवन त्यस्तै संघ सस्थामा बिताए। पारा ओलम्पिक कमिटी,रास्ट्रिय अपाङ्ग महासंघ,अपाङ्ग सेवा केन्द्र,समाज कल्याण परिषद लगायतका संघ सस्थामा लागेर जीवन गुजार्दा कम्तिमा आफुले संघर्ष गरेर पढेकोमा गर्व लाग्दछ।

सन् १९९८ मा जस्तो लाग्छ अमेरिकन नागरिक टम हुईटेकरलाई आफैले काम गर्ने सस्था पारा ओलम्पिक कमिटीले सम्मान गर्यो। उनिलाई सगरमाथा सफल आरोहण गरेको सम्मान गरिएको थियो। तर उनि साधारण थिएनन् सफल आरोहण गर्ने पहिलो अपाङ्ग ब्यक्ति थिए । मेरो जिन्दगीले उनलाई देखे पछि नयाँ मोड लियो। अपाङ्ग भएर पनि आट गरे जे कुरा पनि सम्भब छ भन्ने प्रेरेणा मिल्यो।

म आफु पनि सगरमाथा चढु जस्तो आट आयो साहेद त्यो बेला प्रयाप्त स्रोत साधन र पैसा भएको भए चुचुरो चुम्ने आट गर्थे पनि होला तर आफु सँग पैसा थिएन। केहि त गरु भन्ने लाग्दथ्यो साईकल चलाउछु भन्ने हिम्मत गरे र बिश्व यात्रामा निस्कने फैसला लिए।

अपाङ्ग भएर पनि हिम्मत र आट गर्दै बिश्व साईकल यात्राको क्रममा स्पेन आईपुगेका कालिका प्रसाद भण्डारीले नेपालीनेपाली डटकम सँगको बिशेष कुराकानीमा आफ्नो मनको बहलाई यसरी पोखे। तनहु पुर्कोर्ट गाविस- १ स्थायी घर भएका ४७ बर्षिय भण्डारीले आफ्नो जीवन कहानीलाई यही अन्त्य गरेनन्। ४ बर्ष सम्मको आफ्नो यात्राका क्षणलाई धाराप्रबाह रुपमा पोख्दै गए।

मेरो आफ्नो साईकलबाट गरेको पहिलो यात्रा भारतको थियो। पाकिस्तान,श्रीलंका,माल्दिस,बंगलादेश,बर्मा,थाइल्याण्ड, सिङ्गापुर,फिलिपिन्स लगायतका मुलुकहरुमा मैले सफल यात्रा गरे। जंगलको बाटो हुदै जादा साह्रै गाह्रो हुने रहेछ। बाटोमा कोही भेटेर सोध्यो भने पनि राम्रो र असल मान्छे मात्र कहा भेटिन्छ र ? बंगलादेशको एउटा यस्तै घटनाको सम्झना छ। बाटो देखाउछु भनेर भन्यो र म उही मान्छेको पछि पछि लागे।

तर उसको पिछा गर्दै जादा नदीको किनार तिर लान थाल्यो, मलाई शंका लाग्यो र मोटर आईरहेको बेला उसको आखा छले। एउटा क्याप जस्तो ठाउमा डराई डराई पुगे पुलिस स्टेशन रहेछ भाग्यले बाचे। त्यही पुलिसको साहारमा लुट्नबाट जोगिए र मेरो उद्दार उनीहरुले नै गरिदिए।

तर मेरो यात्रामा कोही पुलिस भगवान बनेर आए त कोही लुटेरा। कहिँ मलाई लुट्न बाट जोगाए त कहिँ उनिहरुबाट नै लुटिए। अफ्रिकी मुलुक केन्याको अर्को एउटा घटना सुनाउछू। होटलमा बसेको थिए,होटेलको छत बाट हिन्दु मन्दिर जस्तो देखे। हतपत ओर्लेर मन्दिर देखिएको ठाउ तिर प्रस्थान गरे र भेटे पनि। भारतीय हरु रहेछन् हिन्दीमा कुरा गरे। मन्दिरका महाराजाले यतै आश्रय लिन अनुरोध गरे मैले खोजेको पनि त्यस्तै थियो। जंगलको बास बस्ने मलाई मन्दिर त बंगाला नै भयो मन निकै खुशी थियो।

