बार्सिलोना शीर्ष स्थानमा,मेस्सीको कीर्तिमानी हृयाट्रिक


काठमाडौं / लिओनल मेस्सीले कीर्तिमानी २४ औं हृयाट्रिक पुरा गर्दा बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार बार्सिलोनाले रायो भालेकानोलाई ६-१ को फराकिलो अन्तरले पराजित गर्दा मेस्सीले तीन गोल गरे । यससँगै उनले रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै ला लिगामा सर्वाधिक २४ हृयाट्रिकको कीर्तिमान बनाए ।

यसअघि ला लिगामा मेस्सी र रोनाल्डोले समान २३-२३ हृयाट्रिक गरेका थिए ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले पाँचौं मिनेटमा लुईस स्वरेजको गोलबाट अग्रता लियो । पहिलो हाफमा गोल गर्ने केही मौका खेल फालेपछि बार्सिलोना पहिलो हाफ १-० ले अगाडि रहृयो ।

दोस्रो हाफको ४९ औं मिनेटमा जेरार्ड पीकेले बार्सिलोनाको अग्रता दोब्बर पारे । खेलको ५६ औं मिनेटमा मेस्सीलाई फल गरेपछि रायो भालेकानोको टिटोले रातो कार्ड पाए भने बार्सिलोनाले पेनाल्टी पायो । मेस्सीले पेनाल्टीमार्फत गोल गरे । ६३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । ६८ औं मिनेटमा उनले हृयाट्रिक गरे । उनले पहिलो गोलको ९ मिनेटमा हृयाट्रिक पुरा गरेका हुन् ।

खेलको ८० औं मिनेटमा ड्यानी अल्भेस रातो कार्ड पाएर मैदानबाट बाहिरिए भने रायो भालेकानोले पेनाल्टी पायो । रायोका अल्बर्टो बुएनोले गोल गर्दै बार्सिलोनाको अग्रता ५-१ मा झारे । तर, खेलको अन्तिमतिर स्वरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ६-१ को जित दिलाए ।

जितपछि बार्सिलोना २६ खेलबाट ६२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति एथ्लेटिको बिल्बाओसँग पराजित भएको मड्रिड समान खेलबाट ६१ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।