एसएलसीको तयारी पूरा,पाँच लाख ७४ हजार ६८५ परीक्षार्थी


भक्तपुर/

आगामी चैत ५ गतेदेखि देशभर सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षाको सबै तयारी पूरा भएको छ । ७५ वटै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सबै सामग्री पुर्‍याइ सकिएको छ ।

यस वर्षको परीक्षामा सहभागी हुनका लागि पाँच लाख ७४ हजार ६८५ जना छात्रछात्राले आवेदन दिएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।
नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी चार लाख २६ हजार २१४ जना परीक्षामा सहभागी हुने छन् । एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी एक लाख ४५ हजार १८३ जना सहभागी हुने छन् ।

प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी हुने छन् । परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी छन् ।
यस वर्षका परीक्षाका लागि देशभरमा गरी एक हजार ८६२ परीक्षा केन्द्र कायम गरिएको छ ।

जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा १/१ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।

गत वर्ष देशभर एक हजार ८३६ परीक्षा केन्द्र कायम गरिएकामा यस वर्ष परीक्षार्थी बढेकाले केन्द्र पनि बढाएको नियन्त्रक द्वारेले बताए ।