उनले होटलबाट सामान ल्याउनको लागि अरुलाई नै अह्राए र मलाई खाना खान पठाए। म यसो बाहिर मात्र के निस्केको थिए, पुलिस हु भन्दै डकुमेन्ट माग्यो। मैले सोधे पुलिस हु भनेर कार्ड देखाउदैमा कसरी पत्ताउने भने पछि पेस्तोल र हतगडी पनि देखायो। भाषा संबादमा निकै कठिनाई पनि भयो तर उसले जालजेल गरी पासपोर्ट पनि लियो।

पैसा माग्यो तर दीईन फेरि पेस्तोलको बलमा मलाई लुट्यो। केन्याको मुद्रा ७ हजार जति थियो ५ सय बाकि राखेर अरु सबै लियो फेरि पासपोर्ट फिर्ता पनि दिदैंन। मैले चिच्चाउन शुरु गरे पछि फिर्ता गर्यो। पछि फर्केर नहेर है भन्दै मलाई छोडिदियो। मन्दिरका महाराजालाई सबै सुनाए तर पुलिसको नाम आईडी केहि थाहा नभएकोले केहि गर्न सकिएन।

जिन्दगी नै हो कतै अरुले दुख दिएका छन् त कतै आफ्नै स्वास्थ कमजोर हुदा पनि थलिएको छु। चाईना घटना पनि बिर्सन लायक नै छ। जंगलको बीचमा दुई दिन सम्म हल्ली न चल्ली भए। पखलाले थलिए,नदीको पानिले भोक मेटाए केहि सिप लागेन लेउ खाए अलि तागत आए जस्तो भयो । टेण्डको मुनि बसीरहेको बेला बादरहरु आउने गर्थे टुलुटुलु हेरेर फर्कन्थे तर पनि कोहि आए जस्तो भने हुने रहेछ। जीन्दगीमा कसै न कसैको साथ त चाहिन्छ नै भन्ने यो बादर घटनाले पनि अनुभब हुन्छ । पछि गएर बिस्तारै बिस्तारै ठिक भए, कमजोर बनेको मेरो शरीर, त्यही एउटा खुट्टाको पाउदल हान्ने आटले मरेको जीन्दगी बच्यो।

प्रबासी नेपालीहरुको सहयोगले नै मेरो यात्रा र अभियान जारी छ। धेरै ठाउबाट नेपालीहरुको सहयोग पाएको छु। तर कतिपय देशमा त एक जना नेपाली पनि भेटिन। केन्या, जर्जिया र टर्कीमा त कोहि नेपाली सँग पनि सम्पर्क भएन बुल्गेरिया एक नेपाली भेटीए तर म सँग उल्टै झगडा गरे। शरणार्थी बन्न आएको होस् धेरै नाटक नगर भनेर अपमान गर्न पनि भ्याए।

मेरो अबको यात्राको केहि समय युरोपमा नै केन्द्रित हुनेछ। म एक अपाङ्ग नेपाली, “अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार र बिश्व शान्ती” अभियान नै मेरो यात्राको उदेश्य हो। युरोप बासि नेपाली समुदायको सहयोगको अपेक्षा गर्दछु। अब त स्वास्थ्य पनि त्यति राम्रो छैन अहिले ग्यास्टिकको समस्या छ,यात्रामा खाना समयमा खान पाईदैन। तर मेरो जोश ,जागर र उत्साहमा कुनै समस्या छैन त्यसैले मेरो यात्रामा बिराम लागेको छैन । अबको केहि दिनको यात्रा फ्रान्स तिरको हुने छ।

लाग्दछ अब करिब ३ बर्ष जतिको यात्रा गर्नेछु । युरोपमा सबै देश सके पछि १०० मुलुकको भ्रमण सकेर एन्टाटिकाबाट यात्रा टुंगाउने ईच्छा छ। साईकल यात्रा सकिए पछि अपाङ्गता भएका ब्यक्तिहरुको लागी एउटा केन्द्र संचालन गर्ने पाए हुन्थो जस्तो लाग्दछ। भाग्यमा जुरेको रहेछ भने त्यसमा नै समाहित भएर वाकी जीवन गुजार्ने छु।