प्रधानमन्त्री सुशील कोइरालालाई इन्डोनेसिया भ्रमणको निम्तो


काठमाडौँ /बाङडुङ सम्मेलन भएको ६०औँ वर्षगाँठका अवसरमा आगामी अप्रिल महिनामा हुने विशेष कार्यक्रममा सहभागी हुन इण्डोनेसियाली राष्ट्रपति जोको विडोडोले प्रधानमन्त्री सुशील कोइरालालाई निमन्त्रणा पठाएका छन् ।

राष्ट्रपति विडोडोको दूतका रुपमा नेपालका लागि इण्डोनेसियाका राजदूत रिजाली विल्मार इन्द्रकेसुमले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री कोइरालालाई निमन्त्रणा दिएका हुन् ।

इण्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणालाई स्वीकार गर्दै प्रधानमन्त्री कोइरालाले छिट्टै त्यसबारेमा जवाफ पठाउने बताएको उनका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले बताए ।

सन् १९५५ मा इण्डोनेसियाको बाङडुङमा असंलग्न राष्ट्रबीच भएको सो सम्मेलनमा नेपालले भाग लिएको लिएको थियो । उक्त सम्मेलनले पञ्चशील सिद्धान्तलाई अङ्गिकार गरेको थियो । नेपाल असंलग्न आन्दोलनका प्रारम्भिक सदस्य राष्ट्रहश्रमध्ये एक हो । रासस