स्पेनमा नेपाली राजदुताबास किन ?


-बसन्त रानाभाट

स्पेनमा नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ। अन्य युरोपियन मुलुकमा भन्दा बैधानिक रुपमा कागज पाउन ( रेसिडेन्सी) सजिलो भएकोले पनि नेपालीहरुको आकर्षण थलो बनेको हो। अर्को तर्फ कागज प्राप्त गरिसकेकाहरुले परिबारलाई पनि आफुसँगै राख्न पाउने हुदा नेपाल छोडेर यता बस्ने क्रम बढ्दो छ । बैधानिक रुपमा रहने अधिकार पाईसकेकाहरु आफ्नो परिबार सहित यतै बस्ने थाले पछि नेपालीहरुको संख्या बढ्दै जानु स्वभाबिक पनि हो। नेपालीहरुको बाक्लो बसाई रहेका बार्सिलोना,पाईस भास्को,कमुनिदाद भालेन्सियाना,ग्रान क्यानारिया (क्यानारियन टापु),मड्रिड,मायोर्का,मालागा लगायतका शहरहरुमा गरि करिब ८ हजार नेपालीहरुको बसाई रहेको अनुमान छ । तर राजदुताबास नभएकै कारण स्पेनबासी नेपालीहरुले धेरै सास्ती खेपेका छन्।

राजदूताबास नहुदा स्पेनलाई पनि फ्रान्सस्थित नेपाली दुताबासले हेर्दै आएको छ। पोर्चुगल, ग्रीस लगायतका अन्य मुलुकलाई पनि हेर्नुपर्ने हुदा फ्रान्स दूतावासले स्पेनका नेपालीहरुका समस्यालाई सम्बोधन गर्न सकेको छैन। एमआरपी पासपोर्ट बनाउन, वारिस नामा लगायतका कागजात बनाउन लामो समय कुर्नुपर्ने झन्झट छ । फारम बिग्रदा, पासपोर्ट गलत बनेर आउदा पटक पटक डकुमेन्ट फ्रान्स र स्पेन गर्नुपर्ने हुदा स्पेनबासीले हैरानी ब्यहोरेका छन्। एमआरपी पासपोर्ट बनाउन पठाईएको फारम फ्रान्समा लामो समय सम्म रोकिने,नयाँ पासपोर्ट बनेर आए पछि फेरी पेरिसमा नै सम्पर्क गरेर कुरियर मार्फत पठाउदा लामो समय लाग्ने,यो बिचमा फेरि फारम भर्दा गलत वा फोटो नमिलेको खण्डमा त पासपोर्ट बन्न १ बर्ष नै कुर्नु पर्ने कतिपयको गुनासो सुनिन्छ। अबैधानिक रुपमा यहा रहेकाहरुलाई अफिसियल कामको लागि पासपोर्ट नै जरुरी भएकोले पनि लामो समय कुर्नु पर्दा समस्यामा परेको देखिन्छ। त्यस माथि पनि कहिलेकाही बनेका पासपोर्टमा नाम थर वा ठेगाना गलत भएर आईदिदा त्यो भन्दा ठुलो हैरानी अरु के नै हुन सक्ला र ?

राजदुताबास नभएको कारणले नेपाल सरकारले स्पेन सरकारसँग कुटनीतिक पहल गर्न सकेको छैन। बैधानिक रुपमा बस्ने र काम गर्ने अधिकार पाईसके पछि आफ्नो श्रीमती र नाबालक छोराछोरीलाई पनि आफु सँगै राख्न पाउने अधिकार स्पेन सरकारले दिएको छ । तर यसको लागि कागजी प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ जो स्वाभाबिक पनि हो । तर नेपालमा रहेका परिबारले सबै प्रकिया पुरा गर्न दिल्ली स्थित स्पेनिस दुताबासमा जानु पर्ने हुन्छ। बत्तीसपुतली काठमाडौमा रहेको स्पेनिस कन्सुलेटको कार्यलयबाट कम्तिमा यिनै कागतपत्र दिल्ली स्थित दुताबासमा पठाउन सक्ने ब्यबस्था गर्न सकियो भने पनि दिल्ली धाइरहनु पर्ने थिएन। नेपाल सरकारले चासो राखेर स्पेन सरकारसँग कुटनीतिक पहल गर्न सकेको खण्डमा यो प्रक्रिया सम्भब पनि छ । तर परिवारलाई दिल्ली जानु त पर्यो पर्यो त्यसमाथि उता भोग्ने हैरानीले झन् दिक्क बनाइदिएको छ।

दिल्ली स्थित स्पेनिस दुताबासमा परिबारले मेडिकल रिपोर्ट पेश गर्दा नेपालका कुनै पनि प्राईभेट वा सरकारी जुन अस्पतालबाट रिपोर्ट लगे पनि मान्य नहुने रे । सुन्दा पनि आश्चार्य लाग्ने कुरा। मेडिकल रिपोर्ट भारतकै अस्पतालबाट बनाउनु पर्ने रे। अझ दुताबास नजिकै रहेका दिल्लीका अस्पतालहरुमा रिपोर्ट बनाउन रिफर गरिने। के नेपालको मेडिकल र अस्पतालहरुको मान्यता छैन ? यसो गरि रहदा नेपाल र नेपाल सरकार कै बैइज्जत हैन र ? स्पेनमा आउदा बिभिन्न दलका नेताहरुलाई यिनै समस्याहरु स्पेनबासी नेपालीहरुले पटक पटक राखेर पहल गरिदिन आग्रह गरे पनि अहिले सम्म समस्या समाधान हुन सकेको छैन। अर्को तर्फ डकुमेन्ट ट्रासलेट पनि उतै गर्नु पर्ने , नेपालमा ट्रासलेट गरीएका डकुमेन्टहरु लाई मान्यता नदिइने ? यी सबै कुराहरुले नेपाल र नेपाल सरकारलाई नै अपमानित गरेको छ। केहि बर्ष पहिले मेडिकल रिपोर्ट अनि स्पेनिस भाषामा गरिने डकुमेन्ट ट्रासलेट नेपालमा गरीए पनि मान्यता दिईने गरिन्थ्यो तर अहिले यसलाई मान्यता नदिनुको पछाडि आर्थिक कारोबार पनि हो। नेपालीहरु खर्च गरि गरि दिल्ली धाउदै मेडिकल अनि ट्रासलेटको लागि पनि भारतमा नै खर्च गर्नु पर्ने बाध्यतात्मक परिस्थिति सृजना गरिएको छ। यसमा नेपाल सरकारले चासो दिने कि नदिने?

परिबार पुनर्मिलनको क्रममा नै दिल्ली स्थित दुताबासले नाता गोता पहिचानको लागि एजेन्सी मार्फत खटाईएका भारतीय कर्मचारीहरुलाई नेपाल पठाउने गर्दछ। तर भारतीय कर्मचारीहरुले नेपाली परिबारमा गई सोधपुछ गर्दै अन्त्यमा पेपर पास गराउने भन्दै मोटो रकम असुल्ने गरेको स्पेन आईसकेका अधिकांश नेपालीहरुको गुनासो रहेको छ। कतिपय त घरमा पनि नगई होटलमा नै बसी रकम असुल्ने गरेको पिडितहरुको गुनासो छ। यसमा भारतीय कर्मचारीहरु सँग केहि नेपालीहरुको पनि मिलोमतो रहने पिडितहरु बताउछन् । यस अघि भारतीय कर्मचारीले पैसा माग्दै गरेको एक अडियो टेप समेत सार्बजनिक भएको थियो।

स्पेनमा रहेका नेपालीहरुले दिन प्रतिदिन सेबा र सुबिधा पाउलान् भन्नुको सट्टा झन् घट्दै गएको छ। नेपाल स्थित फ्रान्सको दुताबासबाट स्पेनमा टुरिस्ट/भिजिट भिसामा आउनको लागि प्रकिया गर्न सकिने ब्यबस्था थियो तर सन् २०१४ जुन महिनाबाट पक्रियाको लागि दिल्ली नै जानु पर्ने बाध्यता पारिएको छ। स्पेनमा कुनै कार्यक्रम हुदा नेपालबाट पाहुना बोलाउनु पर्दा पनि अन्य देशको सेन्जेन भिसा प्रयोग गरि बोलाउनु पर्ने बाध्यता छ। यो बारेमा सरकारमा रहेका दलका नेताहरुलाई पनि राम्रो सँग जानकारी छ तर पनि समस्या समाधानको लागि पहल गर्न सकेका छैनन्। यिनै समस्याहरु लगायत राजदुताबासको आबस्यकता बारे स्पेन आएको समयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली,काग्रेस बरिस्ट नेता शेर बहादुर देउवा लगायतका देश कै शिर्ष नेताहरु सँग स्पेनबासि नेपालीहरुले जानकारी गराइसकेका छन्। हालै स्पेनको बार्सिलोनामा सम्पन्न गैर आवासीय नेपाली संघको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाचौ महिला सम्मेलनमा पनि आबाज उठाई दुताबास स्थापना गर्न नेपाल सरकार सँग पहल गर्ने निर्णय भएको थियो।

नेपाल सरकारले दुताबास स्थापनाको लागि केहि बर्ष अघि बहराइन,ओमान र स्पेनलाई प्राथमिकतामा राखेको थियो। बाकि दुवै देशमा दुताबास स्थापना भयो तर स्पेनमा हुन सकेन। अबको पहिलो प्राथमिकतामा नै स्पेन हो र आउनु पर्छ पनि। दुताबास स्थापनाले आधा भन्दा बढी समस्या त आफै समाधान हुन्छन्। अर्को तर्फ स्पेन सरकार सँग कुटनीतिक पहल सम्भब गराउदछ। जसले नेपालमा परिबारले पुनर्मिलनको प्रकियामा भोग्नु पर्ने समस्याबारे अवगत गराउदै निकास निकाल्न सजिलो हुन्छ। यहाँ स्थित स्पेनिसहरु नेपाल प्रति चासो राख्ने,हिमालयहरु धेरै मनपराउने,ट्रेकिंग प्रति रुचि र चासो राख्ने हुदा दुताबास स्थापना सँगै धेरै संख्यामा स्पेनिस पर्यटक नेपाल भित्रने सक्ने सम्भवाना देखिन्छ। अर्को तर्फ दुई देशमा लगानीको बाताबरण सृजना गराउछ।

सन् २०१५ को शुरुवातमा नै गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति स्पेनको नेतृत्बमा यहाँ स्थित राजनीतिक संगठन लगायत बिभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा नेपाल सरकारलाई दुताबासको माग गर्दै ज्ञापनपत्र बुझाउदै छन्।  स्पेनवासी नेपालीहरुले दवाबस्वरूप नयाँ कदम उठाउदै सरकारको ध्यानआकर्षण गराउदै छन्। दबाब र आन्दोलन भए मात्र आवाज सुन्ने हाम्रो सरकारले स्पेनबासी नेपालीले गरेको बिनम्रतालाई पनि मनन गर्दै बेलैमा कदम चालिदिए नेपाली कै हित हुने थियो कि ?

तपाईको प्रतिक्रिया