एल क्लासिको फुटबलको रौनकले स्पेनमा चाडबाड भित्रिएको छनक


– बसन्त रानाभाट
बार्सिलोना /
एल क्लासिको रुपमा परिचित रियल म्याड्रिड र बार्सिलोना बिच आज हुने खेलले स्पेनमा ठुलै चाडबाड भित्रिएको छनक मिलेको छ। खेल हेर्न करौडौ फुटबल प्रेमी प्रतिक्षारत  रहेका बेला स्पेनका गल्लीगल्लीमा एल क्लासिको कै चर्चा परिचर्चा बढेको हो। विश्वकै ध्यान खिच्ने यी दुई महारथीको भिडन्त आज बार्सिलोनाको मैदान काम्प नाउमा हुदैछ ।

२७ खेल पछि मड्रिड भन्दा एक अङ्कले अघि हुदै लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनालाई उपाधि रक्षाको लागि आजको खेल निकै महत्वपूर्ण छ। यता सिजनको शुरुवातमा उत्कृस्ट प्रदशन गरेको मड्रिडले पछिल्ला केहि खेलहरुमा खराब प्रदशन गरेपनि आजको खेल जितेर टेबलको शिर्ष स्थानमा उक्लने दाउमा देखिएको छ।

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीचको व्यक्तिगत प्रतिस्पर्धालाई उत्तिकै महत्वका साथ हेरिएको छ। उरुग्वेका स्ट्राइकर लुइस सुवारेज पछिल्ला खेलहरुमा अत्यन्तै राम्रो प्रदशन गरेपछि बार्सिलोनामा समर्थकहरु पनि केहि ढुक्क देखिएका छन्।

आज हुने क्लासिको दुवै टोली बीचको २३० औं भिडन्त हो । यसमा रियलले ९२ –८९ को झिनो अग्रता कायम राखेको छ । दुई बीच भएका ४८ खेल बराबरीमा सकिएको छ । पछिल्लो समय भने बार्सिलोनाले रियलमाथि दबाब कायम राख्दै आएको छ । पछिल्ला १३ खेलमा बार्सिलोनाले ८ खेलमा रियलमाथि जीत हासिल गरेको छ तर चालु सिजनको पहिलो खेलमा घरेलु मैदानमा रियलले ३- १ को नतिजा निकालेको थियो।

आजका खेललाई विश्वभरबाट ५० करोडले भन्दा बढीले हेर्ने अनुमान गरिएको छ । यता खेल हेर्नको लागि बार्सिलोनामा पर्यटकहरुको घुईचो देखिएको छ। खेलको टिकट ४ सय ५० युरो देखि २ हजार युरो सम्म बिक्रि भईरहेको बताईएको छ । टिकटहरु पहिले नै किनेर राख्ने वा बुकीङ् गर्ने र अन्तिम समयमा मात्र पर्यटकहरुलाई बिक्रि गर्ने हुदा टिकटको मुल्य हवात्तै बढेको हो ।

ईजरायलबाट खेल हेर्न आएका बार्सिलोनाका एक समर्थक अमिनले भने,”टिकट नै पाईएन हजार युरो सम्म खर्च गर्न तयार छु। पहिले ५ सय युरो महंगो भनेर किनिन सस्तोको खोजीमा अहिले खेल नै हेर्न नपाउने खतरा बढ्यो ।”

यता स्पेनमा रहेको नेपाली समुदायमा पनि चाडबाड नै भित्रिएको जस्तो उमंग छ। आ- आफ्नो टिमको लागि सामाजिक संजालहरुमा समर्थन गर्दै जितको कामना गरेका छन्। बार्सिलोनामा रहेका पप तथा बारहरु पनि बुक भईसकेका छन् भने सडकहरुमा बार्साका टिसर्ट लगाएर तथा झन्डा बेरेर हिड्ने प्रशस्त देखिन्छन्।

यद्दपी बार्सिलोनामा नै बसेर रियललाई समर्थन गर्ने नेपालीहरु लगायत अन्य आप्रबासीहरुको बाहुल्यता पनि बाक्लै देखिन्छ।