स्वरेज चम्कदा बार्सिलोनाद्वारा रियल मड्रिड पराजित


काठमाडौं /स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गरेको छ ।

आइतबार राति भएको इएल क्लासिको भिडन्तमा २–१ को जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियलसँगको दुरी ४ अंकमा पुर्‍याएको छ ।
नाउ क्याम्पमा बार्सिलोनाले राम्रो सुरुवात गरेको थियो । तर, रियल खेलमा फर्कियो । करिम बेन्जिमाको पासमा क्रिष्टियानो रोनाल्डोले राम्रो मौका पाएका थिए । तर, उनको भली क्रसबार नजिकैबाट बाहिरियो ।

१९ औं मिनेटमा म्याथ्युले गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाए । लिओनल मेस्सीको फ्रि किक बलमा म्याथुले हेड गोल गरेका हुन् ।

लगतै स्वरेजको पासमा नेयमारले अर्को मौका पाएका थिए । तर, उनको प्रहार रियल मड्रिडका गोलरक्षक इकर कासियासले सहजै नियन्त्रणमा लिए ।३१ औं मिनेटमा बेन्जिमाको ब्याकपासमा पासमा रोनाल्डोले बराबरी गोल गरे ।

26E7A17900000578-0-image-a-91_1427059752476

खेलको ४० औं मिनटमा रियलका ग्यारेथ बेलले गोल गरे पनि उनको गोललाई लाइन्स म्यानले अफ साइड दिएका थिए। दोस्रो हाफको सुरुमा रियल मड्रिडले बार्सिलोनालाई दबाव दिएको थियो । तर, ५६ औं मिनेटमा स्वरेजले गोल गरे । ड्यानी अल्भेसको लामो पासमा आएको बललाई उत्कृष्ट रुपमा नियन्त्रणमा लिएका उनले दुई डिफेण्डरलाई बिट गर्दै गोल गरे ।

खेलमा फेरि अग्रता लिएपछि घरेलु टोलीले रियल मड्रिडमाथि थप दबाव बढायो ।
जितपछि बार्सिलोनाको २८ खेलबाट ६८ अंंक भएको छ भने समान खेल खेलेको रियल मड्रिड ६४ अंकका साथ दोस्रो स्थानमा छ ।