चर्चित गायिका विष्णु माझीको बारेमा यथार्थ बाहिर किन ल्याउँदैनन् यो देशका पत्रकारहरू ? – बादल घिमिरे


बादल घिमिरे

लेखक/ रचनाकार

लगभग तीन बर्षको अन्तरालपछि पुन: गायिका विष्णु माझीको बारेमा केही लेख्दैछु । बिष्णुको बारेमा आवाज उठाए वापत् यो भन्दा अगाडी मलाई अपरिचितबाट ज्यान मार्ने धम्की आएको थियो तर यसपटक पनि जीवनलाई अचानोमा राखेरै भए पनि हिम्मत जुटाएको छु ।
चर्चित लोक गायिका विष्णु माझी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका (साविक रत्नपुर ) काली नदीको किनार खोरियाघाटमा जन्मेकी हुन् ,जुन स्थान वरिपरि गायक कलाकार भगवान भण्डारी , बद्री पंगेनी , एकनारायण भण्डारी ,रूपक डोटेल , रामजी खाँण आदि जन्मिएको भूमि हो। मेरो घरबाट विष्णुको घर पुग्न लगभग पन्ध्र मिनेटको दुरी पर्छ ,विष्णुको बारे पछिल्लो समयमा सञ्चार माध्यममा आवाज उठ्न थालेको छ। म चाहन्छु यथार्थ वाहिर आओस् र विष्णुले बाँकी जिन्दगी भूमिगत रूपमा बिताउन नपरोस्।
एक दशक अगाडी (ठ्याक्कै साल भूलेँ ) बुटवल महोत्सवबाट विष्णुको जादुयी स्वर सुनेर सुन्दरमणी अधिकारीले गायिका बनाउँछु भनेर विष्णुलाई काठमाण्डौँका लागि रात्रीबस चढाएका थिए। आज विष्णु यो देशकी महंगी र चर्चित गायिका त बनिन् तर सुन्दरमणीले चढाएको विष्णुको जिन्दगीको रात्रीबस कहाँ पुग्यो कसैलाई पत्तो छैन – लाग्छ विष्णु स्वयं अनभिज्ञ छन्।
विष्णुको स्वर नसुन्ने त यो देशमा बिरलै होलान् तर विष्णुको भूमिगत जिन्दगीको बारेमा कमैलाई थाह होला। देशकै चर्चित गायिका कुनै सञ्चार माध्यममा छाउँदिनन् न त देश विदेशको कन्सर्टमै देखा पर्छिन्न । उनीसंग आफ्नो घर छ न एउटा मोबाइल | आखिर विष्णुलाई यस्तो कस्ले बनायो ? उत्तर : सुन्दरमणी अधिकारीले।
विष्णु गीत गाँउछिन् – सुन्दरमणी पैसा बुझ्छन् , विष्णुको जिन्दगीको रिमोट सुन्दरको हातमा छ , लाग्छ विष्णुले श्वास फेर्न पनि अनुमति सुन्दरकै लिनुपर्छ।

10347643_690256397720334_7908985325157169690_n
हुन त केही बर्ष अगि सुन्दरले विष्णुलाई बिहे गरे भन्ने सुनियो तर बिष्णुले गाएर कमाएको करोडौँ पैसासंग गरे बिष्णुसंग थाह भएन। आफ्नै श्रीमतीलाई भूमिगत शैलीमा बाँच्न विवश तुल्याउने अधिकार श्रीमानलाई हुन्छ ? विष्णु सुन्दरमणीको नजरबन्दमा छिन् – उनको अवस्था के छ कसैलाई थाह छैन। न त उनका पिता तारा माझीलाई थाह छ न दाजु बाबुराम माझीलाई नै। गीत त गाउँछिन् अझै पनि तर रोबोट शैलीमा। रिमोट सुन्दरको हातमा छ | अन्तमा : विष्णुको बारेमा यथार्थ बाहिर किन ल्याउँदैनन् यो देशका पत्रकारहरू ? रेखा थापाको पाइन्ट एक इन्च तल झरे हेडलाइन खबर बनाउने पत्रकार महोदयहरू किन चुपचाप छन् ? डन चरी मारिँदा सदन अवरूध्द गराउने दलहरू के गरिरहेका छन् ? यो देशमा महिला अधिकारकर्मी छन् कि छैनन् ? छन् भने कहाँ रत्यौली खेलेर बसिरहका छन् ? हामी सम्पूर्ण संगीतप्रेमीहरूलाई एकमुष्ट जवाफ चाहियो |

तपाईको प्रतिक्रिया