राजधानीबाहिर पहिलोपटक पोखरामा टेष्टट्युब बेबी सेवा संचालन


– विजय नेपाल

पोखरा/राजधानीबाहिर पहिलोपटक पोखरामा टेष्टट्युब बेबी सेवा संचालन भएको छ । पोखराको प्रस्र्याङस्थित सहारा इण्टरनेश्नल फर्टिलिटी सेण्टरद्धारा संचालित सो सेवा करिब २ करोड रुपैयाँ लागतमा सुरु भएको हस्पिटलका अध्यक्ष डा. गिरधारी शर्माले जानकारी दिए ।

सहारा हस्पिटल प्रा.लि. अन्तर्गत रहेको सो सेवाले पश्चिमाञ्चल क्षेत्रका निःसन्तान दम्पत्तीलाई फाइदा पुग्ने संचालकको दावी छ । यो सेवा पोखरामा संचालन गर्नका लागि भारतको नयाँदिल्लीस्थित इन्टरनेश्नल फर्टिलिटी सेण्टरको प्राविधिक र विशेषज्ञता सहयोग रहेको छ । सर्वसुलभ र प्रभावकारीरुपमा पोखरामा सेवाको आवश्यकता महशुस गरी भारतलगायत विश्वका विभिन्न देशका निःसन्तान दम्पत्तिले सफलतापुर्वक सन्तान प्राप्त गराउन सफल रहेको नयाँदिल्लीस्थित सेन्टरका अध्यक्ष स्त्रीरोग विशेषज्ञ डा. रीता वक्सी बताइन् । यता, पोखरामा संचालित यो सेवाअन्तर्गत सोमबारदेखि नै कृतिम गर्भधारण कार्य शुभारम्भ भएको डा. शर्माले बताए ।

पोखरा क्षेत्रमा सहुलियतमा उक्त सेवा दिने उद्धेश्यले हाल भारत तथा नेपालका गरी ३ सदस्य चिकित्सकको टोलीले सन्तान हुन नसकेका दम्पतिलाई लक्षित गरी उक्त सेवा संचालनमा ल्याएको उनले बताए । यो प्रविधि महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई बाहिरै टेष्टट्युवमा सेचन गरी ४८ घण्टापछि महिलाको पाठेघरभित्र राख्ने अत्याधुनिक प्रविधि भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. राजेश अधिकारीले जानकारी दिए । सो प्रविधिबाट ४० प्रतिशत माथि सफलता प्राप्त गर्न सकिने बताइन्छ ।

पोखरा पर्यटकीय राजधानीको रुपमा विकास भैरहेको बेला स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि लगानी र सम्भावनाहरु बढ्दै गएका छन् । नेपालमा पहिलो पटक काठमाडौस्थित ओम अस्पतालले यो सेवा सुरु गरेको थियो । विश्वकै तथ्यांक हेर्दा १० प्रतिशत दम्पत्तीमा बाँझोपनको समस्या रहेको पाइन्छ ।