काठमाडौं क्षेत्रपाटीकी ५० वर्षीया महिलाको स्वाइनफ्लुबाट मृत्यु


काठमाडौं / स्वाइनफ्लुबाट काठमाडौंमा एक महिलाको मृत्यु भएको छ । मोडल अस्पतालमा उपचार गर्दागर्दै काठमाडौं क्षेत्रपाटीकी ५० वर्षीया महिलाको शनिबार मृत्यु भएको हो ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको आइतबार मात्रै पुष्टि गरेको छ । मृतक महिलाको परिचय गोप्य राखिएको छ ।

महाशाखा प्रमुख बाबुराम मरासिनीले भने, ‘उनको आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको जानकारी आएको छ ।’ मोडल अस्पतालका चिकित्सकले सेकेण्डरी अवस्थामा पुगिसकेकोले ति महिलालाई बचाउन नसकिएको बताएका छन् । रुघा लाग्ने, टाउको दुख्ने, स्वासप्रश्वासमा समस्या भएपछि उनलाई १५ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।

गत विहीबार ति महिलामा स्वाइन फ्लु एचवान एनवान पुष्टि भएको थियो । त्यसलगत्तै स्वास्थ्य मन्त्रालयलाई खबर गरिएको थियो । स्वाइनफ्लुको उपचार गर्ने विशेष कक्ष नभएको भन्दै मन्त्रालयले पाटन अस्पतालमा लैजान सुझाव दिएको थियो ।
तर, पाटन अस्पतालमा आईसीयू खाली नभएको जवाफ आएपछि उनलाई मोडल अस्पतालमै राखेर उपचार जारी राखिएको थियो । ति महिलाको उपचारमा संलग्न मोडल अस्पतालका चिकित्सकले भने, ‘पाटनबाट आईसीयू खाली नभएको खबर आएपछि यहीँ राखेर उपचार गर्दै थियौं, तर सेकेण्ड स्टेजमा पुगिसकेकोले उपचार गर्दागर्दै मृत्यु भयो ।’
भारतमा महामारीको रुपमा फैलिएको स्वाइनफ्लु विरुद्धको औषधि र उपकरण नेपालमा अभाव छ ।