गगन थापा पहिचान विरोधी हैनन्


प्रकाश ढकाल

अस्ति मात्रै नेपाली कांग्रेसको भात्री संगठन जनसम्पर्क समिति पोर्चुगलको अधिवेशनमा प्रमुख अतिथि तथा शुभकामना दिने व्यक्तिका रुपमा नेपालबाट आएका नेपाली कांग्रेसका युवा नेता गगन थापालाइ अधिवेशनस्थलमै कालो झण्डा देखाइयो । उनलाई पहिचान विरोधी भन्दै कालो झण्डा देखाइएको थियो । कालो झन्डा देखाउनेहरुमा माओवादी, वैध माओवादी, केहि चन्द माओवादी तथा अशोक राइको संघीय सदभावना पार्टीका समर्थकहरु रहेका थिए । सामान्यतया राजनीतिक पार्टी तथा यसका भात्री संगठनहरुको यस्तो प्रकारको कार्यक्रममा त्यसप्रति आस्था राख्नेहरु मात्र गएका हुन्छन अन्य पार्टी समर्थकलाइ बोलाइएको हुँदैन तर त्यहाँ नबोलाइएका अनि अन्य पार्टीप्रति आस्था राख्नेहरु जवर्जस्ती अधिवेशनस्थल छिरेर अर्काको मंच प्रयोग गरि कालो झण्डा देखाउनु केवल रमिते बन्नु मात्र हो । बरु कालो झण्डा देखाउनु नै थियो भने गगन थापा र धनराज गुरुङ पोर्चुगलको लोस्बोन एयरपोर्टमा उत्रेको बखत देखाएको भए बरु बहादुरी हुन्थ्यो होला ।

के गगन थापा पहिचान विरोधी हुन् त ? यहाँ प्रचार गरिए जस्तो उनि पहिचान विरोधी हैनन् न त धनराज गुरुङ नै हुन् । धनराज गुरुङ त झन् पहिचान खोज्ने जनजाती नेता हुन् । यो अवस्थामा पहिचान विरोधी भन्दै आरोप लगाएर कालो झण्डा देखाउनु कत्ति पनि मेल खाँदैन । यस पंक्तिकारले गगन थापालाइ चिनेकै भरमा र बुझेकै भरमा यी कुराहरु भनिरहेको पक्कै पनि हैन यसका पछाडी केही दावा र तर्कहरु छन् ।

गगन थापाको उदय तात्कालिन जानेन्द्रको तानाशाही विरुद्धको आन्दोलनबाट भएको हो उनको उदय यसरी भएको छ कि उनलाई पहिचान विरोधीको आरोप लगाउनै सकिंदैन । उनि आँफै पनि आफनै पार्टीभित्र बाटै अनेक आरोप झेल्दै र त्यसको विरुद्ध पार्टीभित्रै लड्दै भिड्दै लामो राजनीतिक यात्रा पार गैर यहाँसम्म आइ पुगेका व्यक्ति हुन् । उनको आफ्नै अडान छ र आफ्नै नेतृत्वले भन्यो भन्दैमा आँखा चिम्लेर समर्थन गर्ने नेतामा उनि पर्दैनन् । नेतृत्वको विकास दुई किसिमले हुन्छ अर्थात यात नेता बन्छन यात बनाइन्छन । नेता हुनु र बन्नुमा धेरै फरक हुन्छ । गगन थापा युवा अवस्था देखि नै नेपाली माटोमा भिजेर बनेका नेता हुन् । नेतृत्वको पिछलग्गु बनेर नेतृत्वमा पुग्ने उनको इच्छा हुन्थ्यो भने आज उनि गगन थापा हुने पनि थिएनन । फरक यहीं छ । जो व्यक्ति आफनो इमान, इमान्दारिता र विवेकले राजनीतिक यात्रामा होमिन्छन तीनले एक देशको भूगोल भित्र रहेका जनतालाई पनि राम्रोसंग बुझ्ने गर्दछन भने ती व्यक्ति कसरी पहिचान विरोधी हुन्छन ?

