एयरपोर्टमा अलपत्र नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउन शेष घलेको अपिल


काठमाडौ / नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तीन दिनदेखि अवरुद्ध हुँदा अलपत्र परेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहयोग गर्ने भएको छ ।

एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) अध्यक्ष शेष घलेले नेपाल आउने तयारीमा विश्वकै विभिन्न विमानस्थलमा अलपत्र परेका नेपालीहरुलाई एयरपोर्टमै पुगी सहयोगमा जुट्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय समिति शाखाहरुलाई अनुरोध गरेका छन् ।

मलेसिया, थाइल्याण्ड, हङकङ, दोहा, साउदी अरव लगायतका एयरपोर्टमा अलपत्र परेका नेपालीहरुलाई खर्च र बसोबासको समस्या देखिने थालेको भन्दै घलेले एनआरएन राष्ट्रिय समन्वय समिति शाखाहरुलाई सहयोगमा जुट्न आग्रह गरेका हुन् ।
नेपाल आउने तयारीमा रहेका एनआरएन अध्यक्ष घले आफै बैंकक एयरपोर्टमै रोकिएका छन् । उनले बैंकक एयरपोर्टमा अलपत्र परेका नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउन पनि उनले फेसबुकमार्फत अपिल गरेका छन् ।

एनआरएन भवन शिलान्यास कार्यक्रम प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुँदा विश्वका विभिन्न ठाउँमा रहेका एनआरएन नेताहरु नै नेपाल आउन नसकेपछि काठमाडौमा बन्न लागेको एनआरएन भवन सिलान्यासको कार्यक्रम प्रभावित हुने भएको छ ।

आगामी सोमवार एनआरएन भवन सिलान्यासको कार्यक्रम तय गरिएको छ । भवन सिलान्यास कार्यक्रमकै लागि नेपाल आउने तयारीमा रहेका एनआरएन आईसीसी अध्यक्ष घलेसहितका पदाधिकारीहरु विदेशका विभिन्न विमानस्थलमा रोकिएका छन् ।
यस्तै, एनआरएन पूर्व अध्यक्ष जिवा लामिछाने र वर्तमान महासचिव कुमार पन्त दिल्लीमा रोकिएका छन् भने सचिव रन्जु थापा मलेसियाको विमानस्थलमा रोकिएको अनलाईनखबरले जनाएको छ।

बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको टर्किस एयरलाईन्सको जहाजलाई धावनमार्गबाट हटाउने प्रयास भइरहेको छ । विमानस्थल चारदिनदेखि अवरुद्ध हुँदा देश विदेशका हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया