पोखरामा अर्थमन्त्रीको गाडीमा ढुंगा प्रहार, ५ जना विद्यार्थीहरु पक्राऊ


-सन्देश श्रेष्ठ
पोखरा / अर्थमन्त्री डा.रामशरण महत सवार गाडीमा अखिल क्रान्तिकारी सहित ३० दलीय मोर्चाका विद्यार्थीहरुले बुधबार ढुङ्गा प्रहार गरेका छन् । एमाओवादी नेतृत्वको मोर्चाको दोस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत महतलाई कालो झण्डा देखाउँदा प्रहरीले हस्तक्षेप गरेपछि ढुङ्गा प्रहार भएको हो ।

ढुङ्गा प्रहार भएपनि कुनै क्षति नभएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक केदार रजौरेले बताए । कास्कीको सल्यानस्थित साना किसान कृषि सहकारीको कार्यक्रममा सहभागि हुन महत पोखराको बगर हुँदै जाँदै थिए ।

सिमपानीमा विद्यार्थीहरुले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरे । प्रदर्शनलाई रोक्न प्रहरीले हस्तक्षेप गर्न खोजेपछि विवाद भएको थियो । सो क्रममा विद्यार्थीहरुले मन्त्रीको गाडीमा ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट बचाउँदै प्रहरीले स्कर्टिङ्सहित अर्थमन्त्री महतलाई कार्यक्रमस्थल पुर्‍याइएको थियो ।

क्रान्तिकारीका केन्द्रीय सदस्यसहित ५ पक्राऊ

यसैबीच, अर्थमन्त्रीको गाडीमा ढुङ्गा प्रहार गर्ने ५ जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नेत्र चापागाई र दिनेश पौडेल, कास्की जिल्ला अध्यक्ष क्षितिज सापकोटा, सदस्य लक्ष्मीप्रसाद सुवेदी र संघीय समाजवादी पार्टी निकट अग्रगामी विद्यार्थी युनियनका केन्द्रीय सदस्य विशाल गुरुङ छन् ।

आफूहरुको दोश्रो चरणको आन्दोलन स्वरुप मन्त्रीलाई कालो झण्डा देखाउने कार्यक्रम अन्तर्गत अर्थमन्त्री महतलाई कालो झण्डा देखाउँदा प्रहरीले हस्तक्षेप गरेको क्रान्तिकारीकी केन्द्रीय सदस्य प्रविना अधिकारीले बताईन् ।

उनले विद्यार्थीहरुलाई नियन्त्रणमा लिएकोले केहिबेर प्रहरीसँग सामान्य विवाद मात्र भएको जिकीर गरिन् ।

प्रहरीले भने अर्थमन्त्रीको गाडीमा ढुंगा प्रहार गरेकोले नियन्त्रणमा लिएको बताएको छ ।
विद्यार्थी पक्राउको विरोधमा क्रान्तिकारीले पृथ्वीनारायण क्याम्पस गेट अगाडी केहीबेर चक्काजाम गरेको छ ।