जन्मँदै मुटु बाहिर निस्किएको शिशुलाई,गंगालाल अस्पतालले नि:शुल्क उपचार गर्ने


काठमाडौं / जन्मँदै छाती बाहिर मुटु निस्किएको शिशुलाई सोमबार धरानबाट काठमाडौं ल्याइएको छ । उनको उपचार गंगालाल हृदयरोग केन्द्रमा सुरु भएको छ । उपचार खर्च सबै अस्पतालले व्यहोर्ने भएको छ ।

झापाको बनियानी ४ की २२ वर्षीया श्रुति कार्की (दाहाल) ले शनिबार धरानमा अनौठो शिशु (बालक) जन्माएकी हुन् । शिशुको मुटु शरीर बाहिरै छ । मुटु धड्केको बाहिरैबाट देखिन्छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी शिशु निकालिएको हो । शिशुको मुटु बाहिरै भए पनि अरु सबै अवस्था सामान्य रहेको छ । मुटु सामान्य अवस्थामा चलिरहेको छ ।

धरानमा उपचार सम्भव नभएपछि सोमबार काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा ल्याइएको हो । आमा श्रुतिको भने धरानमै उपचार भैरहेको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रसुति रोग विभाग प्रमुख डा. शैलजा क्षेत्री श्रेष्ठले यस्तो घटना नेपालमै पहिलो भएको बताइन् । विश्मै हालसम्म ९१ वटा मात्र यस्ता बच्चाको जन्म भएको उनले जानकारी दिइन् ।

क्रोमोजोमका कारण यस्तो समस्या आउने बताउँदै उनले यसको उपचार एकदमै कम मात्र हुने गरेको बताइन् । बच्चाको छातीमा एउटा करङ नभएकाले मुटु बाहिर निस्किएको चिकित्सकहरुको भनाइ छ । शल्यक्रिया गरेर शिशुको मुटु छातीभित्र हाल्नुपर्ने भएकाले प्रतिष्ठानले काठमाडौं रेफर गरेको श्रेष्ठले जानकारी दिइन् ।

‘डाक्टरहरुले सोमबार नै अप्रेशन गर्ने बताएका छन्,’ बच्चालाई उपचारका लागि काठमाडौं ल्याएका श्रुतिका भिनाजु प्रकाश कार्कीले भने । श्रुतिका श्रीमान भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको अनलाईन खबरले जनाएको छ।