सागबारी गोड्नेदेखि भेडे खुसार्नी टिप्ने हुँदै रेष्टुरेन्टसम्म


– मञ्जु गुरुङ
मोवाइलमा कुरा गर्दै उनले भनिन, म तपाईको सेल्टरमा बस्न आउन लागेकी दिदी, कसरी आउने ? मैले सोधें, कहाँबाट आउन लागेको ? ‘जल्ला भुक्तोबाट ।’
हाम्रो सेल्टर कोरियाको पूर्वोत्तरतर्फको एक शहर सुवनमा छ । तर, उनी दक्षिण-पश्चिम क्षेत्रको जल्लाभुक्तो भन्ने ठाउँबाट आउन लागेको सुनेर मेरो मुखबाट अचानक निस्कियो, ओहो ! त्यति टाढाबाट ?

ट्रेनमा करिब चार घण्टाको यात्रा तय गर्नुपर्ने थियो उनले । सुवनयक (स्टेशन) सम्म ट्रेनमा आएपछि हामी लिन आउँछौं, मैले भने ।
सोहीबमोजिम उनी हाम्रो सेल्टरमा आइपुगिन् । मात्र ६ महिना भएको रहेछ, उनी इपीएसमार्फत कृषि भिसामा कोरिया छिरेको । नेपालको हिमाली क्षेत्रमा जन्मेका उनी नेपाली भाषा बोल्दा पनि उनको मातृभाषाकै उच्चारण आउँथ्यो । बसमा यात्रा गर्दा बान्ता आउने भएकाले कालो प्लाष्टिक उनका साथमा थियो, जसले प्रष्टै पार्दथ्यो, उनको काठमाडौं बसाइ लामो थिएन ।

माध्यामिक तहको मात्रै अध्ययन गरेकी उनी विवाहिता हुन् । उनका बेरोजगार श्रीमान नेपालमै रहेछन् । सेल्टरमा आएको भोलिपल्टदेखि नै उनलाई पेट पोल्ने र टाउको दुख्ने रोगले सताएको उनले सुनाइन् । खाना पनि राम्रो खाइनन् । ६ महिनाभित्र नै उनले तीन ठाउँ काम परिवर्तन गरिसकेकी रहिछन् । सागबारी गोड्नेदेखि भेडे खुसार्नी टिप्ने हुँदै रेष्टुरेन्टसम्म ।

कृषि भिसामा भए पनि कृषिकै साहुको रेष्टुरेन्ट भएकाले उनी रेष्टुरेन्टमा काम गर्न पुगिन् । त्यहीँ काम गर्दा बिरामी भएर काम गर्न नसकेपछि कामबाट निकालिइन् । त्यसपछि उनी सेल्टरमा बस्न आइपुगेकी थिइन् ।

अर्कोर् काम खोज्नुभन्दा पनि उनको उपचार प्राथमिकता थियो । त्यसैले नेपालीकै सहयोगमा अस्पतालमा उनको सम्पूर्ण परीक्षण गरियो । तर, रिपोर्टमा कुनै रोग नदेखिएपछि डिप्रेशनले पनि यस्तो भएको हुन सक्ने चिकित्सकको सुझाव आयो ।
सामान्य केही औषधि र सेल्टरमा सँगै बस्ने अन्य दिदीबहिनीसँगको सामीप्यताले उनमा परिवर्तन आयो । उनी खाना राम्रैसँग खान थालिन् । घुम्ने, डुल्ने र हाँसखेल गर्न थालिन्, जसले उनको अनुहार हँसिलो हुँदै आयो ।

एक दिन सेल्टरमा एक्लै भएका बेला उनले मसँग कोरियामा बस्दाको आफ्नो विगत खोलिन् । सुनेर मेरो मनै कुँडियो । उनले कोरिया आउँदाको पीडा ओकलिन् ।
००००
कोरियाको इन्छन् एयरपोर्टमा ओर्लेर एकदिने तालिम सकिएपछि आ-आफ्नो साहु आएर लगे । हामी चारजना केटीहरुलाई एउटै साहुले लिएर खाङवन्दो लगेकोमा हामी खुशी भयौं । एक्लै-एक्लै कहाँ पुगिने हो भन्ने डर लागिरहेको थियो, तर चारैजना सँगै बस्न पाउने भएर दंग परेका थियौं ।

काम पनि सजिलो थियो मुला र साग गोड्ने, काँक्रा टिप्ने । चारजना एउटै मोवाइलबाट पालैपालो नेपालमा परिवारसँग कुरा गर्थ्यौं ।
तर, १५ दिन हुनासाथ साँझमा आएर साहुले तिमीहरु भोलि नै यो ठाउँ छाड्नु भने । साहुको कुरा सुनेर हामी सबैजना अक्क न बक्क पर्यौं । अर्को ठाउँमा काम खोज्न जानु, तिमीहरुको पत्र मैले नोदुङबो (जब सेन्टर)मा पठाइसकेको छु । त्यहीँ गएर बुझ्नु, साहुले भन्यो ।

त्यो ‘जब सेन्टर’ कहाँ हो, कसरी जाने, सम्झेर चिन्तित बन्यौं सबैजना । धन्न जब सेन्टरको ठेगाना कागजमा लेखेर साहुले दिए । भोलिपल्ट बिहान चारैजना आ-आफनो सामान लिएर हिड्यौं ।
कहाँ जाने र कसरी जाने यो बिरानो ठाउँमा ? कोरियन भाषा पनि राम्रो बोल्न सकिँदैन । सबैको अनुहार मलीन थियो । त्यहाँबाट बस चढ्ने ठाउँसम्म एकजनाले पुर्‍याइदियो । त्यहाँ पनि एकजना कोरियनकै सहयोगमा ‘जब सेन्टर’को ठेगाना हेरेर बस स्टेशनसम्म जाने बस चढाइदियो ।

स्टेशनमा पुगेर उत्रियौं । त्यहाँ सहयोग गर्ने एक नेपाली युवा आउनमा ढीला भयो । सिमसिम पानी परेको थियो ।
चिसोचिसो मौसममा झोला डोर्याउँदै खाना न पिना सडकमा चारैजना रुँदै हिँड्यौं । धन्न ती नेपाली युवाको सहयोगमा उनीहरुलाई बेलुकी चर्चको सेल्टरमा पुर्‍याइदिएपछि राहतको श्वास फेर्‍यौं ।’
००००
रेष्टुरेन्टमा काम नगरेको दिनभर साहुले खाना पनि नदिएको र आफै किनेर खानलाई पनि ठाउँ नदेखेकाले भोकै बस्न परेको स्मरण पनि उनले गरिन् ।
उनले रेष्टुरेन्टमा काम गर्दा लामो समयसम्म एकजना पनि नेपालीको अनुहारसम्म देख्न पाइनन् । उनले नेपाली कुरा सुन्न र बोल्न पाइनन् । एकजना नेपाली देख्नमात्रै पाए पनि हुन्थ्यो नि जस्तो एक्लोपनले धेरै सताएको पीडा पोखिन् ।

न त कोही नेपाली भेट्न पाइने, न त कुरा नै गर्न पाइने । किन कोरिया आएँछु, कहिले नेपाल फर्कौंजस्तै भएर निस्सासिएको अनुभूति उनले सुनाइन् ।
उनको यो पीडा सुनेपछि नेपालमा इपीएसको र्फम भर्न मात्र भोक प्यास बिर्सेर प्रहरीको लाठी खाँदै लाइनमा बसेका हजारौं युवायुवतीलाई सम्झिएँ मैले ।

-अनलाईन खबरबाट