नेपालका सौगात विष्टलाई गिनिज वल्ड रेकर्डबाट ‘योङ्गेस्ट फिल्म डाईरेक्टर’ को उपाधि


काठमाडौं /: नेपालका आठ वर्षीय बालक सौगात विष्ट विश्वकै कान्छा फिल्म निर्देशक बनेका छन् ।

सानै उमेरमा फिल्म निर्देशन गरेको उनलाई गिनिज बुक अफ वल्ड रेकर्डले विश्वकै कान्छा फिल्म निर्देशकको मान्यता दिँदै ‘योङ्गेस्ट फिल्म डाईरेक्टर’ को उपाधि दिएको हो ।

‘सौगात विष्ट व्यावसायिक रुपमा फिचर फिल्म निर्देशन गर्ने विश्वकै सबैभन्दा कम उमेरका निर्देशक हुन्’, गिनिज बुक अफ वल्र्ड रेकर्डको आधिकारिक वेबसाइटमा भनिएको छ , ‘६ जनवरी २००७ मा जन्मेका उनले निर्देशन गरेको फिल्म लभ यू बाबा उनी ७ वर्ष ३४० दिनको हुँदा १२ डिसेम्बर २०१४ मा रिलिज भएको हो ।’

साैगातले उपाधिसँगै भारतीय बाल निर्देशकको रेकर्ड तोडेका हुन् । भारतमा किसान श्रीकान्तले सन् २००६ मा ‘फुटपाथ’ फिल्म निर्देशन गरेर विश्वरेकर्ड बनाएका थिए ।

सौगातले निर्देशन गरेको यो फिल्ममा उनका बाबु गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट र निर्मल शर्मा लगायतले अभिनय गरेका थिए ।

यो फिल्ममा अनु शाह र सुव्रत आचार्यले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । बाबु गजितको कथा, गम्भीर विष्टको पटकथा र चन्द्र पन्तको द्वन्द्व रहेको छ ।