जतिबेला नेपाली कांग्रेस गणतन्त्रमा जाने कि नजाने वा राजतन्त्रलाइ नै मानेर जाने भन्ने ढुलमुलको स्थितिमा थियो त्यतिबेला उनले चलिरहेको आफनो राजनीतिलाइ दाउमा राखेर कांग्रेस गणतन्त्रमा जानु पर्छ भनेर नेतृत्वलाइ चुनौती दिएको व्यक्ति कसरी पहिचान विरोधी हुन्छ ? गणतन्त्र नेपालले नै नेपालको भूगोल भित्र अटेका विभिन्न जात, जाती, जनजाती सबैको हक अधिकार र पहिचानलाई सुनिचित गर्न सक्छ भन्ने मान्यता अनुरुप गणतन्त्रको पक्षमा आवाज उठाएका हुन् । आज पनि उनले बोल्ने कार्यक्रमहरुमा तथा उनले व्यक्त गर्ने विचारहरुमा कहीं कतै पहिचान विरोधी भएको आभास सम्म पाइंदैन भने उनि व्यक्ति स्वयम् कसरी पहिचान विरोधी हुन्छ ? उनलाई सुन्न सक्ने र बुझ्न सक्ने विपक्षीहरुले पनि उनलाई पहिचान विरोधी हो भनेर भन्न सकेका छैनन । उनको स्पस्ट विचार छ पहिचान भनेको एउतै भूगोल भित्र पनि सबै जातजाती र जनजाती अटाउन सक्ने व्यवस्था हो र संघियता मार्फत यसको सम्बोधन गर्न सकिन्छ । यो कुराहरु भन्दै आएको व्यक्ति कसरी पहिचान विरोधी हुन्छ ?
अहिले पनि उनि दैनिक १० देखि १२ घण्टा धुवाँ, धुलो, झरी वर्षाको पर्वाह नगरी मेची देखि महाकाली धाउँछन् । राजनीतिलाई पेशा हैन एउटा तपस्या बनाएका छन् र उनि ठान्छन यो तपस्यामा आफु कत्तिको अब्बल ठहरिने र देशका सिमान्तकृत तथा पिछडिएको वर्गलाई कसरी समावेशीमा सामेल गराउन सकिन्छ भनेर अहोरात्र विमर्श गर्ने व्यक्ति कसरी पहिचान विरोधी हुन्छ ?

हामीले सतही रुपमा व्याख्या र विश्लेषण गर्दा सहि गर्यौं कि गलत त्यो छुट्याउन सक्ने तागत पनि राख्न सक्नु पर्छ । उनिप्रतिको गलत विश्लेषण गर्दैगर्दा यी होनाहार र प्रचुर सम्भावना बोकेका युवाको उर्जाप्रती र भविष्यमा यिनले डेलिवर गर्न सक्ने सम्भावना प्रति हामी चनाखो हुने कि नहुने ? उनीप्रति लगाइएको आरोप उचित हो कि अनुचित भनेर आरोप लगाउनेहरुले नै मनन गरौँ । उनलाई आरोप लगाउनु भन्दा अगाडी उनि सदस्य रहेको संसदीय समिति संवाद समितिमा उनले संविधान निर्माणका सवालमा निर्वाह गरेको भूमिका तर्फ पनि हेर्ने गरौँ । उनि सदस्य रहेको समितिले तयार पारेका प्रश्नावलीहरुमा कतै पनि पहिचान विरोधी भएको आभास पाइंदैन । उनलेत झन् दलित, पिडित, उत्पीडित, शोषित, जनजातीका पक्षमा आवाज उठाउँदै कयौंपटक संविधानसभामा सबैको ध्यानाकर्षण गराउने व्यक्ति हुन् भने उनि कसरी पहिचान विरोधी हुन्छन ?

नेपाललाई चार जात छत्तिस वर्णको फुलबारी भनिदै आए पनि त्यो परिमार्जन हुनु पर्छ र विविधताले भरिएको हाम्रो देश सबैको प्रतिनिधित्व र सहभागिता भयो भने मात्र असली पहिचान सहितको नेपाल बन्दछ भन्ने विचार राख्ने मात्र नभई त्यसलाई कार्यन्वयनको पक्षमा लैजाने व्यक्ति हुन् गगन थापा । उनले बोलेको एउटा पनि शब्द छैन र गरेको एउटा पनि कार्य छैन जुनले उनलाई पहिचान विरोधी सावित गर्न सकोस त्यसकारण गगन थापा पहिचान विरोधी हैनन आरोप लगाउनु भन्दा पहिला त्यसलाई पुष्टि गर्न सकौं ।