एन आर एन युरोप क्षत्रिय बैठकको लागि एन आर एन डेनमार्कले तयारी गर्दै


– प्रकाश ढकाल

कोपनहेगन/एन आर एन युरोप क्षत्रिय आठौँ बैठक तथा छैठौं महिला सम्मेलनको लागि एन आर एन डेनमार्कले तयारी थालेको छ । आगामी जुन महिनाको तेस्रो सप्ताअन्तमा हुने यस कार्यक्रमको लागि एन आर एन डेनमार्कले आयोजक समिति तथा सचिवालय समिति गठन गरेको छ ।

एन आर एन युरोप क्षत्रिय संयोजक अर्जुन कुमार श्रेष्ठको उपस्थितिमा हालै भएको बैठकले आयोजक समिति तथा सचिवालय समिति गठन गरेको एन आर एन डेनमार्कका अध्यक्ष दिपक सापकोटाले बताए । युरोपियन बैठक तथा महिला सम्मेलनको आयोजक एन आए एन डेनमार्क भएकोले एन आर एन डेनमार्कका अध्यक्ष दिपक सापकोटाको संयोजकत्वमा एन आर एन डेनमार्कका सबै पदाधिकारीहरु रहने गरी मूल आयोजक समिति गठन गरिएको छ भने अन्य उप-समितिहरु गठन गर्दै जाने महासचिव विरेन्द्र सिंह कार्कीले बताए ।

यसै गरी एन आर एन युरोप क्षत्रिय संयोजन अर्जुन कुमार श्रेष्ठको संयोजकत्वमा  बैठक तथा सम्मेलनको लागि नौ सदस्यीय सचिवालय गठन गरिएको छ । जसका सदस्यहरुमा एन आर एन आइ सी सी महिला को-अर्डीनेटर सपिला राजभण्डारी, महिला उप-को-अर्डीनेटर रजनी प्रधान, एन आर एन युरोप क्षत्रिय उप-संयोजक सोम सापकोटा, एन आर डेनमार्कका अध्यक्ष दिपक सापकोटा, डेनमार्क आइ सी सी सदस्य सुर्य प्रकाश खनाल, महासचिव विरेन्द्र सिंह कार्की, महिला संयोजक शुशिला हमाल र युवा संयोजक लोकराज शर्मा रहेका छन् ।

आठौँ युरोपियन बैठक तथा छैठौं महिला सम्मेलन आगामी जुन महिनाको २० र २१ गते आयोजना हुँदै छ ।  कोपनहेगन एयरपोर्ट संगै रहेको हिल्टन होटलमा गरिने यस बैठकमा आउने पाहुना हरुको सजिलोको लागि पनि एयरपोर्ट संगै रहेको होटलमा सम्मेलनको आयोजना गरिएको युवा संयोजक शर्माले बताए ।

दुतावासले सहयोग गर्ने

यसैगरी डेनमार्क स्थित नेपाली दुतावासले यस बैठक तथा सम्मेलनको लागि आवश्यक सहयोग गर्ने भएको छ । डेनमार्कका लागि राजदुत मुक्तिनाथ भट्टले कार्यक्रम नेपाली र नेपाल सम्बन्धी रहेकोले दुतावासले गर्न सक्ने सहयोग गर्ने बताएका छन् । हालै युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ, एन आर एन डेनमार्कका अध्यक्ष लगायतले राजदुत समक्ष भेट गरी सहयोगको लागि आग्रह गरेकोमा राजदुत भट्टले दुतावासले गर्न सक्ने सबै सहयोग गर्ने बताएका थिए ।

पुर्वसन्ध्यामा पर्यटन प्रवर्द्धन हुने

यसै गरी बैठक तथा सम्मेलनको पूर्वसन्ध्यामा नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम ‘नेपाल प्रमोशन’ को आयोजना गरिने भएको छ । नेपालको पर्यटन र यसको बारेमा जानकारी दिने उद्धेश्यले नेपाली दुतावासको विशेष सहयोगमा उक्त कार्यक्रम आयोजना गरिने अध्यक्ष सापकोटाले बताए । विशेष गरी स्थानीय डेनिस नागरीकहरुको उपस्थितिमा यस कार्यक्रमको आयोजना गरिने छ ।  नेपाल चिनाउन यसले सहयोग पुग्ने भएकोले यस कार्यक्रम को आवश्यक रहेको र एन आर एन डेनमार्कले आयोजना गर्नु निकै सकारात्मक कुरा रहेको युरोप एन आर एन युरोप क्षत्रिय संयोजक अर्जुन कुमार श्रेष्ठले बताए । यस्तो कार्यक्रम अघिल्लो वर्ष पनि एन आर एन डेनमार्कले नेपाली दुतावासको सहयोगमा सम्पन्न गरेको थियो